शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

बिहीबार, ०४ असोज २०७५, १६ : ३३
बिहीबार, ०४ असोज २०७५

जोहानेस माइबर्ग 

साओ पाउलो– ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ । 

साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थालेको छ । ब्राजिलमा अरु धेरै मुलुकमा भन्दा ज्यादै बढी बुलेटप्रुफ कार प्रयोग हुने मुलुकमा दर्ज भइसकेको छ । 

औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार ब्राजिलमा विश्वमै सबैभन्दा ठूलो बुलेटप्रुफसम्बन्धी उद्योग सञ्चालनमा छ । यहाँ करिब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको बुलेटप्रुफ निर्माणसम्बन्धी उद्योग छ । 

तर आर्थिक मन्दीबाट बिस्तारै घस्रेर सुधारतर्फ अघि बढेको ब्राजिलमा सवारी चालकहरु बजेटको चाँजोपाँजो मिलाउनमै व्यस्त देखिन्छन् । लगातार दुई वर्षसम्म निकै ओरालो लागेको ब्राजिलको अर्थतन्त्र सन् २०१७ मा एक प्रतिशतले झिनो वृद्धि भएको थियो । 

‘मलाई कार औधी मन पर्छ, तर एउटा मात्र कारका लागि यतिधेरै खर्च गर्न मलाई ठीक लागेको छैन,’ एकजना कानुन व्यवसायी माउरिसियो पाउलोले बताए । उनी अहिले दोस्रो बजारबाट खरिद गरिएको बुलेटप्रुफ भोल्भो एक्सजेड ६० चढ्दै छन्। 

पाउलोको यो ४० वर्ष पुरानो चौथो बख्तरबन्ध कार हो । 

ट्राफिक लाइटमा रोकिएको बेला डकैती भएपछि उनले पहिलो बुलेटप्रुफ कार किनेका थिए । १८ महिनाअघि छोरी जन्मिएपछि उनले अर्को पनि बुलेटप्रुफ गाडी किन्नुपरेको थियो । तर यसपटक पनि उनीसँग मितव्ययी हुनुको विकल्प थिएन । 

‘असुरक्षित परिस्थितिका कारण मलाई बुलेटप्रुफ कार नै चाहिएको थियो,’ उनले भने । ‘मैले अरुले चढेको पुरानो कार किनें किनभने थोरै पैसामा सुरक्षितसाथ घुम्ने एकमात्र विकल्प यही थियो ।’ 

सामान्य कारलाई बुलेटप्रुफ बनाउन थप १३ हजार अमेरिकी डलर आवश्यक हुन्छ । यो रकमले त अर्को कार किन्न पनि पुग्छ । तर पुराना बुलेटप्रुफ कारको मूल्य भने १० देखि ४० प्रतिशतसम्म न्यून हुने गरेको छ । 

अर्को ठूलो बजार मेक्सिकोको हो । यहाँ सन् २०१७ मा दुई हजार ९८६ वटा कारमा बुलेटप्रुफ राखियो । गत वर्षको आर्थिक जटिलताका बाबजूद ब्राजिलमा १५ हजार कारमा बुलेटप्रुफ जडान गरिएको छ । 

ब्राजिलको आर्थिक राजधानी साओ पाउलोमा खासगरी मध्यमवर्गले कारलाई बुलेटप्रुफ बनाएको पाइएको छ । यद्यपि, ब्राजिलका विभिन्न भागमा तनाब भइरहे पनि साओ पाउलोलाई सबैभन्दा सुरक्षित मान्ने गरिन्छ । 

झण्डै दुई तिहाई बुलेटप्रुफ जडानको कार्य साओ पाउलोमै हुने गरेको छ, र मुलुकका करिब एकलाख ५० हजार बुलेटप्रुफ जडित कारमध्ये अधिकांश यही सहरमा छन्, बुलेटप्रुफसम्बन्धी संस्था अब्राबलीनले जनाएको छ । 

अब्राबलीन वा पुराना कार बिक्रेताको छाता संस्था फेनाउतो दुबैले पुराना बुलेटप्रुफ गरिएका कारको अभिलेख राखेका छैनन् । तर औद्योगिक क्षेत्रका विज्ञहरुको भनाइमा यो वास्तविक प्रवृत्ति हो । 

‘यो वर्ष पुराना कारको बिक्री अझ बढ्ने देखिन्छ,’ साओ पाउलोस्थित बुलेटप्रुफको काम गर्ने कम्पनीका निर्देशक फाबिओ रोभेडो डे मेल्लोले बताए । ‘मुलुकको पछिल्लो परिस्थितिका कारण प्रयोग भइसकेका कारको माग ह्वात्तै बढेको छ ।’ 

ब्राजिलमा सन् २०१६ मा नयाँ कारको खरिदबिक्री १० वर्ष यताकै सबैभन्दा कम भएको छ । मानिसहरु पुराना गाडीमा बुलेटप्रुफ जडान गर्नतिर आकर्षित भएका छन् किनभने नयाँ कार खरिद गरेर त्यसमा बुलेटप्रुफ लगाउँदा अति महङ्गो पर्दछ । 

‘नयाँ कारको बिक्री घट्नुको अर्थ प्रयोग भइसकेका पुराना कारको माग बढ्नु हो, किनभने मानिसले नयाँ कार खरिद गर्न सकिरहेका हुँदैनन्,’ हाइड्रोइलेक्ट्रिक कम्पनीमा कार्यरत व्यवस्थापक इलीयान वाकाचुकीले बताए । उनी बुलेटप्रुफ गरिएको आरामदायी मर्सिडिज बेन्ज जीएलए २०० को ‘टेस्ट–ड्राइभ’ गरिरहेका थिए । 

नयाँ कार खरिद गरेर बुलेटप्रुफ जडान गरेकाहरु पनि आफ्नो कार बिक्री गर्न खोजिरहेका पाइन्छन् । गत वर्ष, सबैभन्दा बढी टोयोटा कोरोल्लाको नयाँ कारमा बुलेटप्रुफ गरिएको थियो । 

कारधनीहरुले अपराधमा भएको तिब्र वृद्धिका कारण थप सुरक्षा चाहेको बताएका छन् । ब्राजिलमा रहेका केही अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना कर्मचारीलाई बुलेटप्रुफ कार अनिवार्य रुपमा चढ्न बाध्य बनाएका छन् । तर कार नै चाहिन्छ वा चाहिन्न भन्ने अर्को प्रश्न हो । 

ब्राजिलकै सबैभन्दा धनी राज्य साओ पाउलोमा सन् २०१६ मा सबैभन्दा न्यून दरमा हत्याका घटना भएका थिए । यो राज्यमा प्रति एकलाख जनतामा १०.९ हत्या भएका थिए जबकी ब्राजिलको राष्ट्रिय औसत दर ३०.३ प्रतिशत रहेको छ । ब्राजिलको उत्तरपूर्वी सर्जीप राज्यमा यो दर ६४.७ प्रशितशत रहेको छ । 

‘ब्राजिलमा बुलेटप्रुफ कारले व्यक्तिको प्रतिष्ठा जनाउँछ । मानिसले आफ्नो सुरक्षाभन्दा पनि आफ्नो प्रतिष्ठालाई बढी महत्व दिएका छन् ।’ पाउलोका लागि बुलेटप्रुफ सवारीसाधनले सुरक्षामै सुनिश्चित गराइरहेको छ । 

‘यदि कसैसँग केही बढी रकम छ भने उनीहरुले आफ्नो सुरक्षामा बढी नै खर्च गर्नु स्वाभाविक हो,’ उनले बताए । ‘पैसा नहुनेले सानो मुद्दामा पनि ज्यान गुमाउन बाध्य हुन्छन् ।’ –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप