शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै बाबुसँग डराउनुपर्ने छोरीहरू

शनिबार, ०६ असोज २०७५, ११ : ४२
शनिबार, ०६ असोज २०७५

७७ वर्षीया वृद्धा बलात्कृत । १३ वर्षीया बालिका बलात्कारको सिकार । ८ महिनाकी शिशुको बलात्कारपछि हत्या । नसुनुँ, नपढुँ भन्दा पनि दैनिकजसो सुन्न र पढ्न बाध्य यस्ता समाचार सामान्यझैं भइसकेको छ । 

हे नरपिचास हो ! जुन नारीले नौ महिना कोखमा राखी, आफ्नै शरीर चिरेर तिमीलाई जन्माइन्, त्यही नारीलाई चिथोर्न अलिकति पनि हिच्किचाहट भएन हगि ? जुन शरीर चिरेर तिमी जन्मियौ, त्यही शरीर कोपर्ने कस्तो रहर ? कसैको शरीर निमोठ्दा तिमीभित्र रहेको केही अंश भए पनि मानवताले तिमीलाई रोकेन ? तिमीले पिएको आमाको अमृतरूपी दूधले तिमीलाई अलिकति पनि पोलेन ? त्यसरी एउटी अवलालाई गिजोल्दा आफ्नी जन्म दिने आमाको मायालु रूप देखेनौ ? आफ्नै सहोदर बहिनीको निरीह अनुहार भेटेनौ ? आफ्नै काखमा खेलाएको अबोध छोरीलाई सम्झेनौ ?

हे नरपिपाशु, आज तिमीहरूजस्ता राक्षसले गर्दा कैयौं पिता, दाजु र छोराले आफू पुरुष भएकै कारण लज्जित हुनुपरेको छ । एउटा बाबुले आफ्नै छोरीसामु मुख लुकाउनुपरेको छ । दाजुले बहिनीसँग आँखा झुकाउनुपरेको छ । छोराले आमासँग मीठो बोलीसम्म बोल्न सकेका छैनन् ।

तिमीहरूजस्ता नरपिपाशुले गर्दा आज चेलीहरू आफ्नै दाजुसँग भागेर हिँड्नुपरेको छ । छोरीहरू आफ्नै बाबुसँग डराएर लुक्नुपरेको छ । आमाहरूले आफ्नै छोरामाथि शंकाको नजरले हेर्नुपरेको छ ।

हे राक्षस हो, हे नरपिचास हो, अब त मानव बन, तिमीभित्र भएको विशाल मानवतामाथि थोरै भएको दानवीपन हाबी हुन नदेऊ । मानवरूपी शरीरमा भएको दानवलाई भगाऊ । भोलि तिम्री आमाले छोरा भन्नुपर्दा आफ्नो कोखलाई धिक्कार्न नपरोस् । छोरीले बाबु भन्नुपर्दा गहभरिको आँसु पोखेर रुन नपरोस् । बहिनीले दाजु भन्नुपर्दा लाजले शिर नझुकोस् । अब त व्युँझ । जन्म दिने आमाको ममताको मान राख । बहिनीले दिएको मायाको ख्याल गर । छोरीले गरेको सम्मानको लाज राख । यसरी नारीको धैर्य र सहनशीलतामाथि खेलवाड नगर ।

अन्यथा एउटी छोरीले तिमीजस्ता बाबुलाई जिउँदै गाड्ने छिन् । एउटी बहिनीले कालीको रूप धारण गर्नेछिन् । र, तिमीजस्ता दानवको नरसंहार गर्ने छिन् । एउटी आमाले तिमीजस्ता छोराको वध गर्ने छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ललिता तामाङ
ललिता तामाङ
लेखकबाट थप