शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको घोषणा– ठमेल र पोखरा अब २४ सै घण्टा सुरक्षित

बिहीबार, ०५ साउन २०७४, १७ : २४
बिहीबार, ०५ साउन २०७४

काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।  

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको विहीबार राजधानीमा उद्घाटन गर्दै उनले भने, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।” 

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनुपर्ने बताए ।  

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रमा मौलाएको राजनीतिको अन्त्य गरी पर्यटकीय पूर्वाधार निर्माणतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाललगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ । गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गन्तव्य नेपाल पत्रकारिता–पुरस्कार’ पर्यटन प्रवद्र्धनमा योगदान गरेबापत यस वर्ष राससका कार्यकारी सम्पादक कृष्ण अधिकारी र ‘जनसवाल’ दैनिकका प्रधानसम्पादक रामजी बगालेलाई रु १० हजारसहित प्रदान गरिएको छ । 

कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप