बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

दशैंको मुखमा यातायात क्षेत्रमा जताततै भद्रगोल !

बिहीबार, ०४ असोज २०७५, १४ : १२
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– दशैंको मुखमा यातायात क्षेत्रमा भद्रगोल परिस्थति सिर्जना भएको छ । यातायात व्यवसायी, सार्वजनिक यातायातका चालक र पेट्रोलियम पदार्थ ढुवानीका ट्याङ्कर चालकहरुले आ–आफ्नै माग अघि सारेर यातायात अवरुद्ध गर्नुका साथै पेट्रोलियम पदार्थ ढुवानीमा समेत अवरोध गरेका छन् ।

मूल्य घटाउन व्यवसायीको माग
यातायात व्यवसायीले लामो दूरीका लागि असोज ५ गतेबाट दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुपर्ने सरकारसँग सहमति गरेको थियो । तर, तीन दिन अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सामान्य मूल्यवृद्धि गरेपछि व्यवसायीले मूल्य नघटाए अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएपछि अग्रीम टिकट बुकिङ अन्यौलमा परेको छ  । व्यवसायीहरुले आयल निगमलाई दिएको ४८ घण्टे अल्टिमेटम बुधबार सकिएको छ । 

व्यवसायीले दिएको यो चेतावनी अनुुसार निगमले मूल्य नघटाएपछिको अवस्थामा के गर्ने भन्ने निर्णय गर्न बिहीबार अपरान्ह यातायात व्यवसायीको बैठक बस्दै छ । 

बैठकको निर्णयअनुसार भोलिबाट अग्रिम टिकट बुकिङ खुला गर्ने या नगर्ने भन्ने टुङ्गो लाग्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 

मुलुकी संहिताप्रति चालकको विरोध 
उता, सार्वजननिक यातायातका सवारी चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायँसँग सम्बन्धीत व्यवस्थाको विरोध गर्दै सार्वजनिक यातायातका साधन विगत तीन दिन यताबाटै गाडी चलाएका छैनन् । जसका कारण उपत्यका बाहिरका कास्की, सुर्खेत, दाङ, वारा, सर्लाही, महोत्तरी लगायतका जिल्ला बढि प्रभावित भएका छन् । ती जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधन अत्यन्त न्यून मात्रै चलेको रातोपाटीका स्थानीय सम्वाददाताहरुले बताएका छन् ।

कुनै दुर्घटना भएर कसैको ज्यान गए त्यसमा तिर्नुपर्ने क्षतिपूर्ति चालकले तिर्न नसक्ने भएकाले त्यसको विरोधमा सवारी साधन नचलाएको उनीहरुको भनाई छ । 


के छ नयाँ कानुनी व्यवस्था ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सजायको व्यवस्था गरेको छ । 
कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिइ वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य गरेमा र ज्यान मार्ने मनसाय लिई गरेको भए सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । 

तर, ज्यान मार्ने मनसाय लिइ त्यस्तो कार्य गरेमा ज्यान मार्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था छ । उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था छ ।
सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ। सोही धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसक मध्ये जुनसुकै कुरा भए पनि त्यस्तो कार्य बदनीयतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई ८ वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख गरिएकोे छ ।

पेट्रोल ढुवानीवालाको दादागिरी
इन्धन ढुवानीकर्ता तथा चालकले पनि विगत तीन दिनयता ढुवानी गरेका छैनन् । 

इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् । उनीहरुले आफ्ना सेवासुविधा बढाउनुपर्ने माग राखेका छन् । जसले गर्दा मुलुकका कतिपय स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिन थालिसकेको छ ।  

यसैबीच पेट्रोलियम पदार्थ ढुवानी रोकिएपछि नेपाल आयल निगमले बुधबार तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । 

निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको हो । 

यस्तै निगमले पेट्रोलियम पदार्थ आयात गर्ने ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरिसकेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भएको दुवैपक्षबीच भएको थियो । 

भण्डारण क्षमता नहुँदा समस्या 
नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थको खपतअनुसारको भण्डारण क्षमता छैन । प्रत्येक सरकारले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने बताउने गरेपनि काम हुन सकेको छैन । 

जसले गर्दा केही दिन मात्रै पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भए हाहाकारको अवस्था हुने गरेको छ । निगमका अनुसार एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।

निगमको भण्डारण क्षमताले हाल पेट्रोल पाँच दिन, डिजेल करिब आठ दिन र हवाई इन्धन करिब १० दिनका लागि ‘स्टक’ गर्न सकिने अवस्था रहेको बताइएको  छ । खाना पकाउने एलपी ग्यासको भने निगमसँग भण्डारण सुविधा नै छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप