शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धमाधम पुनःनिर्माण गर्दै कामपा

बुधबार, ०३ असोज २०७५, १६ : ४०
बुधबार, ०३ असोज २०७५

–शर्मिला पाठक 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पुनः निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।  भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई चासोका साथ लिएको छ ।

रानीपोखरी र बागदरवारको पुनःनिर्माणका लागि कामपामा क्रमशः दुई र पाँच आशयपत्र पेश भएका छन् । त्यसैगरी स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले निर्माण गर्न आशयपत्र पेश गरेका छन् । 

ऐतिहासिक सम्पदा रानीपोखरी २०७२ सालको भूकम्पको कारण क्षतिग्रस्त भएको थियो । विभिन्न विवादका कारण क्षति भएको तीन वर्ष बितिसक्दासम्म निर्माण शुरु हुन नसक्दा एक महिनाअघि कामपाले आशयपत्र माग गरेको थियो । सोही मागअनुरुप दुई निर्माण कम्पनीले निर्माणका लागि आशयपत्र पेश गरेको कामपा खरिद एकाइ प्रमुख प्रमोद पोखरेलले जानकारी दिए । 

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको जनाउँदै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा सो पोखरी बनाउन लगाएका थिए । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् वि.सं १७२५ मा र शिलापत्र वि.सं १७२७ मा राखिएको थियो । नेपालभाषामा यसलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ, जसको अर्थ नयाँ पोखरी हो । 

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पुरानो मन्दिरको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । तीमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । 

बागदरबार भत्काउन पाँच निवेदन 
हाल कामपाको कार्यालय रहँदै आएको बागदरबार(हरिभवन भएको बताइएको छ) भत्काउनका लागि पनि पाँच निवेदन परेको कामपाले जनाएको छ । करिब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ ।

भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकाल बताउँछन् । भत्काउने काम शुरु भएको तीन महिनामा सकिने बताइएको छ । रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ ।

निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनले भूकम्पका कारण क्षतिग्रस्त बागदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताए । 

त्यसैगरी सवारी साधन चापलाई व्यवस्थापन गर्नका लागि नयाँ सडकमा निर्माण गर्न लागिएको स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले आशयपत्र पेश गरेको प्रमुख खरेलले बताए । उनका अनुसार रानीपोखरी र स्मार्ट पार्किङ कुन निर्माण कम्पनीलाई दिने भन्ने विषयमा बोलपत्र मूल्याङ्कन समितिले दुई दिनभित्र निर्णय गर्ने छ ।

दुई तीन दिनपछि रानीपोखरी र पार्किङ निर्माणको काम शुरु हुने छ । उक्त पार्किङमा एकै पटक ५०० सवारी साधन अट्ने बताइएको छ । महानगरले स्मार्ट र स्थानीयवासीले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीलाई एकल वा संयुक्तरुपमै भए पनि जिम्मा दिने कामपाको योजना छ । 

भूकम्पकै कारण क्षति पुगेको काष्ठमण्डप र धरहराको पुनः निर्माण भने शुरु भइसकेको छ । गत वैशाख ३१ गते क्षमापूजा गरी पुन निर्माण शुरु भएको काष्ठमण्डपको निर्माण आगामी तीन वर्षमा सक्ने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले दिएको एकै रुखको सालको काठबाट सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको बताइन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो ।

केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार बाह्रौँ शताब्दीमा बनेको भनिएको मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । 

त्यस्तै, भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटक–पटक ढलेकाले पुरानो संरचना यथावत् रुपमा सिसाले छोपेर २२ तलाको नयाँ बनाउने राष्ट्रिय पुनः निर्माण प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्री प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । 

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माण लागत रु चार अर्ब लाग्ने बताइएको छ । यसअघि नेपाल टेलिकमलाई धरहरा बनाउने जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप