शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको करियरको ४८ औँ ह्याट्रिक, टोटनहम इन्टरसँग स्तब्ध

बुधबार, ०३ असोज २०७५, ०७ : ३३
बुधबार, ०३ असोज २०७५

एजेन्सी । लियोनेल मेस्सीले आफ्नो करियरको ४८ औँ ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले डच च्याम्पियन पिएसभी आइन्डहोभनलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिग अन्तरगत समूह बीको पहिलो खेलमा बार्सिलोनाका कप्तानले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सिलोनाको दोब्बर बनाए ।

लगत्तै मेस्सीले इभान र्याकिटिचको एरियल पासलाई भली गर्दै बार्सिलोनाको तेस्रो गोल गरे ।

त्यसपछि सामुयल उमटिटीले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

तर, एक खेलाडी कम भएर पनि मेस्सीले १५ यार्ड टाढाबाट गोल गर्दै बार्सिलोनाको चौँथो तथा आफ्नो व्यक्तिगत तेस्रो गोल पूरा गरे ।

आन्द्रेस इनियेस्टाको बिदाईसँगै बार्साको कप्तानको जिम्मेवारी पाएका मेस्सीले यो सिजन पछिल्ला ६ खेलमा सात गोल गरेका छन् ।

योसँगै च्याम्पियन्स लिगमा उनले आठ ह्याट्रिकसहित १०४ गोल गरेका छन् । उनले लगातार १४ औँ च्याम्पियन्स लिगको प्रतियोगितामा गोल गर्न सफल भएका छन् ।

उता, समूहकै अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टर मिलानले टोटनहम हटस्पर्सलाई पराजित गरेको छ ।

क्रिस्टियन एरिक्सनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाए पनि खेलको अन्त्यतिर इन्टरले दुई गोल फर्काउँदै जीत हासिल गर्यो ।

इन्टरको जितमा माउरो इकार्डी र माटियास भेसिनोले गोल गरे ।

स्पर्सले युरोपियन प्रतियोगितामा घरेलु मैदानबाहिर इटालियन प्रतिद्वन्द्वबिरुद्ध पछिल्ला १० खेलमध्ये एकमा मात्र जीत हासिल गर्न सकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप