शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जाने गंगामायाको चेतावनी

शनिबार, ०६ असोज २०७५, १३ : ३९
शनिबार, ०६ असोज २०७५

काठमाडौं–वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन् । 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् । 

छोराको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका  पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तराष्ट्रिय अदालतले न्याय दिने विश्वास पनि व्यक्त गरिन् । 

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गराइन् ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको दाबी गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास पनि व्यक्त गरिन् । 

आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन पक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न पनि गरिन् ।

छोरा  कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताइन् । 

सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले समेत ज्यान गुमाउनु परेको पनि उनले स्मरण गरिन् ।  छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बस्नु भएका गंगामायाका पति नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप