केन्द्रीय संस्करण

बीमा प्रक्रिया ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा

person access_timeअसोज ३, २०७५ chat_bubble_outline0
file photo

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताएका छन् । 

आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताए । ‘विपद्बाट हुने क्षति न्यूनीकरणको कार्यक्रम ल्याउनु जरुरी छ,’ उनले भने । 

मन्त्री थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका घरपरिवारलाई सम्बन्धित मन्त्रालय तथा स्थानीय तहले सहयोग गर्ने र ती निकायलाई आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट माग गर्ने बताए । 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभर भएका बाढीपहिरो पीडितलाई आवश्यक राहतको कार्यक्रम समितिले ल्याउनुपर्ने बताए ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले विपद् उद्धारमा चाहिने आवश्यक साधन खरीदका लागि अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । 

बैठकमा विपद्का घटना, विपद्बाट प्रभावित राहत तथा पुनः स्थापना, कोषको अवस्था र खर्चको विपरण, खर्च समर्थन गर्ने र भुक्तानी दिने सम्बन्धमा छलफल भएको थियो । 

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव, तीन सुरक्षा निकायका प्रमुख एवं नेपाली सेनाका प्रतिनिधिको सहभागीता रहेको थियो । मुलुकमा पाँच महीनाको अवधिमा विपद्बाट २४६ जनाको मृत्यु भएको छ । जसमध्ये १३९ पुरुष र १०७ महिला रहेका छन् । यस्तै दुई हजार ४३० जना घाइते भएका छन् भने पाँच व्यक्ति बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ