बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षपछि अशोक शर्माको कम्ब्याक

शनिबार, ०६ असोज २०७५, ११ : १८
शनिबार, ०६ असोज २०७५


हत्तपत्त फिल्मकर्मी उनीसँग बोल्ने आँट गर्न सक्दैनन् । हक्की, लिडर र स्पस्ट वक्ताका रूपमा परिचय बनेको छ उनको । उनी फिल्म क्षेत्रका पुराना तथा सफल फिल्मकर्मी पनि हुन् । अभिनय, निर्माण र निर्देशनमा समेत आफूलाई अब्बल सावित गर्दै थुप्रै हिट फिल्म दिएका उनले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता सङ्घलगायत सङ्घसंस्थाको नेतृत्वसमेत गरिसकेका छन् । जुनै संस्थाको नेतृत्वमा रहे पनि फिल्म र फिल्मकर्मीको हकहितको विषयमा आवज बुलन्द गर्ने र दिनरात नभनी आवश्यकता पूरा गर्न लाग्ने र गराउने उनी फिल्म क्षेत्रबाट नेपाल उद्योगवाणिज्य महासङ्घमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति पनि हुन् । अहिले डिजिटलमय भएको फिल्म क्षेत्रमा यो प्रविधि भित्र्याउने श्रेयसमेत उनलाई जान्छ । उनी अर्थात अशोक शर्मा । 

अशोक अहिले लामो समयपछि फिल्म निर्माणमा फर्किएका छन् । ‘१२ वर्षमा बगेको खोला त फर्किन्छ’, भनेझैँ उनी पनि १२ वर्षपछि फिल्म ‘जय भोले’मार्फत निर्माणमा फर्किएका हुन् । जुन चलचित्र अहिले प्रदर्शनको तयारीमा छ । दशैँमा प्रदर्शनमा आउने यो चलचित्रमा उनले तीन पुस्ताका कलाकार एकसाथ राखेर जोखिमसमेत मोलेका छन् । 

१२ वर्षपछि निर्माणमा फर्किनु, फिल्ममा तीन पुस्ताका कलाकार समेट्नु र दशैँमा रिलिज हुने ‘जय भोले’ रिलिज मिति अहिलेसम्म सार्वजनिक नभएको जस्ता कुरासमेत समेटर हामीले राखेको जिज्ञासाको उत्तर उनकै शब्दमा ।

मेरो कर्म फिल्म
मेरो रगतको थोपा थोपामा फिल्म बगेको छ । यसमा शङ्का गर्ने ठाउँ छैन । बीचको केही समय जुन काममा बिजी थिए, त्यो काम पनि फिल्म क्षेत्रसँग सम्बन्धित थियो ।

भन्नै पर्दा बीचको १२ वर्ष मध्ये ३ वर्ष नेपाल टेलिभिजनका लागि ७५ भागको ‘अपराध’ नामक सिरियल बनाएँ । त्यसपछि ‘डिजिटल सिनेमा नेपाल नेटवर्कमा (डीसीएन)’ मा व्यस्त भएँ । यो नेपालमा डिजिटल प्रविधिलाई प्रस्तुत गर्ने पहिलो कम्पनी हो ।

अहिले त पूरै चलचित्र उद्योग डिजिटलाइज भएको छ । निर्माणदेखि प्रदर्शनसम्मका सबै काम डिजिटलमा हुन थालेका छन् । डीसीएन स्थापित गर्न ८, ९ वर्ष लाग्यो । अहिले यो स्थापित भएको छ । अहिले यसको व्यवस्थापन कर्मचारीहरूले गर्छन् । 

मेरो पहिलो काम भनेको फिल्म बनाउने, खेल्नेजस्ता सिर्जनात्मक काम गर्ने नै हो । त्यही काममा फर्किनका लागि निर्माणमा हात हालेँ । त्यसो त योबीचमा मैले चलचित्र नबनाएको होइन । ‘अन्दाज’ र ‘सुन्तली’ बाहिरको ब्यानरमा मिलेर बनाएको थिए ।

पहिलेका कलाकारको नाटकीय अभिनय 

लामो समयपछि निर्माणमा फर्किएको भए पनि मलाई खासै अफ्ठ्यारो परेन । अहिले चलचित्र निर्माण गर्ने प्रविधिमा धेरै परिवर्तन आइसकेको छ । यो परिवर्तन भित्र्याउन मेरो आफ्नै महत्वपूर्ण भूमिका पनि थियो ।

फिल्मको शैली, स्टोरी टेलिङ र प्रस्तुतिलगायत विषय पनि पहिलेभन्दा धेरै बदलिएका छन् । तर चलचित्रको ‘ह्युमर’ भने बदलिएको छैन । ‘ट्रक ड्राइभर’, ‘निरमाया’ ‘अल्लारे’, ‘मितिनी’ लगायतका मैले जति चलचित्र बनाए ती सबै ‘ह्युमर बेस’मा थिए । अहिले निर्माण भएका फिल्ममा पनि म त्यही देख्छु । 

फेरिएको भनेको कलाकारको अभिनय हो । पहिला कलाकारले नाटकीय अभिनय गर्थे । अहिले नेच्युरल(स्वभाविक) गर्छन् । 

कथा त्यही भए पनि भन्ने तरिका फेरिएका छन् । यसले नेपाली चलचित्र उद्योगमा परिवर्तन देखाएको छ । म डीसीएनमा भएकाले यो परिवर्तनसँग अवगत छु ।

यसैले ‘जय भोले’ बनाउन खासै अप्ठ्यारो भएन । फिल्म नै पढेर आएको छोराका कारण पनि मेरो काममा सहयोग भयो । 

ब्याग बोकेर साथीको डेरा चहार्थें  

म विभिन्न सङ्घर्षमय यात्रा पार गर्दै अहिलेको अवस्थामा आएको मानिस हुँ । यो विषयमा पहिले पनि धेरै कुरा बाहिर आएका थिए । निम्न वर्गीय परिवारको पृष्ठभूमि भएको म काठमाडौँ आएको २, ४ वर्ष त डेरा लिएर बस्न पनि सकिनँ ।

ब्याग बोकेर कहिले कुन साथी र कहिले कुन साथीकोमा बस्ने गर्थें । खानेको पनि ठेगान थिएन । त्यस्तो परिस्थितिमा पनि मैले कलाकारिता क्षेत्र छाने । त्यो समय कलाकारिताको भविस्य थिएन । नाटक खेल्यो पैसा दिँदैन थिए ।

२०४२ सालमा टेलिभिजन आएपछि ‘टेलिफिल्म’ बन्न थाल्यो । तर त्यसमा अभिनय गरेको पैसा दिँदैनथे । यो अवस्थामा पनि मैले फिल्म रोजेँ । त्यो समय कलाकार बन्नु भनेको ठूलो च्यालेन्ज थियो ।

त्यतिबेलादेखि नै ठूलो चुनौती चिर्दै आएको हुनाले अहिले १२ वर्षको अन्तरालमा ‘जय भोले’ निर्माण गरेर अर्को चुनौती उठाएँ । १२ वर्षको ‘ग्याप’ र १२ वर्षभित्रमा आएको परिवर्तनपछि पनि ‘जय भोले’ बनाउनु चुनौती बन्यो । 

‘जय भोले’मा ३ पुस्ता

मेरो अहिलेको चलचित्रमा तीन पुस्ता अटाएका छन् ।  बसुन्धरा दिदी, लक्ष्मी दिदी, रामचन्द्र अधिकारी पहिलो पुस्ता हुन् भने खगेन्द्र लामिछाने, सौगात मल्ल दोस्रो पुस्तामा पर्छन् । तेस्रो पुस्ताका सलोन बस्नेत, स्वस्तिमा खड्का छन् ।

‘कमब्याक’ चलचित्रमा एकसाथ तीन पुस्तासँग काम गर्ने अवसर पाए । ‘जय भोले’ मेरो लागि अनुभव भयो भने दर्शकको लागि नौलो स्वाद हुनेछ ।

सबै पुस्ता समेटेर फिल्म बनाउने योजना थियो । सक्छु भन्ने आत्मविश्वास थियो । धेरैले मलाई म पच्चीस वर्ष अगाडिको अशोक भनेर चिन्थे । तर काम गर्नेहरूले आजकै अशोक फिल गरे । 

टेलिभिजन हुने घरमा भीड लाग्थ्यो 
एकै चलचित्रमा ३ पुस्ताको मिश्रण सहज भने थिएन । किनभने सबै पुस्ताको अभिनय शैली फरकपन छ । त्यसमा पनि मैले अहिलेको परिस्थितिको महसुस गराउने चलचित्र बनाएको हो ।

अहिलेको परिस्थितिमा चलचित्र बनाउँदा सबै कलाकारलाई अहिलेको समयमा ढाल्नु पर्यो । अहिले परिस्थितिमा फरक फरक पुस्तालाई समायोजन गर्नु सबैभन्दा गा¥हो काम थियो । मैले ती सबै उमेर पार गरेकाले पनि सजिलो भयो । किनभने नाटकमा अभिनय गर्दा म १४,१५ वर्षको थिए । त्यो अनुभव पनि ममा थियो । त्यतिबेला हामी अहिलेको पुस्ताको जस्तो ‘एडभान्स’ थिएनौँ ।

त्यतिबेला टेलिभिजन हुने घरमा सिनेमा हलमा झैँ मानिसहरूको भीड लाग्थ्यो । अहिले त ‘अल्ट्रा मोडन’ समय आइसकेको छ । प्रविधिसँग भने आफूलाई परिचित नै राखेको थिएँ ।

त्यो कुरा सक्किइसक्यो
‘जय भोले’ दशैंमा आउँछ । दशैंमा कुन दिन भन्ने प्रश्न छ । मितिको छिनोफानो भइसकेको छैन । किनभने अर्काे चलचित्र ‘छक्का पन्जा ३’ले दशंै भनेको छ । अब भने मैले अथावा ‘छक्का पन्जा ३’ टिमले कुरा चपाउनुपर्ने कारण छैन ।

रिलिज दशैं भनेपछि दुवै चलचित्र दशैंमा आउने हो । हामी दुईबीच कुन दिन र कुन बार भन्ने विषयमा खिचातानी छ । दुवै फिलम दशैंमा आउँछ । दर्शकसमेत प्रष्ट छन् । केही पहिले हामी दुवैले बसेर एउटा सहमती गरेको पनि हो, घटस्थापनाको भोलिपल्ट दुवै चलचित्र ल्याउने भनेर । त्यसपछि पनि डेट निश्चित भएन । ‘छक्का पन्जा’ टिमलाई मेरो अनुरोध के छ भने हामी अलमलमा अब नबर्सौं । दुवै चलचित्र दशैंमा आउने हो ।

मिति ‘फाइनल’ गर्रौं । यस अगाडि मेरा धेरै चलचित्रहरू  दशैंमा रिलिज भएको थियो । त्यो समय ४ चलचित्र भिड्दा पनि तीनले राम्रो सफलता पाएको थियो । एक चिप्लिएको पनि चलचित्र नराम्रो भएर हो । 
दशैंमा दर्शक उत्सवको मुडमा हुने र ५, ६ दिन बिदा हुने भएकाले दर्शकलाई एक चलचित्रले पुग्दैन । एउटा कुरो के हो भने चलचित्र राम्रो भने हुनुपर्छ । दुइटा आउँदा केही फरक पर्दैन । हामी मिति तोकेर जाऊँ । जुन दिन मिल्छ त्यही दिन रिलिज गरांै । दशैंमा नआउने भन्ने कुरा अहिले सक्कि सक्यो ।

म दीपक (राज गिरी) लाई के अनुरोध गर्छु भने हामीले अब बाहिर सकारात्मक सन्देश दिनुपर्छ । दुवै चलचित्र ल्याउँछौं, दुवै हेर्दिनुस् भनेर । अहिलेको समयमा यो नै राम्रो उपाय हो ।

दर्शक चलाख छन् 
अहिले पनि फिल्मको दर्शक घटेका छैन । प्रचारमा चलचित्र राम्रो भनिन्छ तर प्रदर्शनमा नराम्रो पाइन्छ । यस्तो अवस्थामा दर्शक निश्चय नै घट्छ । दर्शकमा पहिला जे धारण हुन्छ, त्यो नपाएपछि दर्शक घट्छन् । 

अहिलेका दर्शक निकै चलाख छन् । उनीहरूले कुन चलचित्र राम्रो छ, कुन छैन भन्ने कुरो प्रदर्शन अगाडि नै दिमागमा सोचिसकेका हुन्छन् । नत्रभने हामीले राम्रो हुनसक्छ भनेको फिल्मले पहिलो दिन त ‘बम्पर ओपनिङ’ गर्नुपर्ने हो नि ? तर पहिलो दिनमै दर्शक हुँदैनन् । 

मेरो बुझाइमा हामीले राम्रो भनेको चलचित्र राम्रो बनेन । त्यसले गर्दा दर्शक आएनन् । अहिले व्यवसाय पनि बढेको छ । जनता बढेका बढै छन् । चलचित्र हलको पनि सङ्ख्या थपिएको छ । फिल्म पनि धेरै बन्न थालेको छ । यस्तोमा दर्शक कसरी घट्छ ? 
   
यो ध्रुवसत्य हो 
निर्माता निर्देशकले दर्शकलाई केही हदसम्म अन्याय गरेका छन् । लगातार नराम्रो चलचित्र दिएपछि दर्शकको मोह भङ्ग हुँदै जान्छ । अहिले त्यही भएको हो । राम्रो चलचित्र आइरह्यो भने दर्शक बढिरहन्छन् । यो ध्रुवसत्य हो । 

हामीले बनाएको सयवटा चलचित्रमा ५ वटा मात्र दर्शकको चाहनासँग मिल्छ । यो हाम्रै फिल्मकर्मीहरूको कमजोरी हो । चलचित्र बनाउनु भनेको मजाक होइन । यो सिर्जनात्मक काम हो । पैसाले मात्र फिल्म बन्दैन, सिर्जनाले बन्ने हो । पैसा माध्यम मात्र हो । यहाँ पैसाले धेरै फिल्म बन्यो । जसको नतिजा सबैका सामु छँदैछ ।

प्रचारले फिल्म चल्दैन
अहिले प्रचारले चलचित्र चलाउने अभ्याससमेत हुन थालेका छन् । तर यसरी पनि चल्दैन । सामान राम्रो भए मात्र प्रचारले बल पुग्ने हो । नराम्रो सामानको प्रचारले मात्र केही हुँदैन । ठूलो झड्का दिन्छ । हामीले ‘स्क्रिप्ट’मा मिहिनेत गर्नु पर्यो । फ्लोरमा निस्कनु अगाडिको ‘सेटअप’मा ध्यान दिनु पर्यो । हामी ‘स्टार’ कलाकार र मितिमा ध्यान दिन्छौं । त्यसकारण हाम्रो कथा बलियो हुन सकेन । हाम्रो प्रस्तुति सशक्त हुन सकेन ।

‘जय भोेले’ हेर्नुपर्ने ३ कारण
‘जय भोले’ हेर्नुपर्ने ३ कारण छन्, जुन यसको गीत, टिजर र टे«ेलरबाट पनि अनुमान गर्न सकिन्छ । मैले भन्नुपर्दा ‘जय भोले’मा सशक्त कथा छ । त्यसको मूल कथा अहिले हामीले गोप्य राखेका छौं । दोस्रो कारण चलचित्रमा ‘स्टार’हरूले होइन, बलियो अभियनले भरिएको छ । तीन पुस्ताका राम्रा कलाकारहरूले भरिएका छन् । तेस्रो कारण यो ‘ह्युमरस’ चलचित्र हो । यो चलचित्रले ‘सिच्युयसन’ अनुसार हसाउँछ । हावा संवाद, दुई अर्थ लाग्ने अश्लील संवाद यसमा छैन । यसले फिल्म हेर्ने दर्शकलाई जीवन उपयोगी सन्देश समेत दिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप