बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुलियन असान्जलाई बेलायतबाट भगाउन रुसले गोप्य योजना बनाएको खुलासा

आइतबार, ०७ असोज २०७५, १४ : ३५
आइतबार, ०७ असोज २०७५

एजेन्सी –रुसका कुटनीतिज्ञहरुले जुलियन असान्जको नजिकका मानिसहरुसँग अघिल्लो वर्ष गोप्य वार्ता गरेको कुरा बाहिर आएको छ । 

लण्डनमा  भएको त्यस वार्तामा रुसी कुटनीतिज्ञले असान्जलाई सुरक्षित रुपमा संयुक्त अधिराज्यबाट भगाउन सकिनेबारेमा छलफल गरेका थिए । 

त्यस वार्तामा असान्जलाई उनी बसिराखेको इक्वेडरको बेलायतस्थित दूताबासबाट कुटनीतिक वाहनमा राखेर अर्को देशमा लाने एक मोटामोटी योजना बनेको कुरा पनि बाहिर आएको छ । 

विभिन्न स्रोतहरुले बेलायती समाचारपत्र गार्डियनलाई बताए अनुसार योजनामा रहेको एक अन्तिम गन्तव्यमा रुस आफै पनि थियो । रुसबाट अमेरिका सुपुरदर्गी गरिने खतरा नभएकाले असान्जको रुस जाने योजना उच्च प्राथमिकतामा रहेको हो । योजना कार्यान्वयनमा ल्याइँदा धेरै खतरा हुने भएपछि यसलाई पछि त्यागिएको थियो । 

असान्जलाई इक्वेडरको दूताबासबाट निकाल्ने सम्भावित समय तालिका सन् २०१७ को क्रिसमसलाई निर्धारित गरिएको थियो । एक स्रोतका अनुसार इक्वेडरले असान्जलाई भावि दिनमा कुटनीतिक हैसियत दिन अस्वीकार गर्ने सम्भावना बढ्दै गए पछि यो योजना आएको थियो । 

यो समाचार बाहिरिएसँगै पश्चिमा मिडियाहरुमा असान्जलाई संयुक्त अधिराज्य बाहिर लाने योजनामा रुसी अधिकारीहरुको संलग्नताले असान्जको क्रेमिलिनसँगको सम्बन्धबारेमा प्रश्न उठाइदैं छ । 

विकिलिक्सका संस्थापक तथा सम्पादक असान्ज अमेरिकाको सन् २०१६को राष्ट्रपति चुनाव परिणामलाई प्रभावित पार्न रुसी प्रयासबारे भइरहेको अपराधिक अनुसन्धानको प्रमुख पात्र हुन् । 

अनुसन्धानको नेतृत्व गरिरहेका प्रमुख सल्लाहकार रोवर्ट मुलरले यही जुलाईमा एक दर्जन रुसी सैन्य गुप्तचर अधिकारीमाथि आपराधिक मुद्धा हालेका छन् । उनीहरुमाथि राष्ट्रपति निर्वाचन अघि डेमोक्रेटिक पार्टीको सर्वर ह्याक गरेको आरोप छ । आरोपमा ह्याक गरेर प्राप्त भएका डाटाहरु विकिलिक्सलाई पठाइएको पनि भनिएको छ । 

मुलरका अनुसार विकिलिक्सले रुसी जासुसहरुले चोरेको ‘५०,००० दस्तावेजहरु’ प्रकाशित गरेको थियो । 

यी दस्तावेजबाट डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनका क्रममा अन्तिम चरणमा पुगेका दुई प्रतिस्पर्धीमध्य बर्नी स्याण्डर्स र हिलारी क्लिन्टनमध्य पार्टी पदाधिकारीहरुले बर्नीलाई हराउन लागेको कुरा बाहिर आएको थियो । यो कुरा विकिलिक्सले सार्बजनिक गरेपछि बर्नीका पक्षधर रहेका ठूलो सङ्खयाका डेमोक्रेटिक मतदाताहरुले हिलारीलाई भोट नहालेको मानिन्छ । 

असान्जले भने आफूले प्रकाशित गरेको इमेलहरु रुसीहरुबाट प्राप्त गरिएको कुरा अस्वीकार गर्दै आएका छन् । 
इक्वेडर दूतावास भित्रको कामकारबाहीबारे जानकार दुई स्रोतहरुले गार्डियनलाई यो वार्ता मिलाउन लण्डनको इक्वेडर दूतावासका परामर्शदाता फिडेल नरभाइजले काम गरेको बताएका छन् । 

नरभाइजले भने आफू लण्डनस्थित रुसी दूतावासमा २०–३० अन्य देशहरुको कुटनीतिज्ञहरुलाई संयुक्त बोलाइरहेको भेलामा दुई पटक मात्र गएको बताए । 

नरभाइजले नै यो भन्दा अघि एनएसएको गोप्य सामाग्रीहरु चुहाएपछि हङ्कङ्मा लुकिरहेका एर्डवार्ड स्नोडेनलाई ‘सुरक्षित प्रबन्ध’ भनिने पास दिलाएर मस्को पुग्न सघाएका थिए । 

यस अपरेशनको निरिक्षण गर्नको लागि इक्वेडर गुप्तचर एजेन्सीका प्रमुख रोम्मी भयहोले १५ डिसेम्बर २०१७ मा लण्डनको भ्रमण गरेको बताइन्छ ।

गार्डियनका स्रोतहरुले असान्जलाई दूतावास निकाल्ने अपरेशन किन रद्द गरियो भनेर स्पष्ट नगरेको भए पनि सबैले अपरेशन एकदम खतरनाक हुन सक्ने भएकाले अन्तिम समयमा रद्द गरेको स्वीकार्छन् ।  

इक्वेडरमा नयाँ दक्षिणपन्थी तथा अमेरिका समर्थक राष्ट्रपतिको विजयपछि असान्जको दुतावासको बसाईमाथि प्रश्न उब्जिएको थियो । राष्ट्रपतिले सार्ब जनिक रुपमा असान्जले आफ्नो देशको दुतावास छाडुन भन्ने चाहेको बताएका छन् । 

यही वर्षमो मार्चमा दुतावासले असान्जको इन्टरनेट सेवाहरु बन्द गरिदिएको थियो । साथमा दूतावासमा असान्जलाई भेट्न आउनेहरुलाई पनि रोक लगाएको छ । 

असान्जकी वकिल मेलिण्डा टेलरले पछिल्लो समय दुतावासले असान्जलाई कैदीजस्तो व्यवहार गरेको बताइन् । उनका अनुसार ,“ युद्ध अपराध र मानवअधिकार उलघंनको घटनाको प्रमाण प्रकाशित गरे बापत लगभग ८ वर्षदेखि उनलाई मनोमानी ढंगबाट दोषी घोषित गर्नु सा¥है दुःख लाग्दो कुरा हो । संयुक्त अधिराज्यले उनलाई सुपुरदगी नगर्ने प्रत्याभुत गरेर यो अवस्थालाई आजै अन्त्य गर्न सक्छ ।” 
रुसी दतावासले शुक्रबार गार्डियनको समाचार आएपछि ट्वीट गर्दै लेखेको ,“यो ब्रिटिश मिडियाबाट आएको झुटको अर्को उदारण हो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप