बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकैसाथ गच्छदारलाई छाड्दैछन् कार्यकर्ताले, भानुरामको पार्टी विश्रामस्थल बन्दै

शुक्रबार, ०५ असोज २०७५, १५ : १७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– पार्टी एकीकरण भएको झण्डै एक वर्ष हुन लागेको छ तर विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपालाई काँग्रेसमा समायोजन गर्ने साइत हालसम्म जुरेको छैन ।  काँग्रेस सभापति शेरबहादुरले देउवाले आज–भोली, आज–भोली भन्दाभन्दा एक वर्ष वितिसक्यो तर समायोजन हुने कुराको टूँगो अझै लागेको छैन । 

पार्टी समायोजन नहुँदा गच्छदारसँग रहेका नेताहरु आ–आफ्नो बाटो लाग्न थालेका छन् । भदौ २८ गते बस्ने कार्यसम्पादनको बैठकबाट लोकतान्त्रिक फोरमलाई समायोजन गराउने लगभग तय थियो तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अमेरिका भ्रमणमा गएको कारण त्यो पनि स्थगित भएको बताइएको छ । 

हुन त वैशाख २१ गतेनै समायोजन गर्ने कुरा थियो तर हालसम्म भएको छैन, तत्कालिन फोरमका कार्यालय सचिव परमानन्द मेहताले भने, ‘पार्टी एकीकरण भएदेखि समायोजनको डेट फिक्स हुन्थ्यो तर हालसम्म भएको छैन । एकीकरण भएपछि आगामी हप्ता, अर्को हप्ता भन्दा भन्दै यत्रो दिन वितिसक्यो अब त लोकतान्त्रिक फोरमका नेताहरु आत्तिन थालेका छन् ।’

गच्छदार पक्षका एक नेताले भने– ‘फोरम लोकतान्त्रिकका नेतालाई काँग्रेसले समायोजन गर्ने छैन । हामी अहिले रामचन्द्र पौडेललाई पर्खेर बसेका छौं । उहाँ फर्केपछि सोह्र श्राद्ध शुरु हुनेछ, पार्टीका बाहुन नेताहरु सबै त्यसैमा लाग्नेछन् । त्यसपछि दशैं शुरु हुन्छ । मंसिरसम्म पर्व तिहार चलिरहने भएका हुनाले यो समायोजन नहुने निश्चित छ । त्यसबेलासम्म सबै नेताहरु आ–आफ्नो बाटो लाग्छन्, अन्त्यमा गच्छदार मात्र बाँकी रहन्छ ।’

मंसिर ९ गते काँग्रेसको महासमिति बैठक बस्ने मिति तय भएको छ । त्यति बेलासम्म पनि पार्टी समायोजन भएन भने कोही बाँकी रहँदैन । गच्छदार पक्षका एक नेताले भने, ‘काँग्रेसको महासमितिको बैठक भन्दा उता जान सकिँदैन ।’

नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका विजयकुमार गच्छदार मधेश आन्दोलनपछि २०६४ सालमा मधेशी जनअधिकार फोरम नेपालमा गएका थिए ।  उनी त्यहाँ हुन्जेल पनि सत्ताका खेलाडीका रुपमा चिनिए । सत्ताकै लागि फोरम नेपाललाई विभाजित गरेर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए । तर उनले आफ्नो पार्टीलाई पनि १० वर्ष टिकाउन सकेनन् । नवौं वार्षिक उत्सव मनाएर उनी फेरि नेपाली काँग्रेसमै फर्केका थिए । 

मधेशवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बनेको भए गच्छदारले काँग्रेससँग एकीकरण गर्ने थिएनन् । मधेशवादी दलसहितको गठबन्धन भएको भए गच्छदारलाई पनि चुनाव जित्न सजिलो हुन्थ्यो । तर जब मधेशवादी दलले लोकतान्त्रिक गठबन्धनबाट अलग भएर आफ्नै छुट्टै गठबन्धन बनाए, त्यसमा गच्छदारको पार्टीलाई समावेश नगरेपछि उनले बाध्य भएर काँग्रेससँग एकीकरण गरेका थिए ।

३४४ केन्द्रीय सदस्यसहित गच्छदार काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । त्यसमध्ये धेरै नेताहरु भानुराम थारुले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टीमा फर्केका हुन् । भानुराम थारु गच्छदारको पार्टीमा प्रवेश गरेका थिए । तर, जब गच्छदारले काँग्रेससँग एकीकरण गरे अनि भानुराम थारुले छुट्टै पार्टी बनाएका थिए ।

अहिले गच्छदारसँग रहेका नेताहरुका लागि भानुराम थारुको पार्टी विश्रामस्थलजस्तै भएको छ । मंसिरसम्म एकीकरण नभए धेरै नेता–कार्यकर्ताहरु त्यहीँ फर्केर पार्टी बनाउने तयारीमा रहेका छन् ।  यद्यपि, नेता गच्छदारले अझै पनि विकल्प खोज्नमा हतार नगर्न आफ्ना नेताहरुलाई आग्रह गरिरहेका छन् । तर गच्छदारको त्यो आग्रहलाई नेताहरुले अब स्वीकार गर्ने अवस्था छैन ।

गच्छदारले आफ्नो पक्षबाट प्रतिनिधिसभाको प्रत्यक्षमा आफूसहित ३ जना र प्रदेशसभाको प्रत्यक्षमा ६ जना उम्मेदवार बनाएका थिए । त्यसमध्ये जसोतसो उनी मात्र जिते भने अरु सबै पराजित भएका थिए । 

गच्छदारको तर्फबाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार बनेका ६ जनामध्ये एकजना चुमनारायण तवदार मात्र मोरङबाट विजयी भएका थिए ।

अरु पाँचैजना पराजित भएका छन् । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नामावलीमा दुईजनाको नाम राखिएको छ ।

मधेशी कोटामा भर्तेन्दु मल्लिक र थारु कोटामा सुमित्र विश्वासको नाम राखिएको छ । त्यस्तै, प्रदेशसभाको समानुपातिकमा ७ जनाको नाम राखेका छन् । तर त्यसमध्ये कसैलाई समानुपातिक सदस्य बनाइएन ।

फोरम लोकतान्त्रिकका महासचिव रहिसकेका भर्तेन्दु मल्लिकले भने, ‘पार्टी एकीकरण हुँदा ७ जना समानुपातिकमा दिने सहमति भएको थियो, त्यसमध्ये २ जनाको नाम मात्र हालिएको थियो, त्यही दुईजनाको नाम पनि परेन ।’

पार्टी एकीकरण गर्ने समयमा केन्द्रीय समितिमा १५ जना राख्ने सहमति भएको हो तर हालसम्म त्यो पनि कार्यान्वयन नभएको मल्लिकले गुनासो छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप