शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुसहर वस्तीका बालबालिकाले यसरी मनाए संविधान दिवस

बुधबार, ०३ असोज २०७५, २१ : ००
बुधबार, ०३ असोज २०७५

–गोपालप्रसाद बराल 

बर्दिवास । महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहर समुदायले यसपाली पहिलो पटक आफ्नै बस्तीमा धुपी र अशोकका बिरुवा रोपेर संविधान दिवस मनाएका छन् । 

सुन्तली फाउण्डेशनले बनाइदिएको पक्की घरमा दुई वर्ष पहिले बस्न थालेका मुसहरले यसपाली पहिलोपल्ट आफ्नो बस्तीमा बिरुवा रोप्दै रचनात्मक काम गरेर आज संविधान दिवस मनाएका हुन् । 

यसअघि संविधान, कानून, आफ्ना अधिकार र कर्तव्यबारे पूरै बेखबर रहने मुसहर समुदायले आयोजना गरेका वृक्षरोपण कार्यक्रममा स्थानीय प्रहरी प्रशासन, सञ्चारकर्मी र सामाजिक कार्यकर्ता सहभागी भएका थिए । कुल ५० घरको नमूना बस्तीमा सडकको दुवै किनार र घरको आँगन अगाडि ५०/५० वटा धुपी र अशोकका बिरुवा रोपिएको एकीकृत नमूना मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्टु सादा मुसहरले बताए । 

‘संविधानले मुलुकलाई विधि र प्रक्रियाले चलाउने र यो सबैको साझा हुने कुरा थाहा पाएपछि यसपाली आफ्नै बस्तीमा संविधान दिवस मनाएका हौँ’, अध्यक्ष सादाले भने, ‘हामीले संविधान, कानून र जनताको अधिकारबारे भर्खरै अलीअली बुझ्न थाल्यौँ ।’ आपूmहरुको कार्यक्रमप्रति समाजका अन्य तप्काले सकारात्मक चासो र सहयोग गर्दा बल्ल हामी समाजका खास अङ्ग रहेछौँ भन्ने लागेको सो बस्तीकी जितो सादा मुसहरले बताए । 

वृक्षरोपण कार्यक्रममा बस्ती भित्रका स्कुले बालबालिकासहित सबै घरका सदस्यको सहभागिता थियो । वृक्षरोपण गरेका मुसहरले आफ्नो बस्तीमा रोपिएका धुपी र अशोक हुर्किने, बढ्ने क्रमसँगै मुलुकको संविधान पनि सबैको साझा छहारी हुँदै जाने आशा सङ्गालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप