शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री शाही पनि चीन प्रस्थान

बुधबार, ०३ असोज २०७५, २० : ३६
बुधबार, ०३ असोज २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित आज चीन प्रस्थान गरेका छन् । मुख्यमन्त्री शाहीले पहिलो पटक औपचारिक विदेश भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य धर्मराज रेग्मी र प्रदेश सरकारका विज्ञ प्रा. डा. पुण्यप्रसाद रेग्मीसहित उनी आज बिहान एयर चाइनाको विमानबाट चीन गएको कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिए । 

चीनको सिचुआन प्रान्तका गभर्नर यिङ् लीको औपचारिक निमन्त्रणामा त्यसतर्फ गएका मुख्यमन्त्रीले त्यहाँ हुने १७औँ ‘वेस्टर्न चाइना इन्टरनेशनल फेयर÷बेल्ट एण्ड डेभलपमेन्ट कन्फरेन्स’मा सहभागी हुने कार्यक्रम रहेको कार्यवाहक मुख्यमन्त्री भण्डारीले बताए । 

मुख्यमन्त्री शाहीले चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका निम्ति चीन सरकारको सहयोग आह्वान गर्ने बताए । उनले भ्रमणका क्रममा कर्णाली प्रदेशको मुख्य सडक हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणार्थ चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाए । 

छ दिने चीन भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सीमा नाका निर्माण, जलविद्युत् विकास, विमानस्थल तथा पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले जानकारी दिए । 

आजैमात्र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पनि चीन गएका छन् । त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चीन भ्रमणमा नै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप