बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनौतीका चाङमाथि नेकपाका प्रदेश समिति

आइतबार, ०७ असोज २०७५, १३ : ०६
आइतबार, ०७ असोज २०७५

नेकपा सङ्ख्यात्मक रूपमा विशाल भएको छ तर त्यतिकै मात्रामा गुणात्मक रूपमा सबल छैन । जननेता मदन भण्डारीको जस्तो टोपी ढल्काएर मात्र मदन हुन सकिन्न । ओली वा प्रचण्ड निकट भएर मात्र वैचारिक निखार आउँदैन । पार्टीका कतिपय उपल्ला तहका नेताका सार्वजनिक विचार र वक्तव्यबाट  तिनको हुति, मति र गति थाहा हुन्छ । जब सिद्धान्त, विचार र दृष्टिाकोणमा खिया लाग्छ तब नेता धमिरो हुन्छ । 
 
नेपाल कम्युनिस्ट पार्टीलाई बचाउने पार्टीका कार्यकर्ता र जनता हुन् । तर केही नेताले पटक पटक कम्युनिस्ट आन्दोलनलाई ठूलै जाखिममा पारेका छन् । अहिले एकीकृत भएको यस पार्टीमा जाखिमहरू पर्याप्त देखिन्छन् । विनाश बाजा बजाएर आउँदैन ।

पार्टी  र सरकारको नेतृत्वका विषयमा दुई अध्यक्षका बीचमा परेको दरार देख्न सकिन्छ । भर्खरै भारत भ्रमणका समयमा पुष्पकमल दाहालले आन्तरिक मामिलामा व्यक्त विचार विवादको विषय बनेको छ तर यस कुरालाई पार्टी बैठकमा स्वयम् दाहालले आफ्नो आशय त्यस्तो नभएको भने पनि उनको विगत हेर्दा त्यसमा सजिलै विश्वास गर्न सकिँदैन ।  

पार्टीको शीर्षस्थ तहमा नै पार्टी र सरकारको नेतृत्वगत समस्या उजागर भइरहेको सन्दर्भले हालै चयन भएको प्रदेश समिति पदाधिकारी लगायत तल्ला समितिमा यसको कुप्रभाव नपर्ला भन्न सकिन्न । 

अवसरवादी चरित्र जहिले पनि नितान्त निजी विषयलाई केन्द्र विन्दुमा राख्ने गर्छ । पार्टीको माथिल्लै तहमा नेतृत्वका सबै खालका कमजोरीप्रति आलोचना, आत्मालोचना जस्ता विषयलाई प्रमुखता नदिने हो भने पार्टी फेरि चाराचिरा हुनसक्छ । 

त्यसैले पार्टी अध्यक्ष द्वयका नै कमजोरीमाथि समितिमा नै तथ्यपरक आलोचनालाई प्राथमिकता दिनुपर्छ । यस खालका परिपार्टीको सुरुवातले तल्ला समितिहरूमा  पनि कमजोरी उपर छलफल गर्ने परिपाटी विकसित हुन्छ । 

यति गर्दा पनि पार्टी समितिभित्र निर्मम बहस नगरी बाहिर बाहिर विषयवस्तुलाई छर्ने परिपाटी बन्द गर्न सजिलो पनि हुन्छ ।   

लेखकले पार्टी प्रदेश समिति र प्रदेश सरकारका विषयका चुनौतीका चाङहरू देखेको छ । अहिले यतिखेर नेकपाको दुईतिहाइको सरकार र संसारको तेस्रो ठूलो कम्युनिस्ट पार्टी भएकामा देशी विदेशीहरूमा ठूलै खलबली सुरु भएको छ । केही नेपाली मिडिया त सरकारका विरुद्ध खुलेर लागि पर्न थालेका छन् । 

ओली केन्द्रित आलोचना र खेदो भोलि गएर कम्युनिस्ट पार्टीका विरुद्ध अवश्यम्भावी हुन्छ भनेर देख्ने कति छन् ? त्यसैले नेपालका प्रमुख पाटी, कर्मचारी संयन्त्रमा र राजकीय उपल्लो तहमा भारतीय रअको घुसपैठ र प्रभावले विगतमा झैँ अहिले के कस्तो अत्यन्त नकारात्मक काम गरिरहेको छ भन्ने कुरा सरोजराज अधिकारीको जासुसीको जालोलगायत कृति पढ्दा थाहा हुन्छ । 

जनताको सरकारलाई जनताको पार्टी र जनताले नै जोगाउने हो । यस्ता विषयमा प्रदेश पार्टी र प्रदेश सरकार अत्यन्त चनाखो हुनुपर्छ । हरेक जिम्मेवार नेता, कार्यकर्ता तथा मोर्चा आबद्ध शक्ति र व्यक्तिले आआफ्ना ठाउँका हरेक अराजक र हिंस्रक गतिविधिको जानकारी र समाधानका लागि आवश्यक पहल र प्रयत्न जारी राख्नुपर्छ । आआफ्ना कर्तव्य र दायित्व भुलेर आलोचना मात्र किमार्थ सुहाउँदैन । 

सत्यतथ्य नबुझी सङ्घीय सरकारका विरुद्ध प्रलाप गर्नु पृथ्वीसुब्बा गुरुङ र प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई सुहाउँदैन । आङ्बोले त प्रधानमन्त्रीलाई नै लक्षित गरी सबै अधिकार सङ्घले मुठ्याएर बस्ने अनि घण्टौँ समृद्धिको भाषण भाषण गरेर केही हुँदैनसम्म भने । कतिपय मन्त्री र केन्द्रीय सदस्यका बोलीमा नाक, नश्ल, जातको निकृष्ट मिस्रण देखिन्छ । तर यिनले नेपालभन्दा समृद्ध मुलुक बेल्जियमले  ४४ वर्षपछि सङ्घीयता कार्यान्वयनमा ल्याएको थाहा पाइराख्नु राम्रो हुन्छ ।  

हाम्रो विगतको अभ्यासले नेपाली नेताहरूमा पनि जातीय, क्षेत्रीय सङ्कीर्णता व्याप्त देखिन्छ । पहिले नै अधिकांश नेता र मन्त्री आग्रह र दुराग्रह मनमा पालेर बसेका हुन्छन् । यस्ता आग्रह पूर्वएमाले र पूर्वमाओवादी र त्यहाँभित्रका आआफ्ना निकृष्ट लबिगत चौघेराका आधारमा पनि बन्छन् ।

यसो भएपछि नेता र कार्यकर्ता तथा मोर्चा सङ्गठनमा गुण र गुणीलाई ग्रहण गर्ने पक्ष कमजोर हुन्छ । चार नेता चारतिर फर्किएपछि र अमुक नेताले पार्टीमा हामलीमुहाली गर्न थालेपछि प्रदेश पार्टी र प्रदेश सरकार दुवै भाँडिन्छन् । 

साँच्चो नेताका अगाडि परेको जुम्सो मान्छे जागरुक बन्छ । सुतेको जाग्छ, उठेको फटाफट हिँड्छ । सही नेताको भाषाले मात्र बोल्दैन । उसको आँखा, अनुहार र आकृति र प्रकृति पनि बोल्छ । नेता नेता जस्तो हुनुपर्छ । नेता रानो जस्तो हुनुपर्छ रानोलाई सारा मौरीहरूले मायाँ र स्नेह दिएर जोगाउँछन् । कार्यकर्ताको दुःखसुख र समस्या बुझ्नै नेता चाहिँ नेता हो ।

यसमा देशी विदेशी प्रतिक्रियावाद अनेक दाउपेचमा लागिरहेको हुन्छ । नत्र यतिको देशव्यापी बनेको पार्टी सङ्गठन र मोर्चा सङ्गठन जनादेश र मतादेशको यो शक्ति प्रतिक्रियावादका पातसम्म हल्लाउन सक्तैन ? 

ब्वाइलर जस्ता नेता, कार्यकर्ता र बुद्धिजीवी अमुक नेताको आदेशविना एक अक्षर पढ्दैनन्, सूचना लिँदैनन्, ब्रह्मले देखेको भन्दैनन् र  सही कुरा पनि कसैले भन्यो भने ती सुन्दैनन् । 

विरोधीका पनि कुरा सुन्नुपर्छ । त्यहाँ पनि सिक्ने कुरा हुन्छन् नत्र नकारात्मकबाट सकारात्मक पनि गर्न र सोच्न तथा व्यवहार गर्न सकिन्छ तर त्यसविपरीत यसरी हरेक नेता र कार्यकर्ता तथा बुद्धिजीवीमा  देब्रे कोण मात्र हाबी हुँदा ती प्रायः  डेब्रा हुन्छन् र भएका छन् । 

 प्रायः कार्यकर्ता  आफैँ ज्ञान, सूचना, विषय खोजेर पढ्दैनन् । फेस बुकमा गाला जोडेको फोटो सेयर गरेर बरु यसको चरम दुरुपयोग गर्न भ्याउँछन् तर दुई अक्षर ज्ञानमूलक कुरा तिनले फेस बुकमा पस्किन कन्जुस्याइँ गर्छन् । 

नत्र एक थुकी सुकी, सय थुकी नदी भनेझैँ फेस बुकको एक सियरले जनविरोधी किल्लाहरू ध्वस्त हुन्छन्  । 

सङ्घीयताको भर्खर अभ्यास भएको यस मुलुकमा हतारिएर प्रदेश प्रहरी र प्रमुख जिल्ला अधिकारीलगायत संविधानले व्यवस्था गरेका सबै अधिकार तत्काल प्रत्यायोजन अलि हतार हुनसक्छ । अहिले नै प्रदेश नम्बर २ संविधानको ठीक विपरीत व्यवहार गरिरहेको छ ।  

त्यस प्रदेशका महान्यायाधिवक्ता लेख र विचार नेपालको अखण्डतालाई बल पु¥याउने खालका छैनन् । 

पहिलो कुरा प्रदेश समितिका अगुवा नै बहुआयामिक खुबी, क्षमता, विशेषताको हुनु अपरिहार्य हुन्छ । मुहान नै सङ्लो भयो भने मात्र भँगालाहरू पनि स्वच्छ हुनेछन् । बीज सही प¥यो भने बिरुवा चिल्लापाते हुन्छन् । दृष्टिकोण सद्दे भयो भने मात्र दृष्टि सही हुन्छ । 

सेवा र समर्पणको भावना प्रबल भयो भने मात्र जनसेवाका कामहरू हुन्छन् । विचार र सिद्धान्तको बलियो कवचले मात्र तमाम खत, बात र घात सहेर बलिदानी सङ्घर्षका साथ  देश र जनताका लागि केही न केही दूरदर्शी काम गर्न सकिन्छ ।  

कामकाजी नेतृत्वले मात्र काममा मन र ध्यान दिन्छ । भात र भविष्यमध्ये दोस्रो पक्षमा जुन नेताले अर्जुन दृष्टि लगाउँछ, त्यही अजर र अमर हुन्छ । भात भोलि नर्क हुन्छ ।

पार्टी अध्यक्ष केपी ओलीले भनेझैँ मानिसको जीवनका धेरै सीमा हुन्छन् तर इमानदारिताको कुनै सीमा हुँदैन । जननेता मदन भण्डारीले भनेझैँ भ्रष्टाचार र व्यभिचार गर्ने अवसर पाउँदा पनि इमानदार हुनु चाहिँ ठूलो कुरा हो ।

त्यसैले नेकपा प्रदेश समितिको प्रमुख नेतृत्व पक्ष यी सब कुरामा माक्र्सवादी र  जनताको जनवादी आचार, आचरण, संस्कार तथा जीवन शैलीलाई आत्मसात् गर्ने हुनुपर्छ । यसो गरियो भने मात्र नेतृत्व कामयावी र प्रभावी हुने छ । 

नेतृत्व आफै बदलिएर मात्र पार्टी र प्रदेश सरकारलाई बदल्न सकिन्छ वा देश र जनताको सेवामा सरिक गराउन सकिन्छ ।  मुखको इमानदारिताको अब काम छैन । 

अब प्रदेश समिति गठन गर्ने र यसलाई पूर्णता दिने कुरा पनि छ । यसमा पदेन परिपूर्ति हुने र समावेशी चयन गर्नेबाहेक यस प्रदेशका योग्य, इमानदार, सक्षम कार्यकर्ता र नेतालाई चयन गरिन्छ गरिँदैन यो कुरा यस लेखकले हेर्ने छ । 

कतिपय नेता र कार्यकर्ताहरू आफ्नै टोल, छिमेक, वार्ड, क्षेत्र र जिल्लामा गुमनामका छन् र हुन्छन् । अझ राम्ररी नियाल्ने हो भने कतिपय बदनाम पनि हुनसक्लान् । 

तिनलाई समितिमा ल्याएर राम्रो नाम र काम दिनसकिन्न । ल्याउनै परे पनि तिनलाई अब उप्रान्त कमजारी गर्ने छैन भनी कसम खुवाएर र एउटा परीक्षण कालखण्ड नराखी टुपी समाएका भरमा पदोन्नति गर्दै जाने हो यो पार्टी धराशायी हुने निश्चित हुन्छ ।  

त्यसैले सक्षम कार्यकर्ता र नेताले मात्र हतास नभई लम्बेअभियान पूरा गर्छन् । नत्र ती बीच बाटामा नै कीरा परेर झर्छन्, गिर्छन्, थाक्छन् र भाग्छन् । 

यसका लागि अपरिहार्य त्रिआयामिक विशेषता हो । यसमा सिद्धान्त, सिर्जना र सङ्गठन पर्छ । माक्र्सवाद र जनताको जनवाद नै राम्ररी  नबुझेको र बुझाउन नसक्नेहरू नेता थपना मात्र हुन्छन् ।

अन्य कम्युनिस्ट समूह र विपक्षी पार्टीका बीचको फरक प्रचण्ड, कम्युनिस्ट पार्टीमा अझ पठन संस्कृति शून्य भएको यो कहाली लाग्दो अवस्थामा यसका अभावमा सही माक्र्सवादी र आमूल परिवर्तनकारी नेता बन्नै सक्तैन । 

अझ संस्कृति र सांस्कृतिक रूपान्तरण जस्ता विषयमा त पार्टीको माथिल्लै तहका अधिकांश कमजोर देखिन्छन् । अहिले नै समाजलाई गुणात्मक रूपमा फेर्ने विषयमा राम्ररी ध्यान नदिने हो भने कम्युनिस्ट सरकार र सत्ता तासको घरझैँ ढल्छ । जस्तो सोभियत सङ्घमा ढल्यो तर त्यस बेला कम्युनिस्ट सत्ता ढल्दा सडकमा चरोमुसो पनि सडकमा देखिएन । 

तर त्यहीँ सामन्तवादी सत्ता, सरकार र संस्कृतिका लागि अत्यधिक जनता मर्न र मिट्न तयार हुन्छन् । घरमा सन्तानलाई एक चम्चा घिउ दिन कन्जुस्याइँ गर्ने अभिभावक सामन्तवादी संस्कृति, धर्म र चाडमा हर्पेका हर्पे घिउ होम्न तयार हुन्छ । 

पार्टीको प्रदेश समितिका नेताहरूले घरपरिवारका सदस्यलाई परिचालन गरेर केही न केही आयआर्जन गर्दै गुजारा चलाउने उपाय बेलैमा सोच्नु पर्छ । यस खालको स्कुलिङले मात्र पार्टी सङ्गठन र यसका तमाम नेता र कार्यकर्ता सदा टिक्न सक्छन् । यहाँ त परिवार नै पार्टीका सङ्गठनमा लागेको छ । बिहान बेलुकको गुजारा गर्ने विषयमा बेपर्वाह गर्दै बतासिएको छ । अनि समस्या पर्छ । 

अहिले नै कतिपय विद्यार्थी र युवा नेताहरू चिनेजानेका सित पैसा माग्दै नतिर्दै र ढाँटढुँट गर्दै चलेका देखिन थालेका छन् । कतिपय कार्यकर्ता कतिपय नेताकै  सरसङ्गतले पिया पसलमा बानी परेर पूरै बिग्रिएका छन् । 

कम्युनिस्ट पार्टी अहिले पूरै औपचापरिक जस्ता भएका छन् । एकोहोरो पार्टी दर्शन र सिद्धान्तका प्राविधिक शब्दावली भट्याउनेबाहेक अनौपचारिक रूपमा जसकसैका पनि सकार र नकारप्रति यथोचित भूमिका देखेर तिनलाई तत्काल सच्याउने सल्लाह दिँदैनन्  । 

यिनले सिर्जना, स्रष्टा र विद्वत्ताको किमार्थ कदर गर्दैनन् । जननेता मदन भण्डारीको भूमिगत कालको बहुआयामिक भूमिका विशिष्ट रहेछ । नेता हो भने जहाँ टेके पनि दुई रेक्टरको तरङ्ग दिन्छ । शिरदेखि पुछारसम्म चिसा नेता बेकामका हुन्छन् । 

साँच्चो नेताका अगाडि परेको जुम्सो मान्छे जागरुक बन्छ । सुतेको जाग्छ, उठेको फटाफट हिँड्छ । सही नेताको भाषाले मात्र बोल्दैन । उसको आँखा, अनुहार र आकृति र प्रकृति पनि बोल्छ । नेता नेता जस्तो हुनुपर्छ । नेता रानो जस्तो हुनुपर्छ रानोलाई सारा मौरीहरूले मायाँ र स्नेह दिएर जोगाउँछन् । कार्यकर्ताको दुःखसुख र समस्या बुझ्नै नेता चाहिँ नेता हो ।

साह्रै अह्ररो र र साह्रै फितलो दुवै सही नेतृत्वका लागि ठूलो दुर्गुण हो । कतिपय नेताहरू बल्लबल्ल गठन भएको आफ्नो व्यक्तित्वलाई विघटन गरिरहेका छन् । यो समय खुल्ला समय हो । जनताको बहुदलीय जनवादले पार्टीमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ । यसको अर्थ पार्टीको सिद्धान्त र विचारमा प्रतिबद्ध हुँदै अन्य तमाम कमजोरी उपर आलोचना र समालोचना गर्न पाउनु हो । सबै आलोचना शत्रुवत् हुँदैनन् ।

 तर अलिकति पनि आलोचना खप्न नसक्ने जुनसुकै नेतृत्व सामन्तवादी हो र यसले सामन्ती सांस्कृतिक अवशेषलाई मलजल गरेको मान्नुपर्छ । 

 कम्युनिस्ट पार्टी र यसको नेता भएर सङ्गठन चलाउन साह्रै सजिलो छ पनि भनिन्छ । किन भने पार्टीको अमुक प्रमुख नेताका अगाडि कोही बोल्ने आँट नै गर्दैनन् । भलै बैठक र भेला सकिएपछि बेलुका चिया र पिया पसलमा आफ्नै नेताको कटु आलोचना गरेर हुर्मतसम्म लिन्छन् । 

यसरी कार्यकर्ता र नेतालाई पार्टी बैठकमा चुइँक्क बोल्न पनि नदिने हो भने यो मुखियागिरी र ठालुगिरी  हुन्छ, पार्टी र सङ्गठन हुँदैन ।  त्यसैले अनेक स्वार्थ, प्रवृत्ति, प्रभाव, अहं, अभिमान, आग्रह, स्तर तथा माक्र्सवादी र गैरमाक्र्सवादीसम्मका चरित्र बोकेको कम्युनिस्ट पार्टीको प्रदेश समिति समक्ष चुनौतीका चाङ छन् । तर जान्दा जहाँ समस्या छ, त्यहीँ समाधान पनि निहित हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप