मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अरूको सुरक्षाका लागि आगोसँग खेल्ने सुनिता

बिहीबार, ०४ असोज २०७५, ११ : ५८
बिहीबार, ०४ असोज २०७५

सुसुप्त अभिव्यक्तिहरूको आज साक्षात्कार भएको छ 

मनमा अल्झेका अभिकाङ्क्षाहरू नतमस्तक भएका छन्

एक विन्दुमा प्रत्यागमित भएका अभीस्ट चाहानाका प्रतिमूर्तीहरू

आज ज्वज्वल्यमान अनुभुति बनेका छन् ।’

यी कविताका हरफले भनेजस्तै अभीस्ट चाहानाका प्रतिमूर्तिहरू ज्वज्वल्यमान अनुभूति बन्न सजिलै कहाँ सम्भव हुन्छ र ? 

असाधारण चाहना अनि ती चाहना पूरा गर्न सानातिना हिम्मतले कहाँ पुग्छ र ? 

यसका लागि त त्यो साहस चाहिन्छ, जसले अभीस्ट पूरा गर्न असामान्य बाटोलाई पनि सरल बनाइदिन सकोस् । 

यस्तै असाधारण चाहानाको बाटो रोजेकी छोरी हुन्– सुनिता सिवकोटी ।

माथिका कविताका यी हरफ अरू कसैको होइन, उनै सुनिताका हुन् । यी कविताका हरफ सुनिताले कवि भएर लेखेकी होइनन्, आगोसँग खेल्दाखेल्दै जन्मिएका हुन् । 

सुनिताको परिचय अलि फरक छ । केही असाधारण तर बहादुरीले भरिपूर्ण । 

उनी यी महिला हुन् जसले नेपालको ‘पहिलो महिला फायर फाइटर’का रूपमा आफ्नो नाम दर्ज गराइन् । 

हुन त हाम्रो संविधानले राज्यका अङ्गमा महिलालाई ३३ प्रतिशत सुरक्षित गरेको छ । त्यति मात्र होइन, राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पनि महिला भइसकेका छन् । सरकारी र निजी क्षेत्र जहाँसुकै महिलाहरूको सहभागिता उल्लेख्य छ ।

तर केही यस्ता ठाउँ छन्, जहाँ न आरक्षणले काम गर्छ न कसैको सद्भावले । ती ठाउँमा त आफ्नो बहादुरीले काम गर्छ । आफ्नो हिम्मत र साहसले ठाउँ पाउँछ । यस्तै ठाउँ रोजिन् सुनिताले । 

यसरी बनिन् पहिलो महिला फायर फाइटर 

कुरा २०५९ सालतिरको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको सिभिल एभिएसन एकेडेमीले कर्मचारीको आह्वान गरेको थाहा पाइन् । 

जागिरको खोजीमा भौँतारिरहेकी सुनिताले सिभिल एभिएसनमा आवेदन त दिइन तर विषयवस्तुबारे धेरै बुझेकी थिइनन् । 

एभिएसनले सुनितालाई तालिमका लागि बोलायो । जब फिजिकल टेस्ट (शारीरिक परीक्षण) भयो तब पो थाहा पाइन् उनी त सिभिल एभिएसनअन्तर्गतको ‘रेस्क्यु एन्ड फायर फाइटर’ तालिमका लागि छानिँदै रहिछन् । 

सिभिल एभिएसनमा जागिर गर्नलाई कठिन तीन महिने तालिम पूरा गर्नुपर्ने रहेछ । 

रेस्क्यु एन्ड फायर फाइटरको तालिमका लागि फिजिकल टेस्टमा उनी र अर्की एक महिला मात्र छानिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको सिभिल एभिएसन एकेडेमीले रेस्क्यु एन्ड फायर फाइटिङ, एटिएस, ट्रेन एयर, फ्लाइट सेफ्टी ट्रेनिङ, इन्जिनियरिङ, एभिएसन सेक्युरिटी, करिकुलम डेभलपमेन्ट, क्वालिटी एस्योरेन्सलगायतका सङ्कायमा प्रशिक्षण दिने गर्छ ।

नेपालमा हालसम्म जम्मा ८ जना महिला फायर फाइटर छन् । वर्षमा १६–१७ जना पुरुषहरू यो पेसामा आउने गरे पनि महिला भने ज्यादै न्यून छन् । 

महिला फायर फाइटरको आह्वान पनि हुन्छ तर फिजिकल टेस्ट र तालिम निकै कठिन भएकाले यो पार गर्ने कमै हुन्छन् । 

नेपाल आर्मी र पुलिसमा महिला पुरुषका लागि फिजिकल टेस्ट र तालिमको प्रावधानमा फरक भए पनि फायर फाइटिङमा भने समान खालको हुन्छ । यसले गर्दा पनि यो पेसामा महिला सहभागिता ज्यादै न्यून भएको हो । 

बच्चैदेखि जोखिमयुक्त कार्य गर्न रुचाउने सुनितालाई यो चुनौतीको सामना गर्न सक्छु भन्ने हिम्मत फिजिकल टेस्ट पास गरेपछि झन् भरिएर आयो । 

छोरी भएर जन्म लिए पनि चुरा र टीकामा कहिल्यै भुलिइनन् सुनिता ।

आफ्नो बाल्यकाल सम्झँदै भन्छिन्, ‘सानैबाट अलि खतरा मोल्ने बानी भएकाले फायर फाइटर बनायो मलाई ।’

झापा चारपानेमा जन्मिएकी सुनिता सिवाकोटीले काठमाडौं चावहिलस्थित जगत मन्दिर स्कुलबाट एसएलसी गरिन् । 

लेखक बुबा नारायणप्रसाद सिवाकोटी र आमा धर्मा मञ्जरीकी जेठी छोरी सुनिताका दुईजना भाइबहिनी छन् । 

बुबा आमाले निकै दुःखका साथ आफूहरूलाई हुर्काएकाले आमा बुबालाई बुढेसकालमा सुख दिने ठूलो सपना थियो उनको । 

सिभिल एभिएसनमा आवेदन दिने १० जना महिलामध्ये फिजिकल टेस्ट पार गर्दै सेलेक्ट भए जम्मा दुई जना सुनिता र रति ढुङ्गाना । 

तीन महिने कठिन तालिम सुनिता र रतिले सफलतापूर्वक पूरा गरे । 

रेस्क्यु, त्यो पनि फायरिङ एरियामा । 

मान्छे बोकेर दौडिनुपर्ने, ३० केजीसम्मको होज (पानी फाल्ने उपकरण) बोकेर दौडनुपर्ने, घाम, पानी, हावा, हुरी केही नभनी रेस्क्युमा जानुपर्ने कार्य सहज भने पक्कै पनि थिएन । 

तालिमको समयमा धेरै पटक बेहोस भएकी सुनितालाई पानी छम्केर बिउँझाउनु पर्थ्यो रे । 

बेहोस भएर पनि सुख कहाँ पाइयो र फेरि दौडिनु पर्ने । 

तालिम अवधिमा न त महिनावारी भन्न पाइयो न त अन्य कुनै शारीरिक समस्या । 

तालिम पूरा गर्न सके मात्र जागिर पक्का थियो । 

त्यसैले पनि तीन महिनाको कठिन तालिम सफलतापूर्वक पूरा गरेकी सुनिताले २०६१ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको सिभिल एभिएसनमा फायर फाइटरको जागिर पाइन् । 

सुरु भयो उनको आफ्नो खतराको यात्रा र अरूको सुरक्षाको चिन्ता । 

महिला सहभागिता 

नेपालमा हालसम्म जम्मा ८ जना महिला फायर फाइटर छन् । 

धेरै महिला यो पेसामा आकर्षित भए पनि मुख्य बाधा बनिदिएको छ ‘फिजिकल टेस्ट’ । 

महिला र पुरुषलाई एउटै वर्गमा राखिएकाले पनि यो पेसामा आउन महिलाहरूलाई अलि कठिन छ । अर्को भनेको पारिवारिक सहयोगको कमी हो । 

महिलाहरूलाई जोखिमयुक्त कार्य गर्न परिवारको स्वीकृति नमिल्ने र सकेसम्म सुरक्षित कार्यमा नै लागोस् भन्ने मानसिकताले पनि यो क्षेत्रमा महिला सहभागितामा कमी भएको हो । 

नेपाली सेना र प्रहरीमा भर्ना हुनका लागि महिला पुरुषको शारीरिक परीक्षण र तालिममा केही फरक भए पनि यो पेसामा समान परीक्षण र तालिम हुन्छ । यसले गर्दा पनि महिलाहरूलाई यो पेसामा आउन कठिन भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनिताले फायर फाइटरको रूपमा कार्य सुरु गरेको १५ वर्ष भयो । यस अवधिमा उनले धेरै समस्याको सामना गर्नु पर्यो । 

नेपालका महिला फायर फाइटरहरूको मुख्य समस्या भनेको पोसाकको हो । 

अन्तर्राष्ट्रिय फायर फाइटरहरूको साइजमा डिजाइन गरिएको पोसाक नै यहाँका महिलाहरूले लगाउनुपर्छ । महिलाका लागि भिन्न खालको नहुँदा समस्या छ । 

पुरुषहरूकै साइजमा पोसाक आउँछ, जुन नेपालमा निर्माण हुँदैन । 

महिलाका लागि फरक पोसाक अर्डर गर्ने भनिए पनि अहिलेसम्म आउन सकेको छैन । 

यता कार्यस्थलमा पनि पुरुषहरूका लागि मात्र भौतिक संरचना निर्माण भएकाले महिलाहरूलाई शौचालयदेखि ड्रेसिङ रूममा पनि समस्या छ । 

सुनिता भौतिक संरचना निर्माणमा विमानस्थलले ध्यान नदिएको दुखेसो सुनाउँछिन् ।

पुरुषहरूकै शौचालय प्रयोग गर्नुपर्ने, ड्रेस चेन्ज गर्दा पनि पुरुषहरूकै ड्रेसिङ रूम प्रयोग गर्नुपर्ने बाध्यता छ फायर साइडका महिलाहरूलाई । 

सुनिता भन्छिन्, ‘हामी महिला हौँ भनेर हच्किएर नबस्ने अनि पुरुष सरह आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम भएर पनि यो सबै समस्यालाई सजिलै चिर्न सकेका छौं । होइन भने महिलामैत्री फायर साइड यहाँको ठूलो समस्या हो ।’ 

अन्तर्राष्ट्रिय क्षेत्रमा महिला फायर फाइटर

फायर फाइटिङमा हाम्रो देशमा मात्र होइन विश्वमै महिलाहरूको सहभागिता ज्यादै न्यून छ । 

कठिन तालिम अनि जोखिमयुक्त कार्य भएर पनि होला महिलाहरू त्यति यो क्षेत्रमा आकर्षित भएको देखिँदैन ।

पुरुषभन्दा शारीरिक रूपमा केही कमजोर भए पनि डिसिजन मेकिङमा महिला अब्बल हुने भएकाले हाल महिलाहरूको माग हुन थालेको छ । 

महिलाहरूलाई पनि यो क्षेत्रमा आउन प्रेरित गरिरहेको देखिन्छ । हाल हरेक देशले महिला फायर फाइटरको माग गरिरहेको भए पनि न्यून मात्र यो पेसामा आउने गरेका छन् । 

भारतमा पनि भर्खरै महिलाहरू फायर फाइटिङमा आएका छन् ।

फायर फाइटिङकै सिलसिलामा थुप्रै देशको भ्रमण गरेकी सुनिताले अन्य देशको तुलनामा नेपालमै धेरै महिला फायर फाइटर भएको पाइन् । नेपालबाट विदेशमा महिला फायर फाइटर भएर जाँदा निकै सम्मान पाएको अनुभव छ सुनितासँग । 

तालिमका क्रममा मलेसिया जाँदा साउदी अरेबियाका फायर चिफले आफ्नो देशमा आएर महिलाहरूलाई यो पेसामा लाग्न प्रोत्साहन गरिदिन आग्रह पनि गरे । त्यसैगरी स्कटल्यान्ड लगायतका अन्य थुप्रै देशबाट जागिरका लागि अफरहरू आइ नै रहे तर आफूले आर्जन गरेको ज्ञान र सीपलाई आफ्नै देशमा लगाउन चाहिन् सुनिताले ।

थुप्रै देशमा गएर आफ्नो अनुभव आदान प्रदान गर्न पाउँदा भने गर्व महसुस हुन्छ उनलाई । भन्छिन्, ‘नेपाली महिला भएर अन्य विकसित देशहरूका महिलालाई रेस्क्यु एन्ड फायर फाइटिङमा आउन प्रेरित गर्न पाउँदा निकै खुसी लाग्छ ।’

७ वर्ष अपरेसनमा सहभागी

सात वर्ष एक्टिभ अपरेसनमा सहभागी सुनिताले थुप्रै दुर्घटना देखेकी छिन् । जहाजमा हुने साना ठूला दुर्घटनामा प्रत्यक्ष सहभागी भएकी सुनिता कसैको ज्यान जाँदैछ र त्यहाँ पुगेर बचाउन सक्दाको अनुभूति कुनै शब्दमा बयान गर्न नसकिने बताउँछिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक साइडमा फायर स्टेसन छ । त्यहीँ उनले सात वर्ष बिताइन् । आफ्नो ड्युटीलाई न त उनको ‘प्रेग्नेन्सी’ले छेक्यो न त ‘फिडिङ मदर’को अवस्थाले नै । 

एयरपोर्टमा कुनै पनि घटना हुँदै गरेको थाहा हुनासाथ २ देखि ३ मिनेटसम्ममा रेस्पोन्स गरिसक्नुपर्ने हुन्छ । 

कहिले जहाजको इन्डिकेसनमा समस्या त कहिले इन्जिनमै समस्या आइरहेको हुन्छ । त्यसैगरी ल्यान्डिङ गियर नझर्दा रनवे फोमिङ (फिजले रनवेलाई सहज बनाइदिने कार्य) गर्नुपर्ने हुन्छ । 

यस्ता अवस्थाहरूमा तुरुन्तै उपस्थित भएर जहाजलाई सुरक्षित ल्यान्ड गर्न वा टेकअफ गर्न सहयोग गर्नुपर्ने हुन्छ । 

यदि जहाजमा आगो लाग्यो भने ३ देखि ४ मिनेटभित्रमा आगो निभाएर रेस्क्य गर्न सक्नुपर्छ, होइन भने त्यहाँ कसैलाई बचाउन सम्भव हुँदैन । 

थुप्रै दुर्घटनामा परेकालाई रेस्क्यु गरेकी सुनिताले एयरपोर्टमा ठूलो दुर्घटनाभने गत मार्च १२ मा देखिन् ।

गत मार्च १२ मा ढाकाबाट काठमाडौं आउँदै गरेको यूएस बङ्गला एयरलाइन्सको फ्लाइट बीएस २११ दुर्घटना हुँदा सुनिता एयरपोर्टमै थिइन् । 

अन्तर्राष्ट्रिय टर्मिनल म्यानेजमा खटिएकी उनी उक्त दुर्घटनामा रेस्क्यु टिममा भने सहभागी हुन पाइनन् तर म्यानेजिङ साइडबाट भने थुप्रै सहयोग गर्ने मौका पाइन् । 

उक्तविमान दुर्घटना हुँदा ७१ जना यात्रुहरूमध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो । बाँकी २० जना घाइते भएका थिए । 

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेहरूमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक थिए । 

त्यो दुर्घटनामा २० जनाको ज्यान बच्नु भनेको हवाई दुर्घटनाको इतिहासको सबैभन्दा ठूलो सफलता मान्छिन् सुनिता । 

उक्त दुर्घटनाको बारे बाहिर अनावश्यक हल्ला भएकोमा सुनिालाई निकै दुःख लाग्यो । किनकि हल्ला भए जस्तो अवस्था त्यहाँ थिएन । 

पहिलो रोस्पोन्स टोली पुग्दा सबै बेहोस अवस्थामा थिए, जसलाई टीआईएका रेस्क्यु टोलीले उद्धार गरेका थिए । 

सुनिता भन्छिन्, ‘फायर फाइटर पहिले त आफू सुरक्षित हुनु पर्यो अनि मात्र न उद्धार गर्न सक्छ ।’ 

त्यसैले जहाँ जहाज दुर्घटना भएको थियो, उक्त स्थानमा दमकल नजिकसम्म जान सम्भव थिएन कारण हिलो र घाँसले दमकल भासिने खतरा थियो । 

साथै आगो वरवरसम्म आएकोले अगाडिको आगो निभाउँदै जहाज भएको स्थानमा पुग्नुपर्ने अवस्था थियो । 

त्यो अवस्थामा पनि जहाजको आगो निभाउन र २० जनाको जीवितै उद्धार हुनु कुनै सामान्य काम थिएन ।

अन्तर्राष्ट्रिय स्तरमा उक्त दुर्घटनामा २० जनाको जीवितै उद्धार गरेकोमा नेपालले ठूलो प्रशंसा बटुलेको छ र उक्त घटनालाई लिएर भर्खरै अमेरिकामा सम्पन्न एयरक्राफ्ट रेस्क्यु एन्ड फायर फाइटिङ वर्किङ ग्रुप (एआरएफएफ वर्किङ ग्रुप) ले नेपाललाई उत्कृष्ट रेस्क्यु तथा फायर फाइटिङ पुरस्कारले सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय टर्मिनल म्यानेजमेन्टमा खटिएकी सुनिता सीटीभरीको दमकल म्यानेजदेखि हस्पिटलसम्मको म्यानेजमेन्टमा जुटिन् । 

वर्किङ करियरकै सबैभन्दा दुखद् र कठिन क्षण विर्सन सकेकी छैनन् उनले । 

भन्छिन्, ‘जहाज बलिरहेको छ प्यासेन्जरका आफन्त भने उनीहरूको हाल सोधिरहेका छन्, कसरी उत्तर दिने ?’ आँशु झार्दै उत्तर दिन नसक्दाको क्षण उनका लागि अहिलेसम्मको कठिन क्षण बन्यो ।

इन्टरनेसनल टर्मिनल म्यानेजमेन्ट

माइक्रोबायोलोजीमा स्नातक र एन्थ्रोपोलोजीमा स्नातकत्तोर गरेकी सुनितालाई कहिल्यै पनि आफ्नो पेसाप्रति दिक्दारी छाएन । 

हरेक सेकेन्ड आफ्नो पेसामा रमाउन उनलाई आत्मबल र सिनियरको साथले बल मिल्यो । 

सुनिताले तीन वर्ष नेपालका तुम्लिङटार, जोमसोम, सुर्खेतलगायतका विभिन्न एयरपोर्टमा गएर फायर इक्स्ट्रिमिसन कसरी प्रयोग गर्ने भन्नेबारे तालिम दिने अवसर पाइन् ।

एयरपोर्टबाट आठ किलोमिटरको दूरीसम्ममा कतै आगलागीका घटना भएमा पनि एयरपोर्टकै फायर स्टेसनका कर्मचारी र दमकल रेस्क्युमा खटिन्छन् । 

यदि राजधानीलगायतका क्षेत्रमा कतै आगलागी भएमा सिटी फायरले निभाउन सकेन भने पनि एयरपोर्टको दमकलसहितको टोली खटिने गरेका छन् । 

यस्तो अवस्थामा सबै कोअर्डिनेसनको काम उनी आफै गर्छिन् ।

महिलाहरूका लागि प्रेरणा बनेकी सुनिता, प्रोफेसनले फायर फाइटर हुन् तर दुई वर्षदेखि इन्टरनेसनल टर्मिनल म्यानेजरको रूपमा कार्यरत छिन् । 

कोअर्डिनेसन र कम्युनिकेसन उनको दैनिक कार्य बनेको छ आजभोलि । भीभीआईपी, भीआईपीदेखि सर्वसाधारणलाई म्यानेज गर्नमै व्यस्त हुन्छिन् । 

प्यासेन्जर ओहोरदोहोर गर्दा छुटाएका सामानहरू उनीहरूसमक्ष पुर्याउनेदेखि समस्यामा परेकालाई सहायता पुर्याउन पनि तम्सिन्छिन् । 

भीआईपीहरूको ओहोरदोहोर हुँदा टर्मिनलमा पत्रकारदेखि सेक्युरिटीसम्मलाई व्यवस्थापन गर्न कठिन हुने नै भयो । 

तर पनि पब्लिकसँग प्रत्यक्ष जोडिएर कार्य गर्दा भिन्दै आनन्द हुन्छ उनलाई । 

प्रेग्नेन्सीको समय फायर स्टेसनमा

१९ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी सुनितालाई पारिवारिक सहयोगले नै फायर फाइटर बनायो । 

निकै जोखिमयुक्त पेसा भनेर परिवार डराए पनि उनको हिम्मतलाई सधँै साथ दियो । दुई सन्तानकी आमा सुनिताका १३ वर्षकी छोरी र ६ वर्षको छोरा छन् । 

घर, परिवार, बच्चा अनि जागिर सबैलाई एकैसाथ म्यानेज गरिरहेकी छिन् उनले । 

आफ्नो पेसाप्रति पूर्ण प्रतिबद्ध सुनितालाई महिलाहरूले घर बसेर समय खेर फाल्नुभन्दा केही उत्पादनशील कार्यमा लाग्न सुझाव दिन्छिन् । 

सुनितालाई महिला भएकोमा ह्युमिलेसन फिल कहिल्यै नभए पनि प्रेग्नेन्सीको अवस्थामा भने केही कमजोर महसुस भयो । 

सधैँ पुरुषसहर काम गरेकी उनले प्रेग्नेन्सीको अवस्थामा फायर भेइकलमा चढ्न अनि दौडिन नसक्दा भने यो मेरो काम होइन कि जस्तो पनि लाग्यो । 

तर पनि वाच आवरमा बसेर इमरजेन्सी टेलिफोन रिसिभ गर्नेलगायतका केही सरल काम गरेरै भए पनि ड्युटीलाई निरन्तरता दिइन् । 

सुत्केरी अवस्थामा केही घटना भएको थाहा पाउँदा त्यहाँ रेस्क्यु गर्न जान नसकेकोमा उनलाई नमज्जा लाग्थ्यो रे । 

आज सुनिताले आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन् । 

सिभिल एभिएसनको हेड अफिसमा बसेर कार्य गर्दै आएकी सुनितालाई, आगोलागीबाट धेरैको ज्यान गएको सुन्दा त्यस क्षेत्रमा केही गर्नुपर्ने बताउँछिन् ।
सरकारी तवरबाटै जनचेतना फैलाउन जरुरी ठान्छिन् उनी । 

अबका दिनमा आगोलागी हुँदा कसरी सुरक्षित रहने र आगो कसरी नियन्त्रण गर्ने भन्नेबारे सचेतना कार्यक्रमका साथै तालिमहरू  सञ्चालन गर्ने सोचमा छिन् उनी । 

भन्छिन्, ‘सानातिना दुर्घटनाले पनि ज्यान लिन सक्ने भएकाले कसरी सावधानी अपनाउने र दुर्घटना भइहालेमा कसरी सुरक्षित हुने भन्ने हरेक नागरिकले जान्न जरुरी छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप