बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १५ काे मृत्यु (अपडेट)

मङ्गलबार, ०२ असोज २०७५, ०५ : ००
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं– मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।  जसमा ६* नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । 

समाचारअनुसार हिजो (सोमबार) मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टी मनाउन उनीहरुले मदिरा सेवन गरेका थिए । सोमबार मलेसियाली राजाको जन्मदिन भएकाले त्यहाँ सार्वजनिक छुट्टी दिइएको थियो ।

क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।   जसमा १५ जना नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ७  नेपालीसहित १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए । 

अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको छ । 

मलेसियामा सस्तो मूल्यका मदिराहरु नेपालीहरुको रोजाईमा पर्ने गरेको र बिरामी भएकामध्ये धेरै नेपालीनै रहेको बताइएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ । 


*यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप