केन्द्रीय संस्करण

विनोद चौधरीको भवनमा ड्युटी गर्ने एक धावक : जसले २ सय १८ दिनमा ७५ जिल्ला दगुरे

person access_timeअसोज ५, २०७५ chat_bubble_outline0

कुलबहादुर शाही । वर्ष ३० । घर तातोपानी ३ जुम्ला । काठमाडौंमा सेक्युरिटी गार्डको जागिर । देश दगुरेर छिचोल्ने लक्ष्य लिएर २०६८ साल पुस २५ गते जुम्लाबाट दौड सुरु गरेको । २०६९ साल साउन २१ गते काठमाडौंको बबरमहलमा पूरा गरेको । 

कुलबहादुर शाही जाउलाखेलमा बन्दै गरेको विनोद चौधरीको एक भवनमा रातिको सुरक्षाका लागि त्यसतर्फ दगुरिरहेका थिए । कुपन्डोलमा रातोपाटीको कार्यालय देखेपछि अर्को दिउँसो आए र आफ्नो कथा सुनाउन थाले । 

उनले भने– ‘म ३ मिनेट भित्रमा ७७ जिल्लाको नाम र त्यसको सदरमुकामको नाम भन्न सक्छु ।’ उनले खुरुखुरु जिल्लाको नाम भने । उनले दगुरेरै ७५ जिल्ला सदरमुकाम पुगेको कथा सुनाए ।  

उनी जुम्ला बहुमुखी क्याम्पसमा बीएड तहमा पढ्दै थिए । अचानक केही नौलो काम गरेर नाम राख्ने हुटहुटी चल्यो । पढ्दा पढ्दै उनले ७५ जिल्ला दगुर्ने सपना बुने । 

उनले भने– ‘मान्छे जन्मिएपछि केही न केही नाम कमाउन खोज्छ, मान्छे मरेर गइसकेपछि उसको नाम रहिरहन्छ, जे गर्नुपर्छ बाँचुञ्जेल नै गर्नुपर्छ भनेर मैले पनि यो काम सुरु गरेको थिए ।’ 

उनी दोलखाका पुष्कर शाहले विश्व साइकल यात्रा गरेको टिभीमा हेर्थे । 

उनकै प्रेरणाबाट आफूले नयाँ काम गरेर नाम राख्नु प¥यो भनेर दौड सुरु गरेको बताए । 

‘पुष्कर शाहले एउटा साइकल विश्वभरी कुदाएर नाम राख्नुहुन्छ भने म पनि नयाँ काम गरेर नाम राख्छु भन्ने सपना देखेँ ।  मेलै मेरो देशका ७५ जिल्ला दगुरेर नाम कमाउँछु भनेर दौड सुरु गरेको थिएँ ।’ उनले भने । 

उनले आफ्नो कथा यसरी सुनाए– ‘मैले दौड सुरु गर्दा घरमा आर्थिक अवस्था एकदम कमजोर थियो । मेरो बाबाले मलाई १५ सय रुपैयाँ दिनुभएको थियो । दिदीले १८ वटा जौ र कोदोको रोटी बाटोमा खान चाहिन्छ भनेर झोलामा हालिदिनुभएको थियो । २ बोतल पानी, एक प्याकेट चाउचाउ बोकेँ । 

जुम्लामा पत्रकार सम्मेलन गरेँ । पत्रकार महासङ्घको अध्यक्ष बरमबहादुर महत र डीबी बुढाले पत्रकार सम्मेलनमा ७५ जिल्ला दगुर्ने जानकारी दिएँ । 

जुम्लाबाट सुरु गरेर काठमाडौंको बबरमहल आइपुग्दा २ सय १८ दिन लाग्यो ।  

शनिबारको दिन आराम गर्थेँ, शनिबारको दिन नगन्ने हो भने १ सय ८० दिन हुन्छ । दैनिक ६८ किलोमिटर हाराहारीको दरले दगुरँे । 

मेची–महाकाली मात्र पनि १ हजार ३० किलोमिटर छ । भित्र–भित्र पनि दगुरेको हुँदा मैले १० हजार किलोमिटर पार गरेको छु । 

दौड सुरु गर्दा जुम्लामा महादेव पन्थ सीडीओ थिए । उहाँले बिदाइ गर्नुभएको थियो । काठमाडौंमा भने चूडामणि शर्मा सीडीओ थिए । म जुन जुन जिल्लामा पुग्थेँ, त्यहाँको प्रहरी कार्यालयमा बास बस्थेँ ।

मैले दौड सुरु गर्दा देशमा अशान्ति थियो, नेताहरू बीच मेलमिलाप थिएन । नेपालमा शान्ति होस भनेर दौड सुरु गरेको थिएँ । 

खान बस्नका लागि म जिल्लामा रहेका इलाका प्रहरी कार्यालयमा जान्थेँ । म जुन जिल्लामा पुग्थेँ, त्यहाँको सदरमुकाममा पुगेर जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक प्रमाणपत्र लिन्थेँ । मैले ७५ जिल्ला पुगेर प्रत्येक जिल्लामा पाएको प्रमाणपत्र सुरक्षित राखेको छु । 

सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले मैले दगुरेर सो जिल्ला पुगेको प्रमाणपत्र लिएर प्रधानमन्त्री कार्यालयमा गएको थिएँ । मैले गरेको कामलाई कसैले मतलब गरेनन् । 

पहिलाका खेलकुद मन्त्री रामकुमार श्रेष्ठलाई भेट्दा एउटा जागिर लगाइदिन्छु भनेका थिए । रिपोटर्स क्लबमा सम्मान कार्यक्रम पनि गरिएको थियो । तत्कालीन खेलकुद मन्त्री श्रेष्ठले प्रमाणपत्रसहित सम्मान गरेका थिए । 

उनले देशको लागि सकारात्मक सन्देश दिने तपार्इंलाई जसरी भए पनि एउटा खाली कोटामा जागिर मिलाइदिन्छु भनेका थिए । जिल्ला विकास समितिमा खाली कोटामा हालिदिन्छु भनेका थिए । धेरै आस देखाए । प्रधानमन्त्री कार्यालयमा पनि लगातार २ हप्तासम्म गएँ तर मेरो कुरा कसैले सुनेनन् ।  

जहिले जाँदा पनि  सिंहदरबारमा गेटपास माग्ने, भित्र छिर्न पनि ठूलो सकस पर्ने । पछि फेरि मन्त्रीलाई भेटेँ तर उनले जागिरको कोटा खाली छैन भनेर पठाए । त्यसपछि मेरो मन धेरै आत्तियो । २०६९ साल भदौबाट सेकुरिटी गार्डका रूपमा काम गर्न थालेँ ।

महावीर सेक्युरिटी कम्पनीमा काम गर्छु । कम्पनीका डाइरेक्टर सुरेश गिरीले खाने र सुत्ने ठाउँको व्यवस्था गरे तर तलब धेरै छैन । 

म ड्युटीमा जाँदै थिएँ, यहाँ रातोपाटीको कार्यालय देखेँ र दुःख सुनाउन आएको । मलाई सरकारले केही सहयोग गर्ला कि भन्ने आशा थियो तर केही भएन । 

बानेश्वरमा मेरो अफिस छ । म त्यही अफिसमै सुत्छु । खाना होटेलमा खान्छु । अहिले पनि म हिँड्दै आएको हुँ । दिनमा पनि म हिँड्दै आउँछु । बिहान ड्युटी जाँदा पनि म दगुर्दै जान्छु ।

कहिल्यै गाडी नचढ्ने 

मलाई काठमाडौंका सबै ठाउँ थाहा छ । जाउलाखेलबाट बिहान सतुङ्गल पनि दगुरेर जान्छु र साँझ पनि यहाँसम्म दगुरेर नै आइपुग्छु । अहिले म जाउलाखेलमा विनोद चौधरीको बन्दै गरेको बिल्डिङमा ड्युटी गर्छु । होममेकर भन्ने छ । दिनमा म बानेश्वर अफिसमै सुत्छु, राति यता ड्युटी गर्छु । 

अहिलेसम्म काठमाडौँमा मेरो कोठा छैन । सेक्युरिटी गार्डको काम गरेर खान मात्र ठिक्क हुन्छ । महिनाको १२ हजार मात्र दिएको छ । खानामा ६ हजार रुपियाँ खर्च हुन्छ, २ हजार रुपियाँ खाजा खानुपर्छ । २ हजार साबुन, मञ्जन लगायत खुद्रा सामानमै खर्च भइहाल्छ । २ हजारले केही पनि पुग्दैन । कहिलेकाहीँ मन साह्रै आत्तिन्छ । 

सरकारले पनि केही गरिदिएन भनेर सोच आउँछ । 

परिवारमा दाइ, बाबा, बहिनी, दिदी हुनुहुन्छ, आमा हुनुहुन्न । म घरको कान्छो छोरा । मेरो दाइ गाउँमा अस्थायी शिक्षकका रूपमा काम गर्नुहुन्छ प्रावि तहमा । 

म अहिले ३० वर्षको भए । 

नेपाल सरकारले अहिलेसम्म केही सहयोग नगरे पनि मैले एउटा रेकर्ड कायम गरेँ । २ सय १८ दिनमा ७५ जिल्ला कसैले पनि पार गरेको छैन भनेर सम्झन्छु र यसमै चित्त बुझाउने गरेको छु ।  

विभिन्न दौड प्रतियोगितामा सहभागी  

मैले जनकपुरमा भएको कन्ट्री म्याराथुनमा दगुरेँ । चौथो स्थानमा आएँ । ४२ किमि दौड थियो । रामानन्द चोकबाट दगुरेर ढल्केबर पुग्ने र रामानन्द चोक फर्किने थियो । खर्चको अभाव भएर एकजना साथीसँग ५ सय रुपियाँ मागेर त्यहाँ गएको थिएँ । 

सुन्दरीजलमा भएको १० किलोमिटर दौड प्रतियोगितमा पनि भाग लिएँ  । गोकर्ण खेलकुद विकास समितिले कार्यक्रम गरेको थियो त्यो । त्यहाँ दशौँ स्थानमा आएँ । पोखराको धम्पुसमा ७० सालमा भएको प्रतियोगितामा दगुरेँ । त्यहाँ छैटौँ स्थानमा आएँ । ७१ सालमा सोही ठाउँमा गरेको अर्को दौड प्रतियोगितामा तेस्रो स्थानमा आएको थिएँ ।

कान्तिपुर म्याराथुनमा पनि २१ किलोमिटर १ घण्टा ३४ मिनेटमा पार गरेँ । 

हप्तामा ३ पटक रिङरोड दौड 

मलाई दगुर्न असाध्यै मन पर्छ । म हप्तामा ३ पटक रिङरोडमा दगुर्छु । मङ्गलबार, बुधबार र बिहिबार । रिङरोड साढे २७ किलोमिटर छ । बिहान ५ बजे जाउलाखेलदेखि –एकान्तकुना–लगनखेल–ग्वार्को–कोटेश्वर–सिनामङ्गल–गौशाला–चावेल–धुम्बाराही–महाराजगञ्ज–बसुन्धारा–बालाजु नयाँ बसपार्क–माछापोखरी–बनस्थली–स्वयम्भु–कलङ्की–बल्खु–सानेपा हुँदै एकान्तकुना आएर दौड सकाउँछु । 

पहिला दगुरेसकेपछि पनि फेरि रङ्गशाला पुगेर जगिङ गर्थेँ । त्यहाँ केही खेलाडी साथीहरूले चिन्छन् मलाई । आर्मी, पुलिसहरूले पनि चिन्छन् । धेरै रनिङ गरेपछि एकछिन जगिङ गर्नुपर्छ डाइट पनि खानुपर्छ भन्छन् तर सेक्युरिटीमा काम गरेर पैसा हुँदैन, कहाँबाट डाइट खानु । कहिले काहीँ चना अण्डा खाने गर्छु । 

३ मिनेट भित्र ७७ जिल्ला र तिनका सदरमुकामको नाम भन्न सक्छु 

अहिले फेरि मलाई नयाँ कुरा गर्न मन लागेको छ । ३ मिनेटमा म ७७ जिल्ला र तीनको सदरमुकामको नाम भन्न सक्छु । देशले मलाई ३ सयवटा आधिकारिक पत्र दिएको छ तर एउटा अफिसमा काम दिन सकेको छैन । मेरो पेट पाल्ने एउटा बाटो दिएको छैन । मलाई एउटा सानो काम मात्रै दिए पनि म धेरै खुुसी हुने थिएँ । राज्यसँग अरू केही पनि माग्न चाहन्न म । 

काठमाडौं बसेको ६, ७ वर्ष भयो । म घरमा पनि जाँदिनँ । मेरो कस्तो सोच भयो भने यत्रो काम गरँे तर मेरो काम नै बनेको छैन । कसरी गाउँमा जाने । परिवारको अगाडि कसरी मुख देखाउने भनेर लाज लाग्छ । घर नगएको ३ वर्ष जति भयो । घरमा दाइहरूले बोलाउनुहुन्छ, गाउँको बोर्डिङ स्कुलमा राखिदिउँला भन्नुहुन्छ । 

 मैले बीएड् दोस्रो वर्ष पढ्दा पढ्दै छोडेको थिएँ । दगुर्ने सोच आएपछि पढाइ छोडेँ । जुम्ला बहुमुखी क्याम्पसमा पढेको हुँ । त्यहाँ बासुदेव सर हुनुहुन्छ, उहाँले पनि मलाई भन्नुभयो– ‘यस्तो दगुर्ने काम छोडिदिनू, यहाँ आएर पढ्ने काम गर्नू’ भन्नुहुन्थ्यो । 

अहिलेसम्म केही गर्न नसकेकाले घर जान मन लागेको छैन । मेरो पेटका लागि केही गरिदिए हुन्थ्यो । मान्छे मरेपछि सम्मान गर्छन्, बरु बाँचेको बेला सहयोग सम्मान गरे हुन्थ्यो । मरेर गएपछि कसैले केही नगरे हुन्छ । किनभने म अहिले भोको छु । सेकुरिटीमा काम गर्नुपरेको छ । आफू बाचँुञ्जेल कसैले केही सहयोग गर्दैनन्, मैले मलाई सम्मान गर्नुस् पनि भनेको हैन । म मरेपछि कसैले मलाई सम्मान गर्नुपर्दैन । 
 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ