अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भने, 'अख्तियार अब विगतको जस्तो हाउगुजी हुँदैन'
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने बताएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुअघि भएको संसदीय सुनुवाईका क्रममा घिमिरेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।
उनले अख्तियार विगतमा विवादमा समेत मुछिएको बताउँदै आफूले विवाद मुक्त बनाएर लैजाने उल्लेख गरे । उनले भने– ‘मेरो इमान्दारी र निष्ठाका साथ जनताले सम्झनेगरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मान्छेको सम्पतिको बारेमा अनुसन्धान गर्दा आतंकित नगर्ने, जोसुकैलाई फारम भराएर हिँड्दैनौ, हामीले एउटा विधि र पद्धति बनाएका छौँ । आन्तरिक कार्यविधिअनुसार काम गछौँ ।’
उनले आयोगले दायर गरेको मुद्धा सतप्रतिशत सफल होस् भन्ने चाहनाअनुसार संयन्त्र बनाएर काम गरिरहेको उल्लेख गरे ।
साना माछा र ठूला माछा बराबर
प्रमुख आयुक्त घिमिरेले भष्ट्राचारको सन्र्दभमा साना माछा र ठूला माछा बराबर भएको बताए । समितिको बैठकमा सांसदहरुले ठूला माछालाई उन्मुक्ति दिने र साना माछा समात्ने काम अख्तियारले गरिरहेको भन्ने प्रश्नमा घिमिरेले भने–‘आयोगको दृष्टिकोणमा, आयोगको दृष्टिकोणमा भष्ट्राचारीलाई साना माछा ठूला माछा भनेर निर्धारण गरिरहन आवश्यक छैन, २ रुपैयाँ खाने पनि भष्ट्राचारी हो, अरबमा करोड खाने पनि भष्ट्रचारी हो । त्यसले समाजबाट उन्मुक्ति पाउँनु हुँदैन भन्ने हो ।
भष्ट्रचार समाजसम्म जोडिएकोले अख्तियार आफैले सबै निमिट्यान्न पार्छु भन्नु कोरा प्रतिबद्धता हुन्छ भन्ने लाग्छ । संसदीय समितिहरुको सजगता, आयोेगको प्रभावकारिता, नागरिक समाजको सक्रियता र सचेतता, नेपाली जनताको साथ र सहयोग एकीककृत हुनुपर्छ ।’
उनले साना ठूला माछा भनेर विगतको दिनमा पनि छुट्याएर नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता जनाए ।
सुशासन गर्नेमा आयोगको कठिनाई
अहिले बनेको संविधानमा आयोगको क्षेत्राधिकार सम्बन्धमा केही संकुचन हुँदा काम गर्न अप्ठेरो परेको उनले बताए । संविधानबाट अनुचित ढंगले आर्थिक उपार्जन गर्ने भन्ने बिषयमा अनुचित भन्ने शब्द हटाइएको र आयोगले सरकारलाई निर्देशन दिन नसक्ने र सुझाव मात्र दिनसक्ने भन्ने व्यवस्था भएको उल्लेख गर्दै आयोगले दिएको सुझाव सरकारले कार्यान्वयन गर्छकि गर्दैन भन्ने पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले व्यक्ति खराव हुनसक्ने बताउँदै संस्था खराब नहुने र संस्थालाई बलियो बनाउँने हो भने अख्तियार सम्बन्धी ऐन कानुनमा पुनरावलोकन हुनुपर्नेमा जोड दिए । उनले भने– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विकल्प भनेको अझ सक्षम र बलियो अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै हो ।
आयोगमा कुनै व्यक्ति खराब हुनसक्छ, खराब ब्यक्तिको उपचार हुनुपर्छ तर संस्थालाई नै निमिट्यान्न पार्ने सोच राखियो भने त्यसले सुशासनलाई कायम गराउने दिशामा प्रश्न खडा गर्छ ।’ संसदमा कानुन पारित गर्ने विषयमा अख्तियारलाई कार्यक्षेत्र र अधिकार बढी दिने बिषयमा सोच्न आग्रह गरे ।
अख्तियार विगतको जस्तो हाउगुजी हुँदैन
प्रमुख आयुक्त घिमिरेले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै अख्तियारले विगतको घटनाक्रम नदोहोर्याउने र विगतबाट पाठ सिकेर अघि बढ्ने बताए । उनले अख्तियार विगतको जस्तो हाउगुजी नहुने बताउँदै जसलाई पायो उसलाई अकुत सम्पत्ति कमाएको भन्दै १३ पन्ने विवरण भर्न पनि नलगाउने बताए । अकुत सम्पति कमाउनेको एउटा सम्यन्त्र बनाएर आन्तरिक रुपमा अध्ययन गर्ने विधि निर्माण गर्ने बताए ।
उनले भने– ‘अख्तियार विगतको जस्तो हाउगुजी हुँदैन तर भष्ट्रचारीलाई भने आतंकित पारेरै छोड्नुपर्छ । नेपाली समाजले भष्ट्राचारीले उन्मुक्ति पाएको देख्नुपर्ने छैन । आयोगलाई सरकारको सहयोगी अंगको रुपमा स्थापित गर्नेछु ।’ उनले आगामी दिनमा आफूमाथि र आयोगमाथि प्रश्न उठ्नेगरी काम नगर्ने प्रतिबद्धता जनाए ।
२ वर्षे कार्यकाल, कोठाभित्र मुख लुकाएर बस्ने गरी काम गर्दिन
नवनियुक्त प्रमुख आयुक्त घिमिरेले आगामी आफ्नो दुईबर्षे कार्यकालमा मुख लुकाएर हिँड्नेगरी काम नगर्ने दाबी गरेका छन् । आफुले ३९ बर्ष सरकारी सेवाका क्रममा अहिलेसम्म कुनै विवादित काम नगरेको बताउँदै प्रतिबद्धताअनुसार काम गर्ने र भोली संसदीय समितिले त्यसको मूल्याङ्कन गर्ने बताए । उनले कसैलाई मुद्धा दायर गर्नुअघि पर्याप्त अध्ययन गर्ने बताए ।
विकास निर्माणको क्षेत्रमा हुने भष्ट्राचार छोड्दिन
घिमिरेले विकास निर्माणका क्षेत्रमा हुने भष्ट्राचार र ढिलासुस्तीलाई नछोड्ने बताएका छन् । निर्माणकर्ता ठेकेदारको पृष्ठभूमि, उसले गरेको कामलाई नजिकबाट हेर्ने बताँउदै जनताका प्रत्यक्ष सरोकार राख्ने मालपोत, भूमिसुधार, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालयमा निगरानी राख्ने बताए । उनले भने– ‘विकास निर्माण सम्बन्धी कामलाई आयोगले नजिकबाट हेर्छ, ठेक्का लिने कामदेखि निर्माण गर्ने प्रक्रियामा गलत भए त्यसलाई निरुत्साहित गरिनेछ ।’
को हुन् घिमिरे : २२ बर्षको कान्छो अधिकृत, ३९ बर्ष सरकारी सेवामा काम
३६ बर्ष सरकारी सेवामा र ४ बर्षअघिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका घिमिरे २०७४ फागुन २ गतेदेखि आयोगको कायममुकायम प्रमुख आयुक्त थिए । संसददीय सुनुवाई समितिमा बताए अनुसार उनी २२ बर्षको उमेर अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । ५ बर्ष शाखा अधिकृतको रुपमा काम गरेपछि उनी प्रतिस्पर्धाबाट उपसचिव भएका थिए । त्यतिबेला पनि उनी कान्छो उपसचिव भएका थिए ।
उनी २०४६ सालमा उदयपुरको प्रमुख जिल्ला अधिकारी भएका थिए भने २०६२/६३ को जनआन्दोलनमा पर्साको प्रमुख जिल्ला अधिकारी भएका थिए । गृहमन्त्रालय अन्तर्गत लामो समय काम गरेका उनी अध्यागमन विभागको महानिर्देशक, गृह, रक्षा र वन मन्त्रालयको सचिव समेत भएका थिए । यस्तै ५ बर्ष विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी पनि भएका थिए ।
३१ देशको भ्रमण गरेका उनले सार्वजनिक प्रशासन, विकास, सुरक्षा व्यवस्थापन लगायतको क्षेत्रमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डको पुनरागमन: के जलपान विश्रामकै कमाल थियो त ?
-
ठोस सहमति बिनै टुङ्गियो अमेरिका–इरान वार्ता
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण