शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयन भए मात्र पङ्गेनीप्रति सच्चा श्रद्धाञ्जलि

बुधबार, ०३ असोज २०७५, २० : ४०
बुधबार, ०३ असोज २०७५

काठमाडौँ । संविधानको कार्यान्वयन भए मात्र स्वर्गीय कमल पङ्गेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताइएको छ । 

नेपाली काङ्ग्रेस स्याङ्जाका पार्टी सभापति एवं संविधानसभा सदस्य स्व पङ्गेनीको ४५ औँ पुण्यतिथिका अवसरमा काङ्ग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा संविधान निर्माणमा पङ्गेनीको ठूलो योगदान रहेको नेपाली काङ्ग्रेसका नेताहरुले बताएका हुन् । 

सो अवसरमा काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले स्व पङ्गेनीले काङ्ग्रेस स्याङ्जाको सङ्गठनलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘बिपी कोइरालाले भनेजस्तै काङ्ग्रेस हेर्न स्याङ्जा जानुहोस् भन्ने सङ्गठन निर्माण गर्न तपाईंहरु लाग्नुहोस्’, उनले भने । 

काङ्ग्रेस नेता प्रकाशमान सिंहले पार्टी रुपान्तरणका लागि अहोरात्र खट्ने नेता स्व पङ्गेनी भएको बताए । ‘पङ्गेनीको नाममा स्थापित प्रतिष्ठानले देशभर काङ्ग्रेस सङ्गठन बलियो बनाउन लाग्नुपर्छ’, उनले भने । 

अर्का नेता गोपालमान श्रेष्ठले बिपी कोइरालाको संविधानसभाबाट संविधान निर्माण गर्ने सपना पङ्गेनीले पूरा गरेको उल्लेख गर्दै संविधान कार्यान्वयन भए पङ्गेनीको सपना पूरा हुने बताए । ‘पङ्गेनीको नाममा स्याङ्जामा हृदयरोग केन्द्र स्थापना गर्नुपर्छ’, उनले भने । 

काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्याङ्जा काङ्ग्रेस सङ्गठन बलियो बनाउन पङ्गेनीको महत्वपूर्ण भूमिका रहेको भन्दै स्याङ्जा काङ्ग्रेस बलियो भए मात्र पङ्गेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 

सम्पर्क समितिका सभापति देवीप्रसाद अर्याल, काङ्ग्रेस नेता धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, पूर्वसांसद राजु थापा लगायतले पङ्गेनी स्याङ्जा काङ्ग्रेसका कुशल सङ्गठक रहेको उल्लेख गर्दै काङ्ग्रेस स्याङ्जामा रहेको गुट उपगुटको अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए । 

दुई पटक स्याङ्जा काङ्ग्रेसको पार्टी सभापति र दोस्रो संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्य बन्नुभएका पङ्गेनीको साउन २० मा स्याङ्जामा हृदयघातका कारण निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप