शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै

शनिबार, ०६ असोज २०७५, १२ : २६
शनिबार, ०६ असोज २०७५

इलाम- जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् । 

जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउनुहुन्छ । कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गर्नुभएका सुवेदी अहिले किबी खेतीमा लागेको छु भन्नुहुन्छ । 

“मैले तीन वर्ष अघि मात्र रु २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र मूल्य छ ।” उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेल (पिसी)का अनुसार किसानले पछिल्लो समय जडीबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन् । 

जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडीबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडीबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त कार्यालयको तथ्याङ्कअनुसार इलामबाट चिराइतो यस आवमा १५ हजार ४१६ केजी बिक्री भएको थियो । 

आव २०७३÷०७४ मा बिखमा ३०० केजी, अर्गेली १५ हजार ४०० केजी, लोक्ता एक हजार केजी, सतुवा १५ केजी, रुद्राक्ष १२३ केजी विक्री भएको थियो । 

यस्तै आव २०७४÷७५ मा सतुवा २५ केजी, अर्गेली २५ हजार २०० केजी, इन्द्रेणी बियाँ २४५ केजी, बिखमा २०० केजी, मजिटो एक हजार २०० केजी पाखनवेद २८० केजी र लौठ सल्ला दुई हजार ५०० केजी मात्र बिक्रीका लागि अनुमति लिन आएको उक्त कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप