आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

एकीकृत नमूना बस्ती भवन शिलान्यास

शुक्रबार, ०५ असोज २०७५, ०८ : १८
शुक्रबार, ०५ असोज २०७५

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गरेका हुन् ।  

बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उनले बताए । 

भूकम्पपीडितले पाउने प्रतिघर रु तीन लाखको दरले रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ । 

सामुदायिक भवनसमेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान पनि निर्माण गरिने बस्ती निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए ।  ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य लिइएको उक्त बस्तीभित्रका १६ घरको नक्सासमेत पास भइसकेको नगरपालिकाले जनाएको छ । हिमशृङ्खला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताए ।  

बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैँ तिहारलगत्तै शुरु हुने जनाइएको छ । सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप