शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौरभ उप्रेती मृत्यु प्रकरणका सम्बन्धमा बोले दुई मित्र (विज्ञप्तिसहित)

आइतबार, ०७ असोज २०७५, १५ : ०७
आइतबार, ०७ असोज २०७५

काठमाडौं– विराटनगरमा  गत साउन १६ गते आफ्नै कोठामा मृत भेटिएका शौरभ उप्रेतीका सँगै बस्ने दुई साथीले आफुमाथि कपोकल्पित र झुठ्ठो आरोप लगाइएको दाबी गरेका छन् ।

नोबेल मेडिकल कलेज, विराटनगरमा एम.बि.बि.एस. अन्तिम वर्षमा अध्ययनरत उप्रेतीसँगै बस्दै आएका उनका साथी कुबेरसिंह थापा र शत्रुघनप्रसाद यादवले उनको मृत्युप्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका हुन् ।

थापा र यादवले उप्रेतीको मृत्युप्रकरण प्रहरीको अनुसन्धानले समेत ‘आत्महत्यानै भएको पुष्टि’ गरिसक्दा समेत आफुहरुमाथि एकोहोरो हत्याको आरोप लगाएर मानसिक पीडा दिएको बताएका छन् । थापा र यादवले एक विज्ञप्ति जारी गरी प्रहरीको अनुसन्धानमा सँधै आफ्नो साथ र सहयोग रहने समेत स्पष्ट पारेका छन् ।

प्रस्तुत छ थापा र यादवले जारी गरेको विज्ञप्तिः 

यही २०७५ साल साउन १६ गते नोबेल मेडिकल कलेज, विराटनगरमा एम.बि.बि.एस. अन्तिम वर्षमा अध्ययनरत सौरभ उप्रेतीको मृत्युको घटना सम्बन्धमा देखिएका चर्चा र हल्लाका सन्दर्भमा उनीसँगै घरभाडा लिई बसोवास गरिरहेका उनका दुई सहपाठी मित्रहरु हामी (कुबेरसिंह थापा र शत्रुघनप्रसाद यादव) आफ्ना भनाइ र धारणाहरु राख्न चाहन्छौं ।

मृतक सौरभ उप्रेती हामीसँग एकदमै मिलनसार थिए । हाम्रा बीच कुनै पनि विषयलाई लिएर कहिल्यै, कुनै किसिमको विवाद भएन । हामी बीच कहिल्यै नराम्रो सम्बन्ध वा भनाभन भएन । हामी सधैं पढाइको तयारीमा व्यस्त र हतारमा रहने गथ्र्याैं । यदाकदा फुर्सदमा घुमफिर, मनोरञ्जन आदिमा मेलमिलापका साथ सरिक रहने गर्दथ्यौं ।

अन्तिम वर्षको परीक्षा दिइरहेको अत्यन्तै व्यस्त र हडबडीपूर्ण अवस्थामा परीक्षा सकिनै लाग्दाको अघिल्लो दिन उनी आफ्ना कोठाको भुईमा ल्यापटपको तार घाँटीमा बेरिएको अवस्थामा  देखिए । उनलाई कतै बचाउन सकिन्छकि भनी अस्पताल पुर्याइए पनि कुनै फाइदा भएन ।

तत्काल पुलिस घटनास्थल पुगी गरेको प्रमाण सङ्कलन, स्थलगत निरीक्षण एवं अनुसन्धान आदिका आधारमा सम्बद्ध प्रहरी अधिकारीबाट ‘यो आत्महत्या नै भएको’ स्पष्ट भनाई त्यतिबेलै व्यक्त भएपनि यस सम्बन्धमा अन्य प्रमाण बुझ्ने, अनुसन्धान गर्ने कार्य तीब्रतापूर्वक अघि बढ्दै गयो ।

प्रहरी अनुसन्धानको दायरामा सँगै बस्ने भएको हुँदा हामी दुवै (कुबेरसिंह थापा र शत्रुघनप्रसाद यादव) स्वाभाविक रुपमा पर्नेनै भयौं । जिल्ला प्रहरी कार्यालय मोरङबाट हामीलाई दिनहुँजसो असङ्ख्य पटक बोलाइयो । सोधपुछ, केरकार, बयान आदि दिनहुँ भइरहे । पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षणको रिपोर्ट, मृतक उप्रेतीले लेखेका डायरी लेखोट, उनका भिडियो, उनीसम्बन्धी प्राप्त अन्य धेरै विवरण प्रमाणहरुको सङ्कलन, अध्ययन, विश्लेषणको कार्य अघि बढ्दै गयो ।

अध्ययन–अनुसन्धानको यस प्रक्रियामा मृतक उप्रेतीसम्बन्धी कतिपय उनका व्यक्तिगत बानी व्यहोरा र तत्सम्बन्धी प्रमाणहरु पनि सतहमा देखापरे (जस्तैः उनी डिप्रेसनका रोगी भएको, सुरुमा थोरै र पछिल्लो समय धेरै गाँजा सेवन गर्ने गरेको, जीवनप्रति निराशा र अनास्थाको भाव देखिएको, प्रथम वर्षमा फेल भएको, अन्तिम वर्षको परीक्षा पनि सन्तोषजनक नभएको, पढाइमा निरन्तर ह्रास र कमजोरी देखिएकोे, उनका डायरी लेखोट र उनका कतिपय भिडियोमा उनमा मृत्युप्रतिको उन्मुखता देखिएको) साथै पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षणको रिपोर्ट र पोलिग्राफ परीक्षणको रिपोर्ट आदिले समेत उनको मृत्यु आत्महत्यानै हो भन्ने आधार दिएको हुँदा प्रहरी अनुसन्धानले हालसम्मको अवस्थामा ‘यो आत्महत्या नै हो’ भन्ने निचोड दिएको छ । प्रहरीको यो धारणा र निचोड हाल सार्वजनिक सञ्चारमाध्यम (अखबार, अनलाइन समाचार) आदिमा प्रस्तुत भएकै छ । 

ठोस प्रमाण नभएकाले प्रहरीले हामीमाथि हत्याको आरोप नलगाए पनि हामीमै केन्द्रित भएर अध्ययन, अनुसन्धान, परीक्षण आदि प्रक्रियामा दिनहुँ हामीलाई जि.प्र.का. मोरङमा बोलाई हालसम्म अध्ययन–अनुसन्धान गरिआएको हो ।

हाम्रो मित्र गुमाउँदाको सुरुको मानसिक वेदना र त्यसपछि दिनहुँ प्रहरीको बोलावट, छडके प्रश्नमाथि प्रश्नको केरकार, बयान, लगातार जि.प्र.का. धाउनु, हामी डाक्टर बन्न लागेका व्यक्तिलाई हत्याजस्तो अनैतिक र लाजमर्दो आशङ्काका साथ हेरिँदाको हाम्रो मानसिक पीडा, शारीरिक कष्ट, हाम्रो कठिन र चुनौतिपूर्ण पढाइको नोक्सानी आदिले हामी त्यसै पनि जिउँदै मृतजस्तो भएर रहनु परेको यातना र कष्ट यसबेला हामी सम्झिरहेका छौं । यो मृत्युको घटनापछि हाम्रो भोक, प्यास र निन्द्रा सबै गायब भएको छ ।

भलै, हालको प्रहरीको यस घटनासम्बन्धी धारणा र निष्कर्षले हामीमा केही सास फर्केर आएजस्तो भएपनि हामीमाथि आइपरेको यो दुर्दशा र विपत्ति अनि हामीले भोगेका मानसिक पीडा, कष्ट असीमित रहेको हामीले अनुभव गरिरहेका छौं ।  

यदि यो आत्महत्या नभएर हत्यानै हो रहेछ भने जुनसुकै मानिसले जेसुकै कारणले, जुनसुकै माध्यमबाट र रुपमा हत्या गरेको रहेछ भने पनि त्यो जघन्य, अक्षम्य अपराध हो र अपराधीले कानुन बमोजिम हदैसम्मको सजाय पाउनैपर्छ । प्रहरी अनुसन्धान कहाँ–कहाँ कसरी केन्द्रित हुँदै अघि बढिरहेको छ, त्यो कार्यविधि र प्रक्रिया कुनै हालतमा कमजोर हुनुहुँदैन ।

यसमा हाम्रो सधैं साथ र सहयोग रहनेछ; हामी यसमा नैतिक रुपले प्रतिबद्ध छौं । यदि हामी यसका अपराधी वा हत्यारा भएको विश्वासिलो ठोस प्रमाण भेटिएछ भने कानुन बमोजिम हामीले दण्डसजाय भोग्नुपर्छ, उन्मुक्ति कुनै हालतमा पाउनुहुँदैन भन्ने हाम्रो मान्यता छ ।

‘हामी निर्दोष छौं र हामीले अपराध गरेका छैनौं ।’ भन्ने हाम्रो बयान, दाबी, जिकिर सुन्ने मात्र होइन यससम्बन्धी ठोस प्रमाण खोजी हुनुपर्दछ । गहिरो र व्यापक अनुसन्धान हुनुपर्दछ । त्यसका लागि हामीले अहिलेसम्म भोगेका दुःखकष्ट र पीडालाई केही नभनी हामी सहयोग गर्न तयार छौं । 

यससम्बन्धी प्राथमिक अध्ययन–अनुसन्धान गर्ने, ठोस सबुत–प्रमाण खोजी गरी हत्या भएको हो भने हत्याराको किटान गर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो । यसबारे प्रहरी प्रशासन बाहेक अन्य कुनै व्यक्ति विशेष, समूह वा वर्गको कुनै अधिकार, कर्तव्य र जिम्मेवारी हुन सक्दैन । तर दुःखद मात्र नभएर असैह्य पीडादायक सन्दर्भ के देखापरिरहेको छ भने सौरभ उप्रेतीको मृत्युबारे एउटै पनि तथ्य प्रमाण बुझ्न, सुन्न नचाही एकोहोरो प्रलाप सडक सडकमा, अखबार अखबारमा आक्रामक ढङ्गले भइरहेको छ ।

राजनैतिक शक्ति र सत्ताको शक्तिको आड र उन्मादमा होश गुमाउँदै कसैको भौतिक हत्याको बदला निर्दोषको चरित्रहत्या गर्ने दिशामा व्यर्थको बल र समयको बर्वादी भइरहेको छ । एकातिर, अनुसन्धान र किटानको जिम्मा लिएर बसेको प्रहरी प्रशासन हत्याको प्रमाण नहुनाले यो ‘आत्महत्या हो’ भन्ने निष्कर्षमा पुगेको छ ।

अर्कातिर, प्रहरी अनुसन्धानलाई सहयोग गर्ने भन्दा प्रहरीमाथि प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, राजनैतिक दल र नेताहरुमार्फत् दबाब दिएर हामी दुई (कुबेरसिंह थापा र शत्रुघनप्रसाद यादव) लाई ठाडै जेल चलान गर्ने उद्देश्यमा मृतक सौरभ उप्रेतीका परिवार र उनका केही आफन्तहरु मरिमेटेर लागेका छन् ।

उनीहरुसँग हाम्रो कुनै दुर्भावना छैन । विनम्र याचना छ– कृपया यसको अनुसन्धान पुलिसले गर्छ । तपाईहरु अनुसन्धाननै नबुझी आफ्नो मनोगत र जबरजस्त निष्कर्षमा पुग्ने हतार नगर्नुहोस् । बरु तपाईहरुले यो अनुसन्धानमा सहयोग गरी यदि हाम्रो विपक्षमा प्रमाण भेटेर हामीलाई २५ वर्षे कैद सजाय गराउन सफल हुनुभयो भने त्यो तपार्इंको सफलता हुनेछ । त्यसमा हाम्रो कुनै गुनासो कानूनले सुन्ने छैन । 

सौरभ उप्रेतीको भौतिक मृत्युको पीडा तपाईंहरुले जस्तै धेरैले गरेका छन् । त्यस मृत्युलाई हाम्रो चरित्र हत्याका रुपमा सट्टाभर्ना असुल गरेर तपाईंहरुलाई कस्तो आनन्द हुन्छ ? त्यसबाट धर्मको, न्यायको रक्षा हुन्छ ? 

तपाईंहरुको मानसिक पीडा र छटपट्टी शान्त पार्न हामी निर्दोषले बिना अपराध फाँसी वा शुलीमा चढिदिनु पर्ने ? हामी निर्दोषमाथि ‘हत्यारा’ जस्तो सामाजिक–नैतिक वदनामीको यो अत्याचार, यो उत्पीडनलाई स्वाभाविक ठानेर राज्य, सरकार, प्रशासन सधैं चुपचाप बस्नें ?

राज्य र सम्बन्धित प्रशासनयन्त्र हामी निर्दोषलाई किन यसरी दुःख दिइरहन्छ र हाम्रो बेइज्जति र चरित्रहत्यालाई किन चुपचाप हेरिरहन्छ ? हामी पावर, पहुँच, सोर्सफोर्स नभएका बबुराका लागि कुनै संरक्षण र न्याय छैन ? हामीलाई राज्य र यसको प्रचलित नियम कानूनको संरक्षण छैन ? 

यिनै हाम्रा व्यथा– वेदना पोख्न र सार्वजनिक रुपमा हामीहरुलाई गरिएको बेइज्जति र हाम्रो चरित्रहत्या सम्बन्धमा स्पष्ट पार्न हामी यहाँ आएका छौं । अध्ययन अनुसन्धान त चलिरहन्छ, चलिरहोस् । हामी कतै जाँदैनौं, भाग्दैनौं । यो प्रहरी अनुसन्धानलाई सदा साथ र सहयोग हाम्रो रहनेछ ।

राज्यको नियम–कानून र विधि मुताबिक हत्याको सबुत प्रमाण साथ हामी दोषी प्रमाणित भए कानूनबमोजिम हामीलाई सजाय हुनेछ । तर परमेश्वरलाई साक्षी राखेर यहाँ हामी निर्दोष छौं, यस मृत्युमा हाम्रो कुनै किसिमको आपराधिक संलग्नता छैन, हामी निरीह व्यक्तिहरुलाई व्यर्थै मानसिक र भौतिक दुःख र यातना दिइएको छ भन्ने व्यहोरा स्पष्ट पार्दछौं । यो कसैमाथिको चुनौति होइन, विनम्र अनुरोधसाथ हामीले गरेको खुलासा हो । धन्यवाद ।                                                  

                                                                                                                           –कुबेरसिंह थापा 
                                                               –शत्रुघनप्रसाद यादव 
   

यो पनि पढौं :

प्रहरीमाथि अर्को आरोपः सौरभले आत्महत्या गरेका हैनन्, हत्या भएको हो, प्रमाण प्रहरीलेनै नष्ट गर्यो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप