शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा संविधानको सम्मान, शहिदकोे अपमान !

बिहीबार, ०४ असोज २०७५, १२ : २१
बिहीबार, ०४ असोज २०७५

बुटवल– प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बुधवार ठूलो तामझामका साथ संविधान दिवस मनाइयो ।  

जनप्रतिनिधि, कर्मचारीदेखि समाजका गन्नेमान्ने र बौद्धिक ब्यक्तिहरुको कार्यक्रममा लावालस्कर नै लाग्यो । 

 प्रभातफेरी सकेर मञ्चमा पुग्दै गर्दा प्रदेश प्रमुख उमाकान्त झाले सलामी ग्रहण गरे । मुख्यमन्त्रीदेखि मन्त्रीहरुले सुरक्षा निकायको सेल्युट पनि ग्रहण गरे । 

अन्यले नमस्कार आदान प्रदान र ज्यु–हजुरी गर्न पनि भुलेनन् । 

प्रदेश प्रमुख प्रवेशसँगै सलामी अर्पण गरियो । 

राष्ट्रिय गान पनि बज्यो । तर, भुलियो जसले जीवनको आहुती दिँदै अहिलेको संविधान ल्याउन योगदान गरेका थिए ।

शहिदको सम्झनामा शोकधुन र एक मिनेट मौनधारण  गरेर शहिदको सम्मान गर्नुपर्छ भन्ने स्मरण गर्ने न कुनै मन्त्री भए न उच्च पदस्थ कर्मचारी र बौद्धिक ब्यक्ति नै  । 

कार्यक्रम समापनपछि सामाजिक सञ्जालमा विरोध हुन थालेपछि आयोजकले बल्ल थाहा पाए ।  पार्टी कमिटीका सानासाना बैठक राख्दा पहिले शहिदको सम्झना र सम्मान गर्दै मुठ्ठी उठाउनेहरु संविधान दिवसमा भने सहिदलाई नसम्झेकोमा कतिपयले कमजोरी ठाने । यो प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा मुल समारोह समिति बनेको थियो ।

कार्यक्रमको चाँजोपाजो मिलाउने जिम्मा पाएको थियो कानुन तथा आन्तरिक मामिला मन्त्रालयको । प्रदेश सरकारका प्रवक्ता एवं योजना तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सामन्य कमजोरी भएको स्वीकार गरे ।

उनले कानुन तथा आन्तरिक मामिला मन्त्रालयको थाप्लोमा त्यस कमजोरी हाल्न पनि खोजे ।  कानुन मन्त्री कुलप्रसा केसीले पनि पहिलो अभ्यास भएकाले कमजोरी भएको स्वीकारर्दै आगमी दिनमा सच्चाउँदै जाने बताए । 

तर, सर्वसाधरणले भने सामाजिक सञ्जालमार्फत सहिदलाई नसम्झेकोमा सरकारको आलोचना गरेका छन् ।

’फेसबुकमा टेकराज रेग्मी, पुरी आकाश मिलयल लगायतको समुह लेख्छन्–‘ शहिदको रगतले आफु नेता भएको नि विर्सेर आज ५नम्वर प्रदेश प्रमुख, मुख्यमन्त्री भएको संविधान दिवसको कार्यक्रममा मौनधारण गर्न नै बिर्से , बहुत दुख लाग्यो , न पहुँच न पावर हाम्रो... ।’

त्यसलाई समर्थन गर्दै रिया क्षेत्री लेख्छिन –‘है दाई मान्छेहरुको नैतिकता’  

त्यस्तै जानकरी नेपाल लेख्छिन् ‘ त्यही त खै के हो यस्तो, हामीले त राष्ट्रिय गानपछि शहिदहरुप्रति एक मिनेट मौनधारण होला भनेको त एकै चोटी स्वागत मन्तब्य पो आउँछ बा...’क्रान्तिकारी प्रचण्ड बुटवल क्याम्सस ग्रुप लेख्छ –‘आज ५ नम्वर प्रदेशले संविधान ल्याउनका लागि ज्यानको वलिदानी गर्ने  शहिदको सम्झनामा मौनधारण पनि गरेन, दुखद कुरा हो ’ दिपक गौतम  ( एचपी ) लेख्छन् ‘यस्तै हो हजुर खोली तरेपछि लौरी विर्सनेहरुको कमी छैन ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप