मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जुन छोरी कहिल्यै आफु छोरी बन्न रुचाईनन् !

बुधबार, ०३ असोज २०७५, १९ : ३८
बुधबार, ०३ असोज २०७५

बुटवल–  हट्टाकट्टा  जिउडाल, केश छोट्टाएर चिटिक्क परेको जुल्पी, सर्ट पाईन्ट र कहिले कोट, गोरो अनुहार आँखामा कालो चस्मामा सजिए पछि उनलाई नजिकबाट नचिन्ने युवतीहरु भुतुक्कै हुन्छन् ।   उनीसँग गत तिजमा टाँस्सिएर तस्वीर खिचाएर फेशबुकमा राखेका केहि युवतीहरु अभिभावकको सोधपुछ  र निगरानीमा पर्नुपर्यो ।  यो  केटासँग किन त्यसरी टाँस्सिएर फोटो खिचाएको ?  भनेर सोध्न थाले परिवारले । होइन, केटी मान्छे हुन् के भनेर भन्दा अधिकांशले पत्याएनन् । 

 हो, झट्ट हेर्दा उनलाई कसैले पनि केटी मान्छे भनेर पत्याउँदैनन् । उनको पहिरनदेखि स्वभाव र सबैखाले लवज पुरुषकै छ ।  उनी हुन् बुटवल नगरीमा सञ्चारकर्मीका रुपमा परिचित नाम उषा किरण पन्थ ।  खास त उनको सुपरिचय यहाँबाट सुरु हुन्छः 

गुल्मीको  छत्रकोट गाउँपालिका वडा नम्बर ४ , हर्दिनेदामा पिता शेषनारायण पन्थ र माता रक्षादेवी पन्थको कोखबाट २०४२ साल असोज २७ गते जन्मिएकी उषाकिरण २०६० सालदेखि  अहिलेसम्म निरन्तर सञ्चार क्षेत्रमा उषाकिरण नै बनरे उज्यालो दिईरहेकी छिन् । 

हाल  बुटवलको रेडियो रिपव्लिकमा स्टेशन म्यानेजर रहेकी उषाकिरणको सञ्चार क्षेत्रको यात्रा तत्कालिन दैनिक संघर्ष (हाल साप्ताहिक ) पत्रिकाबाट सुरु भएको हो । २०६० सालमा उनले त्यस पत्रिकाको चितवन प्रतिनिधिको जिम्मेवारी पाई त्यसतर्फ लागेकी थिईन् ।  पछि बुटवल टुडेमा पनि उनले चितवन प्रतिनिधिका रुपमा काम गरिन् । 

त्यसक्रममा उनले चितवनकै कायाकैरन दैनिकमा पनि ब्यवस्थापनको जिम्मेवारी सम्हालिन । भरतपुरको  रेडियो त्रिवेणीमा ५ बर्ष सम्म ब्यवस्थापक भएर बसिन् ।  त्यहीबाट प्रकाशित हुने ‘सबैको पत्रिका’ मा प्रबन्ध निर्देशक समेत रहिन् । २०७० सालमा उनी चितवनबाट उही पूरानो कर्मक्षेत्र बुटवल फर्किइन् । त्यसयता उनी रेडियो रिपब्लिकमै स्टेशन म्यानेजर रहँदै आएकी छन् । 

साङ्गितिक​ क्षेत्रमा पनि उनी चर्चित छन् 

सञ्चारकर्मीका रुपमा मात्र होइन, साङ्गितिक क्षेत्रमा पनि चर्चा  हुने नाम हो उषाकिरण । दर्जनौ  आधुनिक गीतकी रचनाकार उषाकिरणको पछिल्लो– ‘सम्झना त आउँछ तिम्रो’ बोलको आधुनिक गीत यतिबेला नेशनल बक्स अफिस म्युजिक एवार्ड  उत्कृष्ट ५ को नोमिनेशनमा परेको छ ।

तिम्रो याद एल्बमबाट उक्त बोलको गीत उत्कृष्ट शब्द रचनाको नोमिनेशनमा परेको हो । तर  उनीसंग यतिबेला राहदानी नभएका कारण त्यो एवार्ड लिन थाईल्याण्ड जान नसकेको बताउँछिन् ।  अर्जुन पोखरेल र संगिता पोखरेलको स्वरमा सजिएको उक्त गीत दिन प्रतिदिन लोकप्रिय हुँदै गएको छ ।

‘ तिमीलाई माया गर्छु’ बोलको गीत उनी आफ्नै स्वरमा गायकी छन भने अन्य दर्जनौ गीत उनले रचना गरेकी छन । बुटवलबाटै प्रकाशित ‘ फरक साप्ताहिक ’ पत्रिकाको प्रवन्ध निर्देशक समेत रहेकी उषाकिरण संगित र सञ्चार क्षेत्र दुबै एकैसाथ अगाडी बढाउने लक्ष्य लिएको बताउँछिन् । 

तपाईले जन्मेदखि अहिलेसम्म साडी लगाउनु भएको छ ? भन्ने प्रश्नमा उनले भनिन्– ‘अँह लगाएकी छैन । सानोमा बाबाआमाले सर्टपाईन्ट लगाउन दिनुभयो त्यसैमा बानी बस्यो ।’ उनले भनिन्– ‘२०५९ साल फागुनमा गुल्मीको श्रृङ्गामा म गाडी दुर्घनामा परे । मेरो हात भाँचियो । टाउँमा चोट लागेकोले केश काट्नुपर्यो । त्यस अघिसम्म मेरो कपाल केही लामो थियो ।

 त्यसपछि अहिलेसम्म मेरो केश कटिङ्ग पुरुषको जस्तै रहेको छ । ढाका टोपी खुब ढल्काउनु हुन्छनि ? निकै मन पर्छ कि क्या हो ? भन्ने प्रश्नमा उनले भनिन– ‘ढाका टोपी त कहिलेकाँही मात्र हो, मलाई बढी मात्रामा क्याप लगाउन मन लाग्छ ।  सर्ट पाईन्ट मात्रै लगाउन मन लाग्नुको कारण के हो ? भन्ने अर्को प्रश्नमा उनी भन्छिन्– ‘म पुरुषले भन्दा चुनौती र जोखिम मोल्दै आएकी मान्छे हुँ । साडी उछारिलो हुँदैन ।  लगाउन पनि मन पर्दैन । जसरी पुरुष ठाँटिएर हिड्छ उभन्दा म ठाँटिएर हिड्न मन लाग्छ ।’  

उनी रेडियोहरुको छाता संगठन वोर्डकाष्ट एशोसियन अफ नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत छिन् । उनी पर्वतको रेडियो दिदी बहिनीको वार्षिकोत्सवमा महिला स्टेशन म्यानेजरमध्ये १० उत्कृष्ट स्टेशन म्यानेजरका रुपमा  पूर्वप्रधानमन्त्री प्रचण्डको हातबाट सम्मानित समेत भएकी थिइन् । 

 यता चौतरी विश्व वित्तिय संस्थाले पनि उनलाई पूर्व उर्जामन्त्री जनादर्न शर्माको हातबाट ४ उत्कृष्ट रेडियो स्टेशन म्यानेजरका रुपमा सम्मानित गरेको थियो । उनीसहित रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर इन्दिरा अर्याल, बुटवलकै रेडियो मुक्तिकी स्टेशन म्याने्जर कल्पना तिवारी र भैरहवा एफएमकी  स्टेशन म्यानेजर सम्झना शर्मा पनि सम्मानित भएकी थिईन् । 

उषाकिरण यसपालीको तीजमा साडीमा जमेका दिदी बहिनीहरुको कोखमा लोर्के ठिटो बनेर सेल्फीमा निकै रमाउँदै थिइन् । अविवाहित उनलाई विवाह गर्ने बेलामा सांस्कृतिक बाध्यताले साडी लगाउनै पर्ने हो कि ? भन्ने जिज्ञासामा उनले भनिन्– ‘पहिलो कुरा त मैले विवाह गर्नेबारे सोचेकै छैन । यदि विवाह गर्नैपर्ने बेला आए साडी लगाउनैपर्छ भन्ने छैन । सर्ट पाईन्ट अझ भनौ बेहुला जस्तै म बेहुली पनि कोट पाईन्टमै ठाँट्टिएर विवाह गर्दा के फरक पर्ला र ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप