शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बेइजिङले महत्व नदिएकै हो ?

बिहीबार, ०४ असोज २०७५, १३ : ००
बिहीबार, ०४ असोज २०७५

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा चार दिने चीन भ्रमण सकेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति स्वेदश फर्के । एमाले–माओवादी एकतापछि बनेको एकीकृत पार्टीको अध्यक्षको हैसियतमा प्रचण्डको यो विदेश भ्रमण चीनका लागि पहिलो थियो । भदौ २१–२४ सम्म भारत भ्रमण गरेका प्रचण्ड पाँच दिनको भ्रमणका लागि शनिबार चीन भ्रमणमा निस्केका थिए । 

कहिले प्रधानमन्त्रीको हैसियतमा त कहिले पार्टी अध्यक्षको हैसियतमा विगतमा पनि पटक–पटक चीन भ्रमण गरेका प्रचण्डले हरेक पटक बेइजिङमा पुगेर चिनियाँ राष्ट्रपतिसँग भेट गर्थे । तर यस पटक प्रचण्ड आफ्नो भ्रमणमा बेइजिङ पुगेनन् । प्रचण्ड बेइजिङ नजानुको अर्थ हुन्थ्यो– उनको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट नहुने कार्यक्रम । 

यद्यपि चीनबाट फर्कंदा प्रचण्डले यसपालि राष्ट्रपति सीसँग भेटघाटको कार्यक्रम नरहेको बताए । ‘राष्ट्रपतिलाई भेट्ने सुरुमै योजना थिएन । उपराष्ट्रपति र मन्त्रीहरूलाई भेटेर कुरा राख्ने भन्ने थियो ।’ चीनबाट फर्केपछि प्रचण्डले विमानस्थलमा संवाददाताहरूसँग भने । तर चीन भ्रमणका बेला प्रचण्ड–सीबीच भेटको कार्यक्रम नहुनुलाई कतिपय कूटनीतिक–राजनीतिक मामलाका जानकारहरू भारतमा जस्तो प्रचण्डले चीनमा सम्मान नपाएको रूपमा पनि हेरेका छन् । 

चीन भ्रमण जानुभन्दा केही दिन अगाडिसम्म चिनियाँ राष्ट्रपति र प्रचण्डबीच भेट हुने दाबी प्रचण्डको सचिवालयले नै गरेको थियो । भारत भ्रमणमा प्रधानमन्त्री मोदीसँग लामो संवाद गरेका प्रचण्डले पक्कै पनि चिनियाँ राष्ट्रपति सीसँग पनि भेट चाहेका थिए । तर भेट चाहिँ सम्भव भएन । 

यो विषय किन चर्चामा छ भने जब भारत भ्रमण गरेर फर्केपछि प्रचण्डले भारतमा पाएको सत्कार, सम्मान र भेटघाटले भ्रमण राजनीतिक र कूटनीतिक दुवै वृत्तमा निकै सफल भएको दाबी गरेका थिए । त्यसै आधारमा चीन भ्रमणमा हुने प्रचण्डको भेट र उनले पाउने सम्मानलाई चासोका साथ हेरिएको थियो । भ्रमण सकेर फर्केपछि प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको बताएका थिए । 

भारत भ्रमणका बेला चीनका राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएका छलफलका विषयमा पनि आफूलाई ब्रिफिङ गराएको प्रचण्डले बताएका थिए । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको उहान वार्ता भएको थियो । 

भारत भ्रमणका बेला प्रचण्डले आफू र प्रधानमन्त्री ओलीबीच दुई वर्षपछि एकले पार्टी अध्यक्ष र अर्कोले प्रधानमन्त्रीको जिम्मा लिने सहमति बनेको पनि दाबी गरेका थिए । तर चीन भ्रमणमा चाहिँ प्रचण्डको यस्तो राजनीतिक भनाइ बाहिर आएन । 

हुन त प्रचण्डले भ्रमणमा जाँदा नै आाफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताएका थिए । फर्केपछि यसमा सफलता मिलेको उनले दाबी सुनाए, ‘दुईवटा सरकारबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ । दुई देशका पार्टीको सम्बन्ध सुदृढ गर्ने बारेमा वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिले गम्भीर छलफल भयो । दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।’

प्रचण्डको चीन भ्रमणमा दुई पार्टीबीचको सम्बन्ध सुधारको विषय प्रमुख एजेन्डा थियो । तर ठीक त्यहीबेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वको १५ सदस्यीय टोली चीन भ्रमणमै थियो । 

हुन त प्रचण्ड अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नाङ्किङमा भएको कार्यक्रममा सम्बोधन गर्न त्यहाँ पुगेका थिए । सीसँगको भेटको कार्यसूची नरहेकाले प्रचण्डले बेइजिङ पुगेनन् । भ्रमणका क्रममा प्रचण्डले नाङ्किङमै चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रूपमा छलफल गरे । विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको प्रचण्डले बताए । प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीकै शान्ति र निःशस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल गरेका थिए । चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको भेटको कार्यसूची नहुनुको पछाडि चिनियाँ असन्तुष्टिले काम गरेको मान्नेहरू पनि छन् । 

त्यसो भए के थियो त चिनियाँ असन्तुष्टि ? 
भारतीय र पश्चिमा मिडियाले एमाले–माओवादी चुनावी गठबन्धन र पार्टी एकतामा चिनियाँ चासो र सद्भाव रहेको बताउँदै आएको छन् । यसैसँग मेल खाने गरी प्रचण्डको पहिलो विदेश भ्रमण चीनबाट होस् भन्ने चिनियाँ चाहना थियो । यसका लागि उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री उपमन्त्री वाङ या चिङले नेपाल भ्रमणका बेला औपचारिक निमन्त्रण दिएका थिए । यद्यपि त्यसबाहेक चिनियाँ दूतावासले पनि भ्रमणको योजना बनाइरहेको थियो । तर अचानक प्रधानमन्त्री केपी ओलीको भ्रमणमा जस्तै प्रचण्डको भ्रमणमा पनि भारतले चासो देखायो । परिणाम प्रचण्ड पहिला भारत भ्रमणमा निस्के । भारत भ्रमण सकेर फर्केको एक साता नबित्दै चीन भ्रमणमा गए । 

भारतीय सरकारका लागि थिङ्क ट्याङ्कका रूपमा काम गरिरहेको इन्डिया फाउन्डेसनका निर्देशकसमेत रहेका राम माधवले प्रचण्डलाई भेटेर भारतको भ्रमणको निमन्त्रणा दिएका थिए । माधव नेपाल आएकै बेला एसियन इन्स्टिच्युट एन्ड डिप्लोमेसी एन्ड इन्टरनेसनल एफेयर्स तथा नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत थिङ्क ट्याङ्क समिट २०१८’ उद्घाटन प्रचण्डले नै गरेका थिए । 

यसअघि प्रधानमन्त्री केपी ओलीको पनि चीन भ्रमणको तयारी भइरहेको बेला भारतले ‘हस्तक्षेप’ गरेर पहिलो भ्रमण भारतबाट गराएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि चीन गएका थिए । उताबाट छलफल गरेर फर्किने दिन नै भारतले एकपक्षीय रूपमा प्रधानमन्त्री ओली भ्रमणको मिति तय गरेको थियो । भारतले मिति तय गरेपछि नेपाल सरकारमाथि एक प्रकारको दबाब परेको थियो । बाध्य भएर चीनको भ्रमण स्थगित गरी प्रधानमन्त्री भारत भ्रमणमा गएका थिए । स्रोतका अनुसार आफ्नो निमन्त्रणा बेवास्ता गरेर प्रचण्डले दिल्लीलाई प्राथामिकतामा राखेकोमा चिनियाँ पक्षको असन्तुष्टि थियो र चिनियाँ राष्ट्रपति र प्रचण्डबीचको भेट तालिका नबन्नुको पछाडि यो असन्तुष्टिले काम गरेको मानिएको छ । 

जेठमा चितवन पुगेर प्रचण्डले विकासको मोडेलमाथि कुरा गर्न आफू पालैपालो दुई छिमेकी भ्रमणमा जाने बताएका थिए । तर चीन जाँदा प्रचण्डले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेन्डा’ रहेको बताएका थिए । भारत भ्रमणमा ‘असाधरण’ सम्मान र स्वागत पाएका प्रचण्ड लगत्तै चीन भ्रमणमा जाँदै थिए, त्यसैले उनको भ्रमणमाथि भारतीय चासो पनि थियो । 

भ्रमणका क्रममा प्रचण्डले भदौ ३१ गते चिनियाँ क्रान्ति कालका ऐतिहासिक स्थलहरूको अवलोकन गरे । प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरे । प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मङ्गलबार भेटवार्ता भयो । प्रचण्डले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरे । नानजिङ्गमा २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा प्रचण्डले लिखित भाषण दिए । प्रचण्डले आफ्नो भाषणले चीनमा चर्चा पाएको पनि दाबी गरे । 

चीनका लागि नेपालका एक पूर्व राजदूत भन्छन्, ‘प्रचण्ड भारत भ्रमणमा जाँदा ८० प्रतिशत रअको मान्छे मात्रै भेट गरेका छन् । चीनले भ्रमणको लागि पहिला निम्ता दिएको थियो । प्रचण्ड भारत गए । त्यहाँ उनका भेटघाट र अभिव्यक्तिले चाइना सशङ्कित भयो । चाइनाले प्रचण्ड भारततिरै बढी ढल्केको बुझ्यो । जसले गर्दा प्रचण्डलाई चाइनाले डाउन गराइदियो । स्थिरता नभएसम्म चाइनासँगको एग्रिमेन्ट लागू नहुने, नेपालमा अस्थितता बढाउन प्रचण्डलाई प्रयोग गरेर भारतले नै गर्ने हो ।’ उनले भने– ‘प्रचण्डको पहिलेदेखि भारतलाई हेर्ने दृष्टिकोण अलि फरक छ । संविधान संशोधनको विषयमा पनि प्रचण्ड र भारतले हेर्ने दृष्टिकोण फरक छ । मोदी र प्रचण्डको बीचमा ग्याप छ । त्यसलाई ब्यालेन्समा ल्याउन बढी भारततर्फ लहसिएको हुनाले चाइना सचेत भयो । जसले गर्दा चाइनाले साइज डाउन गरायो । प्रचण्डलाई धेरै महत्व दिएर भ्रमणको लागि पहिला बोलायो तर प्रचण्ड पहिला प्रधानमन्त्री हुँदा पनि र अहिले पनि भारत भ्रमण पहिला गरे । पछिल्लो भारत भ्रमणले प्रचण्ड भारतसँगै बढी उठबस भएको अथवा भारततर्फ ढल्किएको चाइनाले बुझेको छ । त्यसैले पचण्डलाई चाइनाले महत्व दिएन अहिले ।’

प्रचण्डमाथि कहिले उत्तर र कहिले दक्षिणतिर ढल्कने गरेको आरोप लाग्छ । तर उनी यसलाई आफ्नो सन्तुलित कूटनीति मान्छन् । ओलम्पिक समापनमा सहभागी हुन प्रचण्ड ०६५ भदौ ८ मा बेइजिङ गए । प्रधानमन्त्रीका रूपमा प्रचण्डले पहिलो भ्रमण चीनबाट गरेकोमा भारत असन्तुष्ट देखिएको थियो । प्रधानमन्त्री भएको नौ दिनपछि चीन गएका प्रचण्डले फर्केपछि विमानस्थलामा पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि चाहिँ पहिलो भ्रमण भारतको गरेका थिए । 

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै उनले दुई उपप्रधानमन्त्री कृष्णबहादुर महरा र विमलेन्द्र निधिलाई विशेष दूतका रूपमा चीन र भारत पठाएका थिए । संविधान जारीपछि ओली प्रधानमन्त्री बनेको र उनले छिमेकीसँग बिगारेको सम्बन्ध आफूले सन्तुलित बनाएको प्रचण्डको दाबी थियो । भारतको गोवामा तत्कालीन प्रधानमन्त्रीका रूपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ एकै ठाउँको बसेको दुर्लभ तस्बिर सार्वजनिक भएको थियो । यसअघि ०७१ चैत ९ देखि १३ सम्म प्रचण्ड तत्कालीन एकीकृत माओवादीका अध्यक्षको हैसियतमा चीन भ्रमणमा गएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा चीन गएका प्रचण्ड युनान प्रान्तको कुम्मिङ सहरमा भएको कार्यक्रम र अन्य राजनीतिक भेटघाटमा सहभागी भएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप