शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका राष्ट्रिय गौरवका आयोजना किन पूरा हुँदैनन् समयमा ?

शुक्रबार, ०५ असोज २०७५, ११ : १५
शुक्रबार, ०५ असोज २०७५

तेजेन्द्र केसी

बुटवल– प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका ५ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् तर कतिपय आयोजना सुरु गरेको तीन दशक बित्दासमेत सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय गौरवका यी आयोजनाको प्रगति २५ देखि ८० प्रतिशतसम्म मात्रै भएको  छ ।

ठूला ५ आयोजनामध्ये लुम्बिनी विकास आयोजनाको काम २०४२ सालबाट सुरु भएको हो । तर अझै पूरा भएको छैन । योबाहेक यहाँ तीनवटा राष्ट्रिय सिंचाइ आयोजना छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिक्टा सिंचाइ अयोजना यही प्रदेशमा पर्छन् ।

५ नम्बर प्रदेशका आयोजना उपाध्यक्ष डा. प्रकाश श्रेष्ठका अनुसार प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये बजेटका हिसाबले सबैभन्दा ठूलो लुम्बिनी विकास आयोजना भए पनि काम सबैभन्दा ढिलो भएको छ । उनका अनुसार सिक्टा सिंचाइ आयोजना पनि समस्याग्रस्त अवस्थामा रहेको छ ।

अन्य आयोजनाहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई र बबई आयोजना मध्यम रूपमा रहेका छन् । पछिल्लो पटक नेकपाका नेता केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका कामलाई तीव्रता दिने घोषणा गरिरहे पनि ५ नम्बर प्रदेशका आयोजनाको काम कछुवाको गतिभन्दा फरक छैन ।

कुन आयोजनाको अवस्था कस्तो ? 

२०४२ सालबाट सुरु भएको प्रदेशकै सबैभन्दा ठूलो लुम्बिनी विकास आयोजनाको काम ८० प्रतिशत मात्रै सम्पन्न भएको छ । झण्डै ३३ वर्षअघि सुरु भएको यो योजना पूरा गर्न अझै कम्तीमा ४ वर्ष समय लाग्ने अझै ६ अर्ब १९ करोड खर्च हुने विकास कोषका आयोजना प्रमुख सरोज भट्टराई बताउँछन् ।

पटक पटक हुने राजनीतिक नियुक्ति र बजेट अभावका कारण यो आयोजना पूरा हुन ढिलाइ भएको आयोजनाको दाबी छ । पछिल्लो समय आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको लुम्बिनी विकास कोषसँग प्रदेश सरकारसमेत असन्तुष्ट बनेको छ । यद्यपि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गरेर धेरै पर्यटक भित्र्याउन सकिने प्रदेश सरकारको विश्वास छ । प्रदेश सरकारले सुरुदेखि यो आयोजनाको प्रगति विवरण मागेको प्रदेश आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए । कोषका योजना प्रमुख भट्टराईले आयोजनाअन्तर्गत लुम्बिनीमा विभिन्न संरचना बन्ने क्रम जारी छ ।

ढिलाइ हुनुका कारण यस्ता छन् 

सरकार र पर्यटन मन्त्री परिर्वतन भइरहनु यसको प्रमुख कारण मानिएको छ । पर्यटन मन्त्री फेरिएसँगै कोषको नेतृत्वसमेत परिवर्तन हने र असहयोग गर्ने चलनका कारण आयोजनाले गति लिन नसकेको सरोकारवालाहरूको भनाइ छ । त्यस्तै आयोजना ढिलाइ हुनुमा बजेटलाई पनि देखाउने गरिएको छ । लुम्बिनी क्षेत्र विकास कोषका योजना प्रमुख भट्टराईले सुरुमा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार  स्रोत नजुटेको र स्थानीयस्तरको सहभागितासमेत जुट्न नसकेकाले आयोजना समयमै सम्पन्न हुन नसकेको हो । यस्तै गत १५ वर्षदेखि कोषमा स्थायी पदपूर्ति  समेत हुन सकेको छैन । यसले पनि काममा बाधा परेको छ ।

सिक्टामा समय कम, काम धेरै

५ नम्बर  प्रदेशमा रहेको अर्को महत्वपूर्ण आयोजना हो  सिक्टा सिंचाइ आयोजना । बाँकेमा रहेको सिक्टा सिंचाइको प्रगति ५७ प्रतिशत मात्रै छ । २५ अर्बको लागतमा  नेपाल सरकार र केही विदेशी ऋण अनुदानमा बन्न थालेको सिक्टा आयोजना बेलाबेला विवादमा पनि आउने गरेको छ ।

०६२/०६३ बाट सुरु भएको यो आयोजना ७७ सालमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाका प्रवीण श्रेष्ठले बताए । ४२ हजार ७६५ हेक्टर क्षेत्रफलमा सिंचाइ पुर्याउने उद्देश्यले निमार्ण गर्न थालिएको यो आयोजना पूरा हुँदा यस क्षेत्रको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । 

सिंचाइसँगै वातावरण बचाउने पनि यस आयोजनाको उद्देश्य हो । तर यो आयोजना पनि तोकिएको समयमा पूरा हुनेमा प्रदेश सरकार स्वयम् विश्वस्त हुन सकेको छैन । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

यो क्षेत्रको अर्को महत्वपूर्ण आयोजना हो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । निर्माण कार्य धमाधम भइरहेको यो आयोजना आगमी ८ महिनाभित्रै सम्पन्न हुने आयोजना प्रमुखको दाबी छ । पटक पटक  आयोजनको म्याद थपिएको यो आयोजनालाई समयमै काम सक्न सरकारले ठूलै दबाब दिइरहेको छ ।

आयोजनाका निमित्त प्रमुख बरिष्ठ अधिकृत प्रवीण अधिकारीकाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सकिएको छ । विमानस्थलको रनवे, पार्किङस्थल र वेटिङ हलको काम र पर्खाल पनि तयार भएको छ । 

निर्माण पक्षका अनुसार कुनै व्यवधान नआए २०७६ जेठ १८ गतेभित्र यो विमानस्थलबाट सेवा सुरु हुनेछ । 

भेरी–बबई डाइभर्सन

यो प्रदेशमा पर्ने १२ जिल्लामध्ये तराईका जिल्लामा सिंचाइ उपलब्ध गराउने अर्को महत्वपूर्ण आयोजना हो, भेरी–बबई डाइभर्सन ।  तीन ठूला सिंचाइ आयोजनामध्ये सानो आयोजनामा पर्छ भेरी–बबई डाइभर्सन । सिंचाइ र विद्युत् उत्पादन दुवैका हिसाबले उपयुक्त मानिएको यो आयोजनाको काम हालसम्म २५ प्रतिशत मात्रै भएको छ । आयोजनाका कर्मचारी प्रकाश पुडासैनीका अनुसार अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो आयोजनाले बर्दियाको ४१ हजार र बाँकेको १० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ पु¥याउने लक्ष्य राखेको छ ।

अर्को बबई सिंचाइ आयोजना

यही प्रदेशमा रहेको अर्को आयोजना हो बबई सिंचाइ आयोजना । यसको त गुरुयोजना नै संशोधन भएको छ । १२ अर्ब ३६ करोडको यो आयोजनाको काम हालसम्म ५८ प्रतिशत मात्रै भएको छ । आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठका अनुसार ०७८ सम्ममा काम सम्पन्न गर्ने गरी काम भइरहेको छ । अहिलेसम्म यो आयोजनामा ७ अर्ब खर्च भइसकेको छ । ‘नेपालको पानी नेपालमै’ भन्ने नारालाई कार्यान्वयन गर्न पनि आयोजनाको कामलाई  तीव्रता दिएको प्रमुख श्रेष्ठको भनाइ छ । यो आयोजनाबाट ५ नम्बर प्रदेशका जनता निकै आशावादी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप