शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवस : देशै भर उत्सव, मधेसमा कालो दिवस

बुधबार, ०३ असोज २०७५, १६ : १६
बुधबार, ०३ असोज २०७५

काठमाडौँ । देशैभरि संविधान दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना भइरहेको बेला प्रदेश २ भने सुनसान रहेको छ । 

संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा प्रदेश २ को सरकार गठन भएको छ । त्यो सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सहयोग गरेको छ । 

यद्यपि सरकारको नेतृत्व गरेका फोरम नेपालका प्रदेशका मन्त्री तथा सांसदहरु कुनै पनि कार्यक्रममा सहभागी भएका छैन । सरकारी स्तरबाट प्रदेश तथा स्थानीय तहमा संविधान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाइरहेको छ तर त्यसमा फोरम नेपालका तर्फबाट जनप्रतिनिधि बनेका कोही पनि सहभागी भएनन् । 

राजपा नेपालले संविधान दिवसको विरोधमा कार्यक्रम नै आयोजना गरेको छ । मधेशका २० वटै जिल्लामा उनले कार्यक्रमको आयोजना गरेको छ । जसमा केन्द्रबाट अध्यक्ष मण्डलका सदस्यहरु स्वयं सहभागी भएका छन् भने प्रदेशका मन्त्री तथा राज्यमन्त्रीलाई समेत जिल्ला तोकेर जिम्मेवारी दिएको छ ।

यता फोरम नेपालका प्रदेश २ समितिले भदौ ३१ गते एक विज्ञप्ति जारी असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको थियो । 

संविधान दिवसका उपलक्ष्यमा हुने कुनै पनि कार्यक्रमम सहभागी नहुन समितिका संयोजक रेणु यादवले निर्देशन दिएकी थिइन् तर त्यसको भोलिपल्ट फोरम नेपालको केन्द्रीय कार्यालयबाट एक विज्ञप्ति जारी गरी कालो दिवस नमनाउन कार्यकर्तालाई निर्देशन दिएको थियो ।

प्रदेश सरकारका निजामति कर्मचारीले आज विभिन्न कार्यक्रम गरी जनकपुरमा संविधान दिवस मनाए पनि त्यसमा कुनै पनि मन्त्रीको सहभागीता थिएन । 

यता, भूमी व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अहिलेको अवस्थामा कालो दिवस मनाउनुको कुनै तुक नरहेको बताए । उनले भने, ‘हामीले संविधानप्रति असहमति जनाउँदै आइरहेका छौँ, संशोधनका लागि सरकारमा दबाब पनि दिइरहेका छौँ । तर, जुन संविधानतहत हामी सपथ लिएर सरकार बनाएका छौँ, संसद बनेका छौँ, त्यसैले नैतिकताको हिसाबले विरोध गर्न मिल्दैन । त्यही भएर हाम्रो न विरोध, न समर्थन ।’

आफ्नो गृह जिल्ला रौतहटमा रहेका उनले भने, ‘पिडित जनताले स्वतःस्फूर्त त्यसको विरोध र समर्थन गरिरहेका छन् । तर हामीलाई पार्टी केन्द्रीय कार्यालयले जे निर्देशन दिएको छ, त्यो अनुसार गरेका छौँ ।’ प्रदेशले जारी गरेको विज्ञप्तिपछि केन्द्रको विज्ञप्ति आएकाले स्वतः प्रदेशको विज्ञप्ति खारेज भएको बताउँदै उनले फोरम नेपालका कार्यकर्ताहरु केन्द्रको निर्देशन अनुसार चलिरहेको बताए ।

तर, फोरम नेपालका उपाध्यक्ष एवं मधेश प्रदेश समितिका संयोजक रेणु यादवले संविधान संशोधन नभएसम्म कालो दिवस मनाइरहने बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप