मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नदी दोहन गर्नेबाट दुई महिनामै ३८ लाख

मङ्गलबार, ०२ असोज २०७५, १२ : ४९
मङ्गलबार, ०२ असोज २०७५

मेलम्ची– सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ ।  असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारवाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । उनले आरोप पुष्टि भए कडा कारवाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए । 

जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरुप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्य विधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।

बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप