शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरान आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहको हात : विदेशमन्त्री

शनिबार, ०६ असोज २०७५, १९ : ४९
शनिबार, ०६ असोज २०७५

तेहरान । इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको इरानी सरकारले आरोप लगाएको छ । 

सरकारले आतङ्कवादी समूहले गोली चलाएको दावी गरेपनि शनिबार अपरान्ह्सम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । 

इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ । 

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गरेका छन् । 

अहभाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्नेगरेको आतङ्कवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको दावी छ । 

‘इरानले उक्त क्षेत्रमा आतङ्कवादीलाई आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन् ।’ 

आक्रमण भएको स्थान अहभाज शहर इरानको इराकी सिमानामा पर्ने खुजेस्तान प्रान्तमा पर्छ । उक्त स्थान इरानमा अल्पसङ्ख्यक मानिने अरब समुदायको बाहुल्यता रहेको क्षेत्र हो । खुजेस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीहरूको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो । 

मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्वीलचियरको सहारामा परेड हेर्न आएका एक पूर्व सैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले बताए । 

आक्रमणकारीमध्ये तीनजना घटनास्थलमा नै मारिएका थिए भने एक जनालाई घाइते अवस्थामा पक्राउ गरिएपनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले इरानको राज्य सञ्चालित टेलिभिजनलाई बताए । 

खुजेस्तानका उप गभर्नर अलि हुसेन हुसेनजादेहले केही समय पहिले दिएको जानकारीमा एक पत्रकारसहित कम्तीमा नौ सैनिकको मृत्यु भएको जानकारी दिएका थिए । 

विदेशमन्त्री जरीफले अमेरिकी सहयोगप्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ सङ्केत गर्नुभएको छ भने इरानको सम्भ्रान्तहरूको समूह रिभोलुसनरी गार्डसले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइदै आएको एक इरानी लडाकू समूह नै घटनामा जिम्मेवार रहेको बताएको छ । 

सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्वद्ध रहेको गार्डसका प्रवक्ता रामेजान सरीफले आइएसएनएलाई बताए । 

विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताउए । 

यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि एक शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका छन् । इरानमा भएको कठोर आक्रमणले आफुलाई निकै दुःखी तुल्याएको उनले बताएका छन् । 

रूसी राष्ट्रपतिले भनेका छन्, ‘यो घटनाले एक पटक फेरि आतङ्कवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ ।’ 

खुजेस्थान तत्कालिन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो । यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए । तर उक्तस्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप