शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नदिन ठूलो शक्ति लागेको छ: वनमन्त्री

आइतबार, ०७ असोज २०७५, १४ : ५२
आइतबार, ०७ असोज २०७५

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले निजगढ अन्तर्राष्ट्रिय  विमानस्थल बनाउने काम रोक्न ठूलै शक्ति सलबलाई रहेको बताएका छन् । 

ललितपुरको खुमलटारमा मन्त्रालयले गरेको राष्ट्रिय संरक्षण दिवसको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले राजनीतिक आग्रह र स्वार्थ अनुसार तल्लो तहका समूहदेखि ठूलो शक्ति विमानस्थल निर्माणको विरुद्धमा लागेको उल्लेख गरेका हुन्  । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न नसक्ने अवस्था आएको बताउँदै  मन्त्री बस्नेतले अर्को   विमानस्थल चाहिएको बताए । उनले न्यूनतम भन्दा न्यूनतम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा मन्त्रालय र सरकारको स्पष्ट दृष्टिकोण रहेको स्पष्ट पार्दै विकासको काममा अवरोध नगर्न आग्रह गरे । 

उनले भने–‘विमानस्थल कुनै पनि हालतमा बन्नुपर्छ, न्यूनतम क्षतिमा बन्नुपर्छ र पारदर्शीता हुनुपर्छ भन्नेमा म स्पष्ट छु । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा पर्यटन मन्त्रालय र बन मन्त्रालय एक ठाउँमा बसेर छलफल पनि भइरहेको छ, एउटा मन्त्रालयको विचार एकातिर र अर्को मन्त्रालयको विचार अर्कोतिर भन्ने छैन ।’ 

उनले विमानस्थल बन्नु हुँदैन, बन्न दिइँदैन भन्नेलाई सरकारको कुनै जवाफ नरहेको र सरकारले उनीहरुलाई केही गर्न नसक्ने उल्लेख गरे । उनले जैविक विवधता संरक्षण र विकासको कामलाई परिपूरक बनाएर लैजाने समेत बताए । 

मन्त्री बस्नेतले भने–‘निजगढमा अन्तर्राष्ट्रिय  विमानस्थल बनाउनुहुँदैन भन्ने तर्कलाई हामी संबोधन गर्न सक्दैनौँ तर वातावरण संरक्षणका लागि जिम्मेवारीपूर्वक उठाइएका सवालहरुलाई हामी सम्मान गर्छौँ ।’

उनले विमानस्थल चाहिएको छैन जस्तो तर्क कसैले गर्न नहुने बताए । उनले सरकारले कुनैपनि हालतमा यो विमानस्थल बनाउने उल्लेख पनि गरे । मन्त्रालयले हरेक बर्ष असोज ७ गते संरक्षण दिवस मनाउँदै आएको छ । २०६३ सालमा हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन बनमन्त्री गोपाल राईसहित २४ जना वातावरण संरक्षणकर्मीको मृत्यु भएको घटनाको स्मृतिमा यो दिवस मनाउन थालिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप