केन्द्रीय संस्करण

बेपत्ता परिवार भन्छन्- ‘अब त आश मरिसक्यो’

person access_timeअसोज ६, २०७५ chat_bubble_outline0

बाँके- खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । 

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था अहिलेसम्म अज्ञात छ । 

घरमूलीलाई बेपत्ता पारिएपछि पाठक परिवार कोहलपुर नगरपालिका–११ मा बस्दै आएको छ । पति नहुँदा दुई नाबालक छोरालाई हुर्काउन आफूले ठूलो सङ्घर्ष गर्नुपरेको उहाँ भन्नुुहुन्छ, “नाबालक छोराहरुको आफ्नै लालनपालन गर्दै श्रीमान्को न्यायका लागि लड्न थालेको १९ वर्ष पुगिसक्यो तर पनि न्यायको अनुभूति गर्न पाएका छैनौँ, बरु पीडामाथि पीडा थपिएको छ ।” 

सरकारले द्वन्द्वपीडितलाई अल्झाउने काम मात्रै गरिरहेको गुनासो गर्दै खिनुमाया भन्नुहुन्छ, “सरकारले लाश देखाउन सक्छ भने देखाइ दिनुप¥यो, नसक्ने भए सकिँदैन भनोस्, हामीलाई सधैँभरी झुलाएर राख्नु भएन, कि त हामीलाई बाँचुञ्जेल भत्ता, छोरा छोरीको लागि शिक्षा–दीक्षा र रोजगारीको व्यवस्था गरोस् ।” 

श्रीमान् फर्केर आउने आशा लगभग मरिसकेको उहाँ सुनाउनुहुन्छ । श्रीमान्को लाश वा सास नपाउँदा काजकिरियासमेत गर्न नपाएको तर बेपत्ता छानबिन आयोगले गत मङ्सिरमा मृत्यु भइसकेको चिठ्ठीले पठाएपछि थप पीडा मात्रै भएको गुनासो गर्दै खिनुमाया भन्नुहुन्छ “आयोगले कुनै अनुसन्धान र तथ्य बिना एक्कासि मृत्यु भइसकेको ब्यहोराको चिठ्ठी पठाएपछि झन् पीडा भयो।” खिनुमायाजस्तै धनीसरा थापा पनि राज्यद्वारा बेपत्ता पारिएका छोरा र बुहारीको अवस्था थाहा पाउन वर्षौंदेखि धाइरहनु भएको छ । 

विगत १६ वर्षदेखि विभिन्न निकाय धाउने गर्नुभएकी उहाँ छोरा दलबहादुर र बुहारी पार्वतीलाई २०५९ भदौ २५ गते बेलुकी ८ः३० बजेतिर सुरक्षाकर्मी घरमै आएर बेपत्ता पारेका थिए । घरमा काम गरेर जीविकोपार्जन गर्दै आएका छोरा र सुत्केरी अवस्थाकी बुहारीलाई सुरक्षाकर्मीले माओवादीको आरोपमा बेपत्ता पारेपछि धनीसरा सकुशल मुक्त गरिदिन थुप्रै प्रहरी कार्यालय र सेनाका ब्यारेकमा पुग्नुभयो तर उहाँले उनीहरूको अवस्थाबारे जानकारी समेत पाउन सक्नुभएन । 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि धनीसराको मनमा केही आशा पलाएको थियो । साठी दिनभित्र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कुराले हर्षित हुनुभएकी उहाँ सम्झौता भएको १२ वर्ष पूरा भइसक्दा पनि छोरा बुहारीको अत्तोपत्तो नहुँदा निराश बन्नुभएको छ । “छोरा बुहारीलाई बेपत्ता पारेको १६ वर्ष पुगिसक्यो, अहिलेसम्म सरकारले न लाश दिन सक्यो, न त सास नै,” धनीसराले भन्नुहुन्छ, “हामीलाई न्यायभन्दा पनि थप पीडा दिने काम मात्रै भएको छ ।” 

छोरा र बुहारीको न्यायका लागि धाउँदा धाउँदै आफू थाकिसकेको र नाति नातिनीलाई पालनपोषण तथा शिक्षा दिन कठिनाइ भइरहेको उहाँ पीडा पोख्नुहुन्छ । बेपत्ता छानबिन आयोगले काम नै नगरेर वर्षेनी म्याद मात्रै थप्ने गरेको यहाँका द्वन्द्वपीडित बताउँछन् । न्यायका लागि द्वन्द्वपीडित समाजका जिल्ला अध्यक्ष चन्द्रकला उप्रेती शान्ति सम्झौताको एक बुँदामा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गर्ने उल्लेख भए पनि सरकारले १२ वर्ष पुगिसक्दा पनि कार्यान्वयन गर्न नसकेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “सरकारले शान्ति सम्झौताका क्रममा ६० दिनभित्रमा बेपत्ताको स्थिति सार्वजनिक गर्ने भनिएको थियो तर अहिलेसम्म हाम्रा मान्छेको लाश वा सास पाउन सकेका छैनौँ ।” तत्कालीन जिल्लास्तरीय स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाको सङ्ख्या १२१ छ । 
–काशीराम शर्मा/ रासस 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ