बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनविरुद्ध नेपाली भूमि कुनै हालतमा प्रयोग गर्न दिदैनौँः उपराष्ट्रपति पुन

बिहीबार, ०४ असोज २०७५, १३ : २३
बिहीबार, ०४ असोज २०७५

छेन्दु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । 

चीनको छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कुनैपनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताएका हुन् ।

त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको मेलाले चीन तथा सहभागी मुलुकहरुलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोड्न सहयोग गरेको पनि बताए । 

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिवद्ध छ । चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्देशित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौं’ उपराष्ट्रपति पुनले सम्बोधनका क्रममा भने । 

समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको भन्दै उनले पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएको बताए । 

त्यसक्रममा उपराष्ट्रपति पुनले जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पुगेको अवसरमा सन् २०४९ सम्म चीनलाई महान् आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यको प्रशंसा गरे ।

चीनका राष्ट्रपतिले बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) मार्फत् सम्बद्ध राष्ट्रहरुबीच सहयोग अभिवृद्दि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सारेको विचारको स्वागत गर्दै बिआरआईमा शान्ति, सहयोग, समावेशीता, आपसी सिकाइ, आपसी लाभ र सबैको जित जस्ता भावना समाविष्ट भएकोले इनिसिएटिभमा सामेल हुन पाएकोमा खुशी व्यक्त गरे ।

नेपालका लागि निर्यात व्यापार विस्तार, जलविद्युत, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धन प्राथमिकताका क्षेत्रहरु हुन् । 

त्यसैगरी सडक सञ्जाल, रेलवे, उर्जा उत्पादन एवम् यसको वितरण जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण एवम् सीमा वारपार रेलवे, राजमार्ग, सञ्चार, ट्रान्समिसन लाईन लगायतका क्षेत्रमा विकास गर्ने तथा  व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्य पुरा गर्न बृहत् लगानी, उन्नत प्रविधि, अनुभवको आदान प्रदान, वस्तु विनिमयमा सहकार्यको जरुरी भएको उपराष्ट्रपति पुनको जोड छ । 

समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्ह्वा, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र ईटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप