संघर्षपूर्ण जीतसँगै रियल शीर्ष स्थानमा
एजेन्सी । एस्पानियोलमाथि संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिडले यो सिजन ला लिगामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
मार्को असेन्सियोको एक मात्र गोलको मद्दतले एस्पानियोललाई हराउँदै रियल बार्सिलोनालाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।
लुका मोड्रिचको डिफ्लेक्ट भएको प्रहारलाई एसेन्सियोले गोलमा परिणत गरे । तर, यसलाई गोल दिन भिडियो एसिस्टेन्ट रेफ्रीले निकै लामो समय लगाएका थिए ।
आइतबार हुने खेलमा जिरोनासँग बराबरी गरे वा हराएमा बार्सिलोना पुनः जुलेन लोपेटेगुईको टोलीलाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लनेछ ।
एस्पानियोलका लागि बोर्जा इग्लेसियको प्रहार पोष्टमा लागेको थियो भने रियलका पूर्व गोलकिपर डिएगो लोपेजले सर्जियो रामोशको प्रहार बचाउ गरेका थिए ।
उता, एथ्लेटिको म्याड्रिडले गेटाफेलाई २–० गोल अन्तरले हराएपछि एस्पानियोल लिगको छैटौँ स्थानमा पुगेको छ ।
शनिबार नै भएको खेलमा १० खेलाडीमा सिमित गेटाफेका लागि गोल किपर डेभिड सोरियाले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै, थोमास लेमारले एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
लिगमा यो सिजन घरेलु मैदानबाहिर पहिलो जीतपछि डिएगो सिमिओनीको टोली लिगको पाँचौ स्थानमा उक्लेको छ ।
एथ्लेटिकोले शनिबार चिरप्रतिद्वन्द्वी रियलको सामना गर्दैछ ।
अन्य खेलमा आलोभसले रायो भायोकानोलाई ५–१ गोल अन्तरले पराजित गर्यो भने इबारले लेगानेसलाई १–० ले हरायो ।
सेल्टाभिगो र रियल भालाडोलिडले भने ३–३ को बराबरी खेल्यो ।