शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डको गिरफ्तारी शङ्काको घेरामा !

शुक्रबार, ०५ असोज २०७५, ११ : २५
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउलाई लिएर उनकै पार्टीभित्र प्रश्न उठेको छ । पार्टी मूल नेतृत्वको निर्देशन विपरीत प्रकाण्ड काठमाडौं आएकै बेला उनी पक्राउ परेको नेकपा निकट स्रोतले बताएको छ । 

‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौं आउनु भएको रहेछ । त्यहीबेला उहाँ प्रक्राउ पर्नुभयो । पाटीभित्र उहाँको पक्राउलाई लिएर केही आंशका छन् ।’ विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए । 
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दोस्रो बरियतामा रहेका नेता तथा पार्टी प्रवक्ता प्रकाण्डलाई प्रहरीले चन्दा उठाएको आरोपमा साउन २२ मा पक्राउ गरेको थियो । प्रकाण्डसँगै चालक मानबहादुर श्रेष्ठ र सहयोगी हिराचन्द्र आचार्य पनि पक्राउ परेका थिए । हेटौंडाबाट पार्टीको कार्यक्रम सकेर काठमाडौं फर्कंदै गरेका प्रकाण्ड र उनका सहयोगीलाई प्रहरीले टौदहबाट नियन्त्रणमा लिएको थियो ।

पार्टीका सबैजसो नेताहरू अर्धभूमिगत अवस्थामा रहेको बेला प्रकाण्ड काठमाडौँ जान हतार गर्नुलाई उनको पार्टीभित्र शङ्काको दृष्टिले हेरिएको छ । त्यसो त केही राजनीतिक र सङ्गठनात्मक मुद्दामा विप्लव र प्रकाण्डबीच मतभेद पनि थियो । साउन २९ गते अदालतको आदेशबाट रिहा भएलगत्तै प्रक्राउ परेका प्रकाण्डलाई प्रहरीले ३१ गते जिल्ला अदालत उदयपुरमा हाजिर गराएको थियो । त्रियुगा नगरपालिका–१३ हवाई मैदानमा भएको बम विस्फोटनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । उनलाई जिल्ला अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । प्रवक्ता विश्वकर्मलाई उदयपुर अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएकै दिन काठमाडौंमा चाहिँ थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको थियो ।  

पार्टीको गोप्य योजना प्रहरीको हातमा

त्यसैबीच नेकपाले पार्टीका महत्वपूर्ण फौजी योजनासहितका कागजात पनि प्रहरीले प्रकाण्डबाट बरामद गरेको दाबी सो पार्टीको छ । ‘पार्टीका महत्वपूर्ण योजनासहितका कागजात प्रहरीको हातमा पुगे भन्ने नेतृत्वको  निष्कर्ष छ ।’ ती नेताले भने, ‘विगतका केही फौजीकारवाहीदेखि आगामी योजनासम्म चुहिएको आशङ्का छ ।’

विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रूपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको प्रहरीको दाबी थियो । सुरुमा उनलाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भएको थियो । पछि विभिन्न मुद्दामा अरू जिल्लामा समेत पुर्याइएको थियो । प्रहरीले सर्वोच्च अदालतमा बुझाएको डकुमेन्टमा चन्दाको विवरण थियो जुन प्रकाण्डको गाडीबाट प्रहरीले बरामद गरेको थियो । प्रकाण्ड सो पार्टीका आर्थिक विभाग प्रमुख पनि हुन् । आर्थिक पारदर्शिताको विषयमा उनीमाथि यस अघि पनि प्रश्न उठने गरेको थियो । 

प्रहरीले सर्वोच्च अदालतमा बुझाएको डकुमेन्टमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको २०७२ चैतदेखि २०७५ असारसम्मको आयविवरण उल्लेख छ । चन्दादाताको नामसमेत खुलाइएको छ ।  डकुमेन्टमा व्यक्तिगतदेखि संस्थागत प्राप्त सहयोग रकमको रेकर्ड छ । विभिन्न उद्योग, होटल, रेस्टुरेन्ट, अस्पताल, हाइड्रो कम्पनी, क्यासिनो, इन्स्योरेन्स कम्पनी, विभिन्न व्यवसायी घराना, हाउजिङ, सिमेन्ट उद्योग, रक्सी उद्योग, औषधि उद्योग, कर्पोरेट मिडिया हाउस, एजनजीओ÷आईएनजीओ, बैङ्क, सहकारी, फाइनान्सबाट सहयोग प्राप्त भएको उल्लेख छ । डकुमेन्टमा ठेकेदारले धेरै रकम उपलब्ध गराएका छन् । केन्द्रीय आर्थिक विभागको रेकर्डमा सो पार्टीको विभिन्न ब्युरोबाट प्राप्त रकमको पनि उल्लेख छ । 

उक्त रकमसहित २०७२ चैतदेखि २०७५ असारसम्म सो पार्टीको आय सात करोड ७६ लाख, १४ हजार चार सय ४४ रुपैयाँ छ । विवरण अनुसार दुई वर्षभन्दा बढी समयमा सङ्कलन भएको रकम हो । यो प्रकाण्ड एक्लैले नभएर उनको पार्टीका अन्य नेता–कार्यकर्ताले देशभरबाट सङ्कलन गरेको रकम हो ।  

सबैभन्दा अनौठो त यो छ कि यो अवधिमा सो पार्टीले पाँच करोड, ४१ लाख, १८ हजार चार सय ४४ रुपैयाँ खर्च गरेको छ । सानो सङ्गठनको यो पार्टीको यो खर्च आफैमा अस्वभाविक छ । विवरणअनुसार असार मसान्तसम्म यो पार्टीको बचत दुई करोड, ३४ लाख, ९६ हजार रुपैयाँ छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रमअन्तगर्त सो पार्टीले साउन २९ गते नेपाल बन्द गरेको थियो । 

यो पनि पढ्नुहोस्

विप्लवका सारथी हेमन्तप्रकाश ओली भन्छन् –‘हामीले चाहेको भए प्रचण्ड, बादल र केपी ओली सबै सकिन्थे’

वार्ताको प्रयास कायमै
त्यसैबीच सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको तयारी पनि भइरहेको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच प्रकाण्डलाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने सहमति भएको बताइएको छ । जब कि प्रकाण्ड पक्राउ परेको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापाले अपराध गरेको आधारमा प्रकाण्ड पक्राउ परेको बताएका थिए । ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो । त्यसकारण अपराधीहरूलाई नियन्त्रण गर्ने प्रक्रियामा ती घटना हुने गर्छन् । निश्चित रूपमा उनीहरू अपराधी हुन् । जसले कानुन उल्लङ्घन गर्छ, जसले विधि उल्लङ्घन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ । प्रकाण्डलाई समात्नुका पछाडि चन्दा आतङ्क र ध्वंशात्मक गतिविधिमा यो समूह लागेको छ, राज्य विरुद्ध लागेको छ । उनी वारेन्टेड पनि थिए । यसै सन्दर्भमा उनी गिरफ्तार भएका हुन् ।’ साउन २५ गते चितवन पुगेर गृहमन्त्री थापाले प्रतिक्रिया दिएका थिए । 

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता–कार्यकर्ता रिहाइलाई वार्ताको पूर्वशर्त मानेको छ । केही दिनअघि सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाका केही नेताबीच अनौपचारिक संवाद भएको थियो । यस्तो वार्तामा विप्लव नेतृत्वको नेकपाले सरकारले आफ्नो पार्टीलाई राजनीतिक पार्टी या हिंसात्मक समूह कुन रूपमा हेरेको भन्ने स्पष्ट हुनुपर्ने पहिलो शर्त राखेको छ । त्यसबाहेक पक्राउ परेका पार्टी प्रवक्ता प्रकाण्ड, पदम राई, किरण राई, उमा भुजेलसहित पोलिटब्युरो र केन्द्रीय तहका नेताका साथै सबै कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने दोस्रो शर्त छ र तेस्रो शर्तमा विनाअवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने भन्ने छ । पछिल्लो समय सरकारले आफ्ना ५० भन्दा बढी नेता–कार्यकर्तालाई झुटा आरोपमा पक्राउ गरेको नेकपाले दाबी गरेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप