शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कछाड बाँधेर संसद छिरेका ती विद्रोही रोल्पाली

आइतबार, ०७ असोज २०७५, १५ : ०१
आइतबार, ०७ असोज २०७५

कछाड बाँधेर संसद भवन छिर्ने रोल्पाको त्यो एउटा विद्रोही ।

देशमा दोस्रो प्रजातन्त्र भर्खर उदाएको थियो । बहुदलीय व्यवस्थाको राप बिस्तारै बढ्दै गरेको समय । 

२०४८ सालको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट संयुक्त जनमोर्चाका बर्मन बुढाले चुनाव जिते । 

उनले कति मत ल्याएर चुनाप जिते, उनी आफैले बिर्सिसके । तर आफ्ना प्रतिद्वन्द्वी राप्रपाका बालाराम घर्ती मगरलाई २ हजार बढी मतले पराजित गरेको उनको स्मृतिमा अझै ताजा छ । 

पार्टीले दाङमा बोलायो । त्यहाँ संयुक्त जनमोर्चाका बाबुराम भट्टराई आएका थिए ।

उनी त्यतिबेला ६० वर्ष पुगेका थिए ।  ‘म बुढो पनि भइहालेँ, मैले उम्मेदवारी दिन्न भने । उनीहरूले देऊ कि देऊ भने ।’ प्रधानपञ्च समेत भएका उनलाई जिल्लामा सबैले चिनेका थिए । 

उनलाई राप्रपाले पनि भोट दिए, काँग्रेसले पनि दिए, कम्युनिस्टले पनि दिए । ३० वर्षदेखि एकछत्र राज गरेका बालारामलाई पराजित गरे ।  

‘३० वर्षसम्म उही को उही जितेको थियो । मैले हराइदिएपछि ५१ सालमा भएको चुनावमा हामीले बहिष्कार ग¥र्यौं, उसले फेरि जित्यो ।’ उनले भने ।
निर्वाचित भएपछि उनी काठमाडौँ आए । 

छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर उनी सिंहदरबार छिरे । 

अरू सांसद दौरा, सुरुवाल, कोट, पाइन्टमा ठाँटिएर जाँदा उनी भने सधैँ आफ्नै मौलिक पोसाकमा संसद भवन पुग्थे ।

उनलाई कसैले पागलसमेत भन्थे भने धेरैले अनौठो मानेर हेर्थे । 

राजा आउँदा महासचिवले दौरासुरुवाल लगाउन भने

संसदमा तत्कालीन राजा वीरेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम थियो । 

उनले सधैँ कछाड लगाएर जाने भएपछि संसदमा राजा सम्बोधनका लागि आउने भएपछि उनलाई अप्ठ्यारो लागेछ । महासचिवले राजा आउने एक दिन भए पनि दौरा सुरुवाल लगाएर आउन भने । तर उनले मैले विदेशी लुगा लगाएको हो र ? भनेर उल्टै प्रश्न गरे । 

वीरेन्द्रले सम्बोधन गर्ने दिन पनि उनले कछाड बाँधेरै गए । 

संसदमा सबैको नजर उनीमाथि थियो । 

उनी भन्छन्– कतिले त बौलाहा हो कि भनेर हेर्न थाले । राजालाई भन्दा पनि मलाई  हेर्ने मान्छे धेरै थिए । त्यस दिन सांसद मात्र नभई राजाको भाषण सुन्न विभिन्न क्षेत्रका अरू मान्छे पनि आएका थिए ।’

उनले राजा आउने भन्दैमा आफ्नो पुर्खादेखि लगाउँदै आएको पोसाक छोड्न नसक्ने बताए र कछाड लगाएरै संसद भवन गए । २०५१ सालमा संसद भङ्ग नहुञ्जेलसम्म उनले कछाड लगाएरै गए । 

विद्रोही गाउँको रूपमा परिचय बनाएको थवाङमा २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको शून्य मतदान अभियानका उनी अगुवा नेतासमेत थिए । त्यो बेला प्रधानपञ्चसमेत रहेका उनलाई शून्य मत खसेपछि राजकाज मुद्दामा पक्राउ गरी जेल चलान गरिएको थियो । 

बुढामगर रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य र २०४८ सालमा जिल्ला सचिव रहेका थिए । २०४८ सालमा रोल्पाका २ क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट बुढा र क्षेत्र नम्बर २ बाट अहिलेका  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा विजयी भएका थिए । 

केही दिन पहिले उनी तिनै पुराना समकक्षी कृष्णबहादुर महरालाई भेट्न सिंहदरबार पुगेका थिए तर समय नमिलेपछि उनी फर्किएका थिए । 

सांसद भएको बेला कछाड लगाएरै संसद भवन पुगेपछि चर्चा पाएका उनी अहिले पनि कछाडमै भेटिन्छन्– ‘घरबुना खाडीको भाङ्ग्रो जिउमा छडेके पारेर लगाउने, खाडीका पटुका र कछाड बाँध्ने पहिलादेखिको नै हाम्रो चलन हो । पाइन्ट कोट लगाउने पछि आएको चलन न हो ।’ उनले भने ।  

बुढेसकालको एकअर्काका सहारा बुढा–बुढी

सम्भवतः बर्मन बुढा सबैभन्दा ज्येष्ठ पूर्वसांसद हुन् । ८९ वर्षमा हिँडिरहेका बुढाको आँखाको ज्योति पहिलेभन्दा धमिलो भएको छ तर अरू कुनै रोगव्याधीले छोएको छैन । 

रोल्पाको थवाङस्थित घरमा श्रीमती र उनी मात्र छन् । श्रीमती पनि ८३ वर्ष पुगिसकिन् ।  

जेठो छोरा र बुहारी गाउँमै छन् तर बुढीले छोराबुहारीसँग बस्न नमानेपछि बुढाबुढी एक अर्काको साहारा भएर बसेका छन् । 

बिहान तीन चार बजेदेखि उनलाई निद्रा पर्दैन । भने– ‘उमेर गएपछि धेरै निद्रा नलाग्ने रैछ । राति दस एघार बजे सुत्छु । गाउँमा टिभी छैन, रेडियो मात्र सुन्छु ।’

खाना कसले पकाउँछ ? उनले ठट्टा गर्दै भने–‘पेटले मागेपछि सकिनसकी जसले भए पनि पकाउनु प¥यो, खानुप¥यो ।’

खानेकुरा बुढाबुढी मिलेर पकाउँछन् । खानामा प्रायः मकैको ढिँडो । गाउँमा पाइने तिउन– तरकारी बनाउँछन् । 

उनले भने– ‘गाउँमा तरकारी रोप्ने बारी पनि छैन । खेती गर्ने चलन छैन, कोही कोहीले मात्र खेती गर्छन् । एक दुई जनाले मात्र सागसब्जीको खेती गर्छन् । सबै किनेर खान्छौँ । गाउँघरको चलन कसैले त्यसै पनि दिन्छन्, कतै मागेर पनि खाइन्छ ।’ 

वृद्धभत्ताको पैसा : दूध र रक्सीमा 

वृद्धभत्ता बुढाबुढी दुवै जनाको आउँछ । महिनाको ४ हजार हुन्छ । 

त्यो पैसा केमा खर्च हुन्छ ।

बर्मन बुढाले कुरा लुकाएनन् । ठट्टा गर्दै भने–‘कहिले दूध किनेर खाने, कहिले जाँड किनेर खाने ।’

वृद्धभत्ताबाट आएको पैसा दूध र रक्सीमा खर्च हँुदो रहेछ । उनले फेरि हाँस्दै भने– ‘बुढीलाई त रक्सी नभई हुँदैन । रक्सी त अलि–अलि खाइरहनुपर्छ । नखाउँभन्दा पनि हुँदैन ।’ 

तर उनी मातिने गरी धेरे रक्सी पिउँदैनन् ।

फेरि भने– ‘मैले त साँझ परेपछि खाना खाने समयमा अलिकति मात्रै हो । त्यो मलाई त भए पनि हुन्छ, नभए पनि हुन्छ, बुढीलाई त नभई हुँदैन ।’

श्रीमतीलाई पनि रोगव्याधीले उति सताएको त छैन तर हिँड्न अलि समस्या छ । उनले भने–‘हिँड्नलाई परानै लागेन भन्छे ।’ 

उनी पनि कमजोर भएका छन् । चौध पन्ध्र वर्ष अघि काठमाडौँ आएका बेला मार्बलमा लडेपछि दुई पटक ढाडको अप्रेसन गर्नुप¥यो । दुई तीन वर्षअघि आँखाको पनि अप्रेसन गर्नुप¥यो । आँखा कमजोर भएर धमिलो भएको छ । 

उनले भने– ‘पहिले पत्रिका पढ्न सक्थेँ तर अहिले पत्रिकाको हेडलाइन मात्र पढ्न सक्छु । चार वर्ष जति भयो, पत्रिका पढ्न नसकेको ।’

काठमाडौँ आउँदा पाटनका बुढा नेवारसँग दोस्ती 

गाउँमा समय कटाउन कुराकानी गर्न पनि बुढापाका त्यति छैनन् । गाउँका उनी सबैभन्दा जेठा । आफूभन्दा कम उमेरका मात्र छन् गाउँमा । उनले भने– ‘जवान र केटाहरूसँग उनीहरूकै उमेरकाहरूको कुरा मिल्छ । बुढाको बुढासँग मात्रै कुरा मिल्ने हो ।’

काठमाडौँ आएको बेला पनि कुरा गर्न उनी वृद्ध साथीहरू खोज्दै हिँड्छन् । काठमाडौं आएको बेला उनी छोरीको घरमा बस्छन् ।  छोरीको घर माथि अर्का एकजना वृद्ध पनि छन् । जोसँग उनको पुरानो दोस्ती छ । पहिला काँग्रेसका नेतासमेत रहेका कालुराम रानामगरसँग उनको गफ मिल्छ । रानामगरसँग बुढाको २०४८ सालदेखि परिचय भएको थियो । रानामगर त्यतिबेला राष्ट्रिय सभा सदस्य थिए । उनी पाल्पामा जिल्ला सभापति पनि भएको राम्रो नेता रहेको उनले सुनाए । उनले भने– ‘ऊ पनि अहिले छोरी ज्वाइँको घरमा बसेको छ ।’

गाउँमा पनि उनीसँग गफ गर्ने मान्छे छैनन् । उनको एकजना लाहुरे जेठान थिए ती पनि दाङमा बस्न थाले । अरू उनीभन्दा कान्छाहरू मात्रै छन् । उनी वर्षमा दुई तीन पटक काठमाडौँ रोल्पा गर्छन् । काठमाडौं आएको बेला १ महिना जस्तो बसेर रोल्पा फर्किने गरेका छन् । 

काठमाडौँ आएको बेला उनलाई एक्लै दिन कटाउन गाह्रो पर्छ । भन्छन– ‘पाटन दरबारतिर जान्छु । त्यहाँ बुढा बुढा नेवारहरू बसेका हुन्छन् । उनीहरूसँग कुरा गर्छु ।’

आफूसरहका बुढा नेवारहरूसँगको कुराकानीबाट उनले नयाँ कुरा पनि थाहा पाउँदा रहेछन् । पहिले पहिले काठमाडौँमा तिब्बतबाट नुन आउने गरेको थाहा पाउँदा उनलाई अचम्म लागेछ । उनी पहिला पहिला कुन–कुन सामानको भाउ के थियो, यस्तै पहिले पहिलेका कुरा गर्छन् ।  

उनको घरखर्च चलाउन समस्या छैन । दुईजना बुढाबुढीको वृद्धभत्ता मासिक ४ हजार हुन्छ, कहिलेकाहीँ जापानबाट नातिनीले खर्च पठाइदिन्छिन् । नातिनीले आठ दस हजार,  कहिले चाडपर्वमा २० हजारसम्म पठाइदिन्छिन् । उनका माइला र कान्छा छोराका परिवार सबै जापानमा छन् । 

पार्टीले बाटो छोड्दै गएको जस्तो मान्छु 

अचेल रोल्पामा नेताहरू तपाईंलाई भेट्न घरमा कत्तिको जाने गरेका छन् ? उनले लामो निश्वास फ्याँके र भने– ‘गाउँमा त अचेल नेताहरू उतिसारो जाँदैनन् । भेट्न पनि जाँदैनन् । कहिले काँही गाउँ जाँदा एक दुईजना जान्छन् । मन्त्रीहरू त थवाङ जाँदैनन् । मन्त्रीभएपछि वर्षमान पुन एक पटक पुगेका थिए ।’ 

अहिलेको राजनीतिप्रति उनी सन्तुष्ट छैनन् । अहिलेको नेताहरूले समाजवाद भन्ने तर त्यसलाई नै छोड्दै गएको उनलाई लागेको छ । माओवादी र एमालेबीच भएको एकता पनि उनलाई चित्त बुझेको रहेनछ ।  
उनले भने– ‘नेताहरूको आफ्नो विचार त होला तर कस्तो कस्तो, मैले बुझ्दाखेरी अहिले बाटो छोड्दै गएको जस्तो मान्छु ।’

दुई दिन पहिले उनी प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको संसद सचिवलयमा रहेको कार्यालयमा भेट्न गएका थिए । ‘आज आउनुहुन्न भनिदिए, भेट्न सकिएन । फोन गरे त महराले उठाउँछन् ।’

उनले महराको विगत सम्झिए– ‘जे होस् महरा पहिला त दुःखबाटै हुर्किएको हो, अहिले त सुखमा गइहाल्यो । पहिला निकै दुःख थियो । जनयुद्धको समयमा घर पनि पुलिसले भत्काइदियो । उनको जग्गा पनि बिक्री गरेको, स्कुलले किन्यो भन्ने सुनेको थिएँ ।’

केही दिनका लागि काठमाडौं आएका उनी एक पटक सभामुख महरालाई भेटेर घर फर्कने सुरुमा छन् । थवाङमा उनलाई ८३ वर्षकी श्रीमतीले पर्खिरहेकी छिन् र सँघारछेउ ७५ सालको  दसैँ पनि भेट्न आइसकेको छ । 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप