बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

वन्यजन्तुको आक्रमणबाट बच्न राष्ट्रिय निकुञ्ज वरिपरि पक्की पर्खालसहितको जाली

मङ्गलबार, ०२ असोज २०७५, १४ : ०१
मङ्गलबार, ०२ असोज २०७५

कावासोती– राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पुर्याएको  भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो । 

निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रामा अन्नबालीमा क्षति पुर्याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताए । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुले क्षति पुर्याएको भन्दै अहिले कावासोती नगरपालिका पिठौली, साढ, अमलटारीलगायतका विभिन्न स्थानमा पर्खाल निर्माण गर्न लागिएको छ । 

नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि गत आवमा मात्र रु ७० लाख बजेट विनियोजन गरी १५०० मिटर क्षेत्रमा पर्खालसहितको जाली लगाएको छ । नगरपालिकाले वडा नं ७, १०, ११, १२, १३, १५ र १७ मा वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक्नका लागि जाली लगाउन लागेको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । मध्यवर्तीले पनि शान्तिकुञ्ज वनक्षेत्रमा २२० मिटरमा पर्खाल निर्माण गरेको छ । 

नगरपालिकाले यस आवमा पर्खाल निर्माणका लागि रु ८० लाख विनियोजन गरेको छ । नगरपालिकाअन्तर्गत मात्र कम्तीमा सात किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने देखिएको नगर प्रमुख पुनले बताइन् । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख समस्याका रूपमा वन्यजन्तुले पुर्याउने धनजनको क्षति भएको गुनासो आएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सोहीअनुसार बजेट विनियोजन गर्दै आएको उनले बताइन् । 

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतार लगाइएकामा त्यसलाई समेत नाघेर तथा चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको जाली निर्माण थालिएको प्रमुख पुनले बताइन् । पर्खाल तीन फिट अग्लो हुनेछ भने त्यसमाथि तीन फिट अग्लो जाली र त्यसमाथि दुई काँडेतार राखिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप