शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

बिहीबार, ०४ असोज २०७५, ०९ : २२
बिहीबार, ०४ असोज २०७५

काठमाडौँ, — चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए । उनले  १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गरे । 


उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ बिआरआईमा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए । उनले  चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए । उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । 

ल्हासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै उनले अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिए । 

भेटका क्रममा उहाँले नेपालले बुधबार नै संविधान दिवस मनाइएको स्मरण गर्दै संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेकाले यसलाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । 

सो अवसरमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेकोे बताउनुभयो । 

उहाँले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिनुभयो । उपप्रधानमन्त्री हुले नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको जानकारी दिनुभयो । 

उपप्रधानमन्त्री हुले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्न चीनको सहयोग रहने बताउनुभयो । उहाँले नेपालमा चीनको विभिन्न परियोजना सञ्चालनमा रहेको स्मरण गर्नुहुँदै भूकम्पपछिको पुनःनिर्माणका लागि भएका सम्झौता कार्यान्वयनमा रहेको र यसमा थप सहयोग बढाउन सकिन्छ कि भन्नेमा छलफल भइरहेको समेत बताउनुभयो । 

काठमाडौँसम्म रेल पु¥याउन भइरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याइने, केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्न पहल गरिने जानकारी दिँदै उपप्रधानमन्त्रीले हुले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गरिरहेको पनि बताउनुभयो । 

सत्रौँँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छेन्दु पुग्नुभएको थियो । उहाँले बिहीबार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप