बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको हिम–पहाड गाउँमा लाख कमाउने ‘थेन दिदीको घर’

बिहीबार, ०४ असोज २०७५, ११ : ०९
बिहीबार, ०४ असोज २०७५

गाउँका सबैले थेन दिदी भनेर बोलाउँछन् । थेन दिदीको पूरा नाम थ्येन यु स्या हो । उनी ४६ वर्षकी भइन् । 

हिम पहाड गाउँको पल्लो छेउमा छ थेन दिदीको घर । उनको घरको नाम नै थेन दिदीको घर राखिएको छ, जुन उनको होमस्टेको ब्रान्ड पनि हो ।  

गाउँका अरू घरभन्दा आकर्षक डिजाइनको छ उनको घर । जुन घरको डिजाइन गर्ने इन्जिनियरले समेत पुरस्कार जितेका थिए । चीनको नान्चिङ सहरमा भएको घर डिजाइन प्रतियोगितामा उनको घर बनाउने इन्जिनियरले पुरस्कार हात पारेका थिए । 

३ तलाको उनको घर आकर्षक डिजाइनमा बनाइएको छ । भुइँतलामा रेस्टुरेन्ट छ, जहाँ ताजा र स्वादिला चिनियाँ परिकारहरू पाक्ने गर्छ । माथिल्लो तलमा पाहुना बस्ने तथा सुत्ने कोठा छ । बार्दर्लीमा आराम कुर्सी टेबल छन्, जहाँबाट बाहिरको सुन्दर दृश्य हेर्न सकिन्छ । 

न्यानो स्वागत र आतिथ्य पाउँदा कसको मन रमाँउदैन र ? चिनियाँ खाना, आफैले उब्जाउ गरेका सागपात, प्राकृतिक सागपात, बाँसको तामा एकदम मीठो । 

पाउनालाई स्वागत गर्न थेन दिदी आफैले धेरै परिकार तयार पार्ने गर्छिन् । उनले तयार पारेको परिकारमध्ये एउटा परिकार बाँसको तामा थियो, जुन नेपाली पाहुनाले असाध्यै मन पराए । यस्तै अर्को एउटा लौकाको सुप थियो, त्यसमा नेपालमा सागपातबाट बनाइने गुन्द्रुकको जस्तै मीठो स्वाद थियो । 

नेपालबाट घुम्न गएका नेपाली पाहुनाले थेन दिदीलाई बाँसको तामा साह्रै मीठो लाग्यो भन्दै धन्यवाद दिए । उनी मुस्कुराइन् र अर्को दिन पनि मीठो तामा बनाउने वाचा गरिन् । दोस्रो दिन पनि उनले बनाएको तामाको तरकारी नेपाली पर्यटकले साह्रै मीठो माने । 

न्यानो आतिथ्यको साथमा थेन दिदीले बनाएको परिकार, पहिलो पटक चिनियाँ खानाको स्वाद लिँदै गरेका नेपाली पर्यटक उत्साहित थिए । उसिनेको ताजा मकै, फर्सी, टिमुर मिसाएर बनाइएको स्वादिलो सरकारी, तामा, स्वादिलो साग, माछामासुको स्वादले घुम्न गएका नेपालीको मन जित्यो ।  

उनको घरको विशेषता भनेको बार्दलीमा बसेर बाहिरको हरियाली सुन्दरताको दृश्य हेर्ने अवसर हो । उनको घरअघि अग्लो हरियो पहाड छ भने पहाडको फेदीमा नदी बगिरहेको देख्न सकिन्छ । नदीको दुवैतर्फ सडक र अग्ला अग्ला घरहरू छन् । थेन दिदीले उनको नमुना घरको चोटा कोठा देखाइन् ।

‘यो शयन कक्ष हो, यहाँ बाथरुम पनि सँगै छ, नुहाउनका लागि तातोपानी आउँछ’ । उनले पाउना बस्ने कोठा देखाँउदै भनिन् । थेन दिदीको होमस्टे साँँच्चै आकर्षक छ, बेडरुममा कुनै पाँच तारे होटलको भन्दा कम सुविधा छैन । सिसैसिसाले बनाइएको आकर्षक बाथरुम, जाडो मौसमका लागि हिटर जोडिएको आकर्षक बेडरुमहरू । जसको झ्यालबाट सुन्दर पहाडी दृश्यहरू देखिन्छन् ।  

एक ठाउँमा भेला भएर चिया पिउने, छलफल गर्नका लागि बरन्डामा आरामदायी टेबल कुर्सीहरू छन् । बच्चाहरू खेल्ने ठाउँ, झोलुङ्गे कुर्सी सबै राखिएका छन् । 

‘शनिबार र आइतबार बिदा हुने भएर २ दिन धेरै मान्छेहरू आउँछन् । सोमबारदेखि शुक्रबार भन्दा २ दिन होमस्टेमा धेरै सेवाग्राही आउने गर्छन् ।’ उनले चिनियाँ भाषामा भनिन् । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली भाषा विभागका राजुले हामीलाई नेपालीमा अनुवाद गरेर सुनाए ।  

उनको घरमा बाहिरबाट पाउना आउँदा अथवा नेता वा अरू ठूलो पदमा रहेका मान्छे आउँदा उनको घरमा नै बस्ने गर्छन् । 

भूकम्पपछि चीनको गरिबी निवारण कोष र सरकारले गरेको सहयोग र उनले बैङ्कबाट ऋण लिएर होमस्टे निर्माण गरेकी थिइन् । होमस्टे सुरु गरेपछि धेरै ठूलाबडा मान्छेहरू पनि घुम्न आउन थाले । उनीहरूले होमस्टेलाई सुधार गर्नका लागि धेरै सुझावहरू पनि दिए । जसका कारण नयाँ कुरा सिक्न र नयाँ ढङ्गले काम गर्न सजिलो भएको उनले बताइन् । 

परिवारमा उनी, उनका श्रीमान, ससुराबा र २ जना छोरा छन् । उनीहरू पनि होमस्टे सञ्चालनको काममा उनलाई सहयोग गर्छन् । 

यो घर निर्माण गर्न गाउँका अरू घरको भन्दा बढी खर्च लागेको छ । १० लाखभन्दा बढी चिनियाँ युयान अर्थात १ करोड ६५ लाख नेपाली रूपैयाँ खर्च भएको उनले बताइन् । अरू घरभन्दा डिजाइनदेखि निर्माण र धेरै कुरामा राम्रो रहेको उनले बताइन् ।

भूकम्प नआएको भए यस्तो प्रगति नहुने उनले बताइन् ।  

उनले भनिन्– ‘दुर्घटना वा दुर्भाग्यपछि सौभाग्य पनि आउँदो रहेछ । भूकम्पले हाम्रो एउटा ढोका बन्द ग¥यो भने अर्को झ्याल पनि खुला भयो ।’

गाउँ पहिला सामूहिक रूपमा चलाउने गरिएको थियो । होमस्टे पनि सुरुमा सामूहिक रूपमा चलाए पनि १ वर्ष अघिदेखि व्यक्तिगत रूपमा चलाउन थालिएको छ । आफैले चलाउन थालेपछि वर्षको १ देखि २ लाख हाराहारी चिनियाँ युआन आम्दानी भएको उनले बताइन् । उनले भनिन्–‘तर २ लाख युआन अझै पुगेको छैन ।’ 

अहिले उनको होमस्टेको नाम चर्चित भएको छ । अहिले नान्चिङ सहरमा शाखा पनि सञ्चालनमा आएको छ । थेन दिदीको घर नामको ब्रान्डमा । त्यहाँ ७ कोठाको होमस्टे सुरु भएको छ । यसको अर्थ थेन दिदीले अहिले सफलता पाउँदै गएकी छिन् । तर बैङ्कबाट ऋण पनि लिएकाले उनलाई केही आर्थिक दबाब छ । 

यसअघि उनको परिवार हिमपहाड गाउँमा खेतीपातीको काम गर्थे । आम्दानी कम थियो भने आर्थिक दबाब पनि कम थियो । उनी पहिले गाउँ समितिको महिला मामिलाको प्रमुख पनि थिइन् । 

काम गर्न पक्कै पनि सजिलो छैन । गाह्रो पनि छ । हिउँदमा चिसो हुने भएकाले कम पर्यटक आउँछन् । अक्टोबर र नोभेम्बरमा लालुपाते फुल्ने बेलामा धेरै मान्छेहरू आउँछन्, त्यो बेला काम गर्न भ्याई नभ्याई हुन्छ । 

सरकार र चीनको गरिबी निवारण कोषले नयाँ बाटो देखाइदिएकोमा उनी खुसी छिन् । उनले भनिन्– ‘चीनको गरिबी निवारण कोषले घर बनाउन आर्थिक सहयोग त ग¥यो नै, त्योभन्दा बढी विचार, आत्मनिर्भर हुने चेतना दिएको छ । भूकम्पको हिसाबले दुर्भाग्य थियो । तर एउटा ढोका बन्द भए पनि अर्को झ्याल पनि खुल्यो । पहिला खेतीपाती थियो, जीवन पनि स्थिर थियो । भूकम्पपछि सरकारले नयाँ जीवन दियो । सरकारको सहयोगमा नयाँ जीवन थपिएको छ । कल्पना नगरेको जीवन अघि बढिरहेको छ ।’ 

होमस्टेको काममा लागि उनले कामदार राखेकी छैनन् । सबै काम आफैले गर्छिन् । परिवारका सदस्यहरूले पनि सहयोग गर्छन् । उनले भनिन्–‘घर आधार मात्रै हो, मुख्य कुरा मान्छे हो, अरू कामदार ल्याएर काम गर्नुभन्दा आफैले काम गर्दा आनन्द लाग्छ । पैसा पनि बचत हुन्छ । आफै चलाउने, राम्रो सेवा दिने, अरू पर्यटकहरू पनि आकर्षित हुन्छन् भन्ने चाहना छ ।’

उनको होमस्टेमा धेरै बाहिरका पर्यटकहरू आएका थिए । उनीहरूले जापानी होमस्टेको जस्तो सेवा पाएको प्रतिक्रिया दिएर गएका थिए । जसले उनलाई काम गर्न थप हौसला बढाएको छ ।  

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट २ सय १० किलोमिटर पश्चिम क्षेत्रमा पर्ने यान सहर माथि छ हिमपहाड गाउँ । सन् २०१३ मा गएको भूकम्पले थिलथिलो बनाएको यो गाउँ अहिले जुरुक्क उभिएको छ । साथै पहिलेभन्दा गाउँ अहिले आत्मनिर्भर पनि भएको छ । 

भूकम्पपछि चिनियाँ सरकार र चीनको गरिबी निवारण कोषको सहयोगमा यहाँ ६० घर पुनर्निर्माण भएका हुन् । चीन सरकारको ऋण र गरिबी निवारण कोषले दिएको अनुदान र र आफैले बैङ्कबाट ऋण लिएर यहाँका स्थानीहरूले पुनर्निर्माणको काम थालेका थिए । 

३ तलामा रहेका यहाँका अधिकांश घरहरूमा होमस्टेको व्यवस्था गरिएको छ । आधुनिक निर्माण सामग्री प्रयोग गरेर पक्की घर बनाइए पनि बाहिर बाँसलगायतका सामग्री प्रयोग गरेर बनाइएको छ । यो शैली सिचुवान प्रान्तको पुरानो घरको शैली हो । 

पर्यटकहरूलाई आर्कषण गर्नका लागि बाहिरी आवरण पुरानो शैलीको बनाइएको हो  । नयाँ शैलीको बनाउनेलाई सरकारले अनुदान नदिने बताएपछि बस्तीका सबैले पुरानो शैलीमा घर निर्माण गरेका थिए । 
यहाँका यी घरहरूमा पहिलो तलामा खाना बनाउने तथा खाना स्थल, दोस्रो तलामा पाउना बस्नका लागि सुविधा सम्पन्न कोठा र तेस्रो तलामा परिवारका सदस्य बस्ने व्यवस्था मिलाइएको छ । 

यसको किन गरिएको भन्ने प्रश्नमा गाउँका अध्यक्ष लिले स्थानीयलाई आवास सुविधासहित आयआर्जनका लागि यस्तो उपाय अपनाएको उल्लेख गरे । 

होमस्टेमा अझै बढी पर्यटक भित्राउनका लागि थेन दिदीले इन्टरनेटको पनि प्रयोग गरेकी छिन् । गाउँकै नमुना होमस्टे सञ्चालन गरेकी उनले यसलाई राम्रो बनाउन अझै मिहिनेत गर्दै जाने बताइन् । थेन दिदी हिमपहाडगाउँमा सबैको प्रेरणाको स्रोत बनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप