बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको निधन भएको एक हप्तापछि सरिफलाई रिहा गर्न अदालतको आदेश

बुधबार, ०३ असोज २०७५, २१ : ५७
बुधबार, ०३ असोज २०७५

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो । 

भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । 

अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उनका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी गरेका थिए । 

उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उनी बेलायतबाट स्वदेश फर्किएका थिए । सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो । 

भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो । 

उनीहरुलाई यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । पुनरावलोकनलाई लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो । 

उनीहरुले आफूहरुलाई लगाइएको आरोप गलत भएको र राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताउँदै आएका छन् । 

सरिफकी क्यान्सरपीडित श्रीमती कुलसुम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ । 

कुलसुमको अन्तिम संस्कारमा सहभागी हुन नवाज र मार्यम दुवैलाई अनुमति दिइएको थियो र सहभागी भएपछि फेरि जेलमै राखिएको थियो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बुधवार अबेर सम्ममा जमानतमा उहाँहरु रिहा हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप