बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुन बुधबार चीन जाँदै

मङ्गलबार, ०२ असोज २०७५, २० : ३३
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन् । 

छदिने औपचारिक भ्रमणका लागि उनी बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । 

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा उहाँले ‘एक क्षेत्र एक मार्ग’(बिआरआइ)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । 

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्नेछन् । 

भ्रमणबारे राष्ट्रपतिलाई जानकारी 

उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । राष्ट्रपति भण्डारीलाई आज अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप