केन्द्रीय संस्करण
अर्थ–वार्ता

'गरिब र महिलाहरू इमानदार हुन्छन्, उनीहरूमा गरेको लगानी डुब्दैन '

person explore access_timeअसोज २, २०७५ chat_bubble_outline0


झण्डै चार वर्ष अगाडि नेपाल लघुवित्त बैङ्कर सङ्घले लघुवित्तको सफ्टवेयरमा एकरूपता ल्याउन फिनसफ्ट नामक संस्था गठन गर्यो । फिनसफ्टले देशविदेशका सफ्टवेयर कम्पनीसँग डिल गरेर सस्तोमा सफ्टवेयर उपलब्ध गराओस् भन्ने उद्देश्य राखेको थियो । ३४ लघुवित्त संस्था र यूके एडको प्रोजेक्ट सक्षमले समेत  फिनसफ्टलाई अनुदान दियो  ।  पियोरसफ्ट नेपालले पाएको सफ्टवेयर निर्माणको काम राम्रो डेलिभरी नदिई छोडेको लघुवित्त संस्था र फिनसफ्टले भन्दै आइरहेका छन् । उता पियोर सफ्ट आफूले सफ्टवेयर बनाएर दिएको भन्दै पारिश्रमिकको माग गर्दै अदातल पुगेको छ । यता सक्षमले दिएको अनुदानसमेत फिर्ता लगिसकेको छ । फिनसफ्ट फेल भयो वा बनाइयो, सक्षमले अनुदान किन फिर्ता लग्यो ? लघुवित्तहरूको अहिलेको अवस्थालगायतका विषयमा लघुवित्त बैङ्कर सङ्घका उपाध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रकाशराज शर्मासँग रातोपाटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानी : 

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको अवस्था कस्तो छ ?
लघुवित्तको क्षेत्रले २५ वर्ष पूरा गरेको छ । त्यसलाई म औपचारिक माइक्रोफाइनान्स भन्न रुचाउँछु । २०४९ सालदेखि ग्रामीण विकास बैङ्कबाट औपचारिक लघुवित्तको कार्यक्रम सुरु भएको हो  । यसअघि औपचारिक भन्दा पनि विभिन्न रूपमा थिए । त्यतिबेलाका नेपाल बैङ्क, वाणिज्य बैङ्कजस्ता बैङ्कले सघन बैङ्किङ कार्यक्रम भनेर गरे  । साना किसान विकास आयोजना जस्ता विभिन्न नामका थिए । बङ्गलादेशको ग्रामीण विकास पद्धतिको रेप्लिकेट  दुईवटा ग्रामीण विकास बैङ्कबाट नेपाल सरकारले गरेको हो । पछि एनजीओबाट मात्रै सस्टेनेबल माइक्रोफाइनान्स पुर्याउँन सकिँदैन भनेर फर्मल माइक्रोफाइनान्स सुरु भयो । नेपाल राष्ट्र बैङ्कले तत्कालीन विकास बैङ्कअन्तर्गत लाइसेन्स दिन सुरु गर्यो । निर्धन उत्थान, स्वावलम्बन लघुवित्त, छिमेक आदि सुरु भयो । २०४९ सालदेखि २०७५ सालसम्मको  कुरा गर्दा  लघुवित्त परिपक्व भयो । वित्तीय साक्षरता, वित्तीय पहुँचलगायतमा लघुवित्तले के योगदान गरेको छ, छर्लङ्गै देखिन्छ । नेपालका ७७ जिल्लामा लघुवित्तको पहुँच पुगेको छ । अहिले राष्ट्रिय र क्षेत्रीय गरेर ६५ वटा लघुवित्त छन् । ती सबै लघुवित्तबाट १ खर्ब ४६ अर्ब ऋण विपन्न परिवारमा लगानी छ । लगभग १९ लाख लघुवित्तका ऋणी छन् । २९ लाख सदस्य छन् । उनीहरूको हातमा यो पैसा छ ।  नेपालको वित्तीय क्षेत्रमा लघुवित्तको ५.७ प्रतिशत योगदान छ । अब यो क्षेत्र माइक्रो मात्र रहेन । कुनै  कारणले लघुवित्तमा ढलमल हुने हो भने समग्र वित्तीय क्षेत्रलाई असर गर्छ ।  लघुवित्त क्षेत्रमा ५० अर्ब बचत छ । 

एउटै व्यक्ति चार पाँचवटा लघुवित्तमा सदस्य बनेर चार पाँच ठाउँबाटै ऋण लिने पनि देखिएको छ । यस्तो डुप्लिकेसनले समग्र लघुवित्त क्षेत्रमा समस्या निम्त्याउँदैन ?
मल्टी सप्लाईका कारण भनौँ वा विकृति भनौँ यसले ऋणीहरू दोहोरिएका छन् । कतिपय अवस्थामा कसैलाई कर्जा चाहिएको छ तर एउटा मात्र संस्थाले त्यो आवश्यकता पूरा गर्न सकेन भने अर्को लघुवित्तमा गएर लिन पाउने अवस्था रहन्छ । थोरै–थोरै भए पनि आफूलाई चाहिएको पैसा लिनुपर्ने हुन्छ । तर ऋणको अत्यधिक बोझ ऋणीलाई हुनु भएन । योसम्म मल्टिपल बरोइङ ठीक छ । माइक्रोफाइनान्स एसोसिएसनले वैशाखमा आचारसंहिता बनाएको छ, त्यसले एक जना व्यक्तिलाई तीन संस्थासम्मले लगानी गर्न सक्छ तर लगानीको रकम नेपाल राष्ट्र बैङ्कले तोकेको भन्दा बढी हुनु हुँदैन भनेको छ । जस्तै; विनाधितो अहिले पाँच लाख छ । योभन्दा बढी हुनु हुँदैन । यदि एक जनाले (एउटा संस्थाले) जोखिम महसुस गरेर पूरा लगानी गर्न सक्तैन भने अरूले पनि लगानी गरे हुन्छ भन्ने हो । मेरो अनुमान २८ लाखमध्ये २० लाख ऋणी छन् भने लगभग १४ लाख जतिले एउटै मात्र संस्थाबाट लिएको होलान् । बाँकी ४, ५ लाखले मल्टिपल संस्थाबाट लिएको हुन सक्छ ।

यस्तो डुप्लिकेसन किन बढिरहेको छ ?
लघुवित्त खोल्न अझै पनि सजिलै अनुमति पाउन सक्ने अवस्था छ । ६५ वटा लघुवित्त आफैमा धेरै हो । अझै खुल्ने क्रम जारी छ । बैङ्क तथा वित्तीय संस्थामा ४३ प्रतिशत संस्था लघुवित्तको छ । शाखाको कुरा गर्ने हो भने लगभग ३७ प्रतिशत लघुवित्तको मात्र छ । एकातिर मर्जर आवश्यकता हो भन्ने कर्मसियल बैङ्कहरूले देखाइसकेका छन् भने अर्कातिर लघुवित्तमा लाइसेन्स जारी छ तर मर्जरका कुरा आइरहेको छ । यसले विरोधाभास देखिन्छ । संस्था बढी हो भने लाइसेन्स दिन रोक्नुपर्यो नि । राष्ट्र बैङ्कले अनौपचारिक रूपमै लघुवित्त एक वर्षभित्रमा ११५ वटा पुग्छ भनिरहेको छ ।  डुप्लिकेसन हुनुमा आवश्यकताभन्दा कम ऋण दिनु पनि हो र संस्थाहरूको सङ्ख्या धेरै हुनु पनि हो । 

लघुवित्तले वित्तीय समावेशीकरण गर्यो, गरिबी निवारणमा पनि केही हदसम्म सहयोग पुर्याएको छ तर आजकाल लघुवित्तहरू बढी नाफामुखी हुन थाले भन्ने आरोप लाग्न थालेको छ नि ?
तपाईंले भनेको कुरामा केही हदसम्म सत्यता छ । जब देशको कानुनले माइक्रोफाइनान्सलाई लिमिटेड कम्पनीका रूपमा दर्ता गर्छ, अनि स्टक मार्केटमा दर्ता गर्नसक्ने बनाउँछ भने पक्कै पनि त्यहाँ नाफा लिन सक्ने अवस्था सिर्जना गरेको भन्ने बुझिन्छ । लिमिटेड कम्पनी भन्नेवित्तिकै नाफा बढाउने पक्कै हो, किनकि त्यहाँ संस्थापक हुन्छन् । 

तर लघुवित्त भनेको सामाजिक व्यवसाय पनि हो । नाफा हुनुपर्छ तर रिजनेबल हुनुपर्छ । अत्यधिक कमर्सियलाइजेसन हुनुभएन । सेयर मार्केटले स्पेकुलेसन गर्यो । पुँजी थोरै भएकाले पुँजी वृद्धिका लागि सेयर जारी हुन्छ भनेकाले सेयर बजारमा यसको नाफा बढ्यो । होइन भने हामीले विपन्न वर्गलाई हेर्नुपर्छ । उसको पहुँच छ कि छैन त्यो हेर्नुपर्छ । घर–घरमा सेवा पुर्याउँदा महँगो हुन्छ तर त्यसमा बढी फाइदा लिन खोज्नु हँुदैन ।

तपाईंहरू विनाधितो विपन्न वर्गमा लगानी गर्नुहुन्छ । त्यस्ता लगानी डुब्ने खतरा कतिको हुन्छ ?
हाम्रोमा २९ लाख सदस्य रहेकोमा लगभग सबै महिला छन् । महिलाहरू इमानदार हुन्छन् । उनीहरूमा गरेको लगानी डुब्दैन । हाम्रो एनपीएल १ प्रतिशतभन्दा कम छ । अर्को कुरा हामीले गरिबहरूमा लगानी गर्नुपर्ने भएकाले उनीहरू बढी इमानदार रहेको देखियो । विविध कारणले माइक्रोफाइनान्सको गुणस्तर केही खस्केको हो कि भन्ने हामीले पनि महसुस गरेका छौँ । अस्वस्थ प्रतिस्पर्धाले गुणस्तर खस्केको छ । 

माइक्रोफाइनान्सको सफ्टवेयरमा एकरूपता ल्याउन फिनसफ्टको अवधारणा ल्याउनुभएको थियो । त्यो फेल भएको हो ?
हाम्रो सपना थियो, माइक्रो फाइनान्समा अन्तर्राष्ट्रिय स्तरको प्रविधि अर्थात सफ्टवेयर प्रयोग गर्ने तर यो विविध कारणले रोकिएको छ । यसका आधारमा क्रेटिड इन्फरमेसन सेयर गर्न सकियोस भन्ने थियो । फिनसफ्टमा ३४ वटा कम्पनीले लगानी गरेको छ । सक्षम भन्ने प्रोजेक्टले यसलाई अनुदान पनि दिएको थियो । पियोर सफ्ट नेपालले पाएको जिम्मेवारी राम्ररी पूरा गर्न सकेन । उसले डेलिभरी गर्यो भन्यो तर हामीले त्यस्तो पाएनौँ । उसले काम गरेको पैसा पाउनुपर्यो भनेर अदालतमा मुद्दा हालेको छ । अदालतले जे भन्छ, त्यही गर्ने हो । अहिलेलाई हामीले परिकल्पना गरेजस्तो सपना  पूरा भएन । 

सक्षमले फिनसफ्ट निर्माणमा अनुदान दियो र नदेखिने तरिकाले उसले आफ्नो अनुकुलको कम्पनी सफ्टवेयर निर्माणका लागि ल्यायो । अब त्यो कम्पनीले काम गर्न नसकेपछि फिनसफ्टले अनुदान फिर्ता लग्यो ।

सफ्टवेयर निर्माणमा सक्षमको इन्ट्रेस्ट हाबी भयो । उसले भनेको नभएपछि अनुदान नै फिर्ता लग्यो भन्ने सुनिन्छ । वास्तविकता के हो ?
तपाईंले भनेको जस्तो आधार त छैन तर उसले अनुदान फिर्ता लगेको चाहिँ हो । सक्षमले फिनसफ्टका लागि दिएको अनुदान मात्र फिर्ता लगेको हो । अरू माइक्रोफाइनान्सलाई दिएको विविध शीर्षकका अनुदान भने जारी नै राखेको छ । यो प्रोजेक्ट फेल भयो भनेर मात्र लगेको हो । फिनसफ्ट एउटा नेपाल लघुवित्त बैङ्कर सङ्घले खोलेको संस्था हो । यसमा ३४ वटा लघुवित्तको लगानी छ । यूके एडअन्तर्गतको सक्षम नामक प्रोजेक्टले झण्डै ३, ४ करोड अनुदान दिएको थियो । काम गर्न नसकेपछि त्यही अनुदान फिर्ता लगेको हो । सक्षमले इनोभेसनका लागि अनुदान दिन्छ । शाखा विस्तार, वित्तीय साक्षरता, डिजिटलाइजेसनमा दिएको छ । अहिले फिनसफ्टले मलाई जानकारी भएअनुसार अरूसँग मिलेर काम गरेको छ । 

अब फिनसफ्ट के हुन्छ ? 
फिनसफ्टमा लघुवित्त संस्थाहरूको लगानी भए पनि त्यो एउटा स्वतन्त्र संस्था हो । अब उसले  सफ्टवेयरसम्बन्धी नै केही गर्ला तर अहिले के गर्दैछ मलाई जानकारी छैन । 

माइक्रो फाइनान्समा चुनौती के छ ?
आन्तरिक चुनौती भनेको डुप्लिकेसन हो । बाह्य चुनौती भनेको सस्टेनेबल हो । माइक्रोफाइनान्स आफ्नो खुट्टामा उभिन सक्छ, सक्तैन । आफ्नो खर्च धान्न सक्छ, सक्तैन भन्ने थियो । अब त्यो समस्या रहेन । लघुवित्तहरू राम्ररी सस्टेन भइसकेका छन् । अहिले सबैजसो माइक्रोफाइनान्सले राम्रै लाभांश दिइरहेका छन् । सेयर बजारमा पनि राम्रै छन् । अब फन्डिङको सस्टेनेबिलिटीको कुरा छ । जसलाई लगानी गर्छौं त्यसबाट मात्र बचत उठाउन पाउँछौं ।  बचतले लगभग ३२, ३३ प्रतिशत मात्र धान्छ । बैङ्क वित्तीय संस्थामा कर्जाभन्दा निक्षेप बढी हुन्छ । हाम्रोमा कर्जा बढी हुन्छ । राष्ट्र बैङ्कको डिप्राइभ्ड सेक्टर लेन्डिङ भनेर छ । हरेक बैङ्क तथा वित्तीय संस्थाले आफ्नो लगानीको निश्चित प्रतिशत लगानी डिप्राइभ्ड सेक्टरमा गर्नुपर्छ । लगभग ६३ प्रतिशत फन्डिङ उनीहरूबाट आएको छ । अब बैङ्कहरूको यो क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता हटेको छ । किनभने उनीहरूले तोकेको डिप्राइभ्ड सेक्टरमा लगानी गरिसकेका छन् । अब सप्लाईको स्रोत सुक्यो । यो सुकेपछि या त लोन पाइएन वा पाए पनि बढी ब्याजदर तिर्नुपर्ने हुन्छ । 

अन्त्यमा, तपाई सीईओको रूपमा रहनुभएको लक्ष्मी लघुवित्तको अवस्था कस्तो छ ?
हाम्रो इतिहास लामो छैन । सात वर्ष भयो स्थापना भएको । हामी लगभग आधा नेपालमा  छौं । अहिले ४४ जिल्लामा ६२ वटा शाखा छन् । लक्ष्मी लघुवित्त लक्ष्मी बैङ्कको सहायक कम्पनी हो । कतिपय कुरा जहाँ लक्ष्मी बैङ्क छैन, त्यहाँ सो बैङ्कको प्रोडक्ट बेच्न सक्छौं । धितो लिएर १० लाखसम्म दिन सक्ने अवस्था छ तर कसैलाई २० लाखसम्म चाहियो भने हामी दिन सक्छौं । हामी २३औं नम्बरमा जन्मेको लघुवित्त हो । ६५ वटा लघुवित्तमा हामी १०औं नम्बरमा छौं । राष्ट्र बैङ्कको नीतिअनुसार ब्याजदर १८ प्रतिशतमा झार्नुपर्यो । एक वर्ष लगभग २ प्रतिशत ब्याजदर घट्यो । कस्ट अफ फन्ड ६ प्रतिशत बढ्यो  बैङ्कहरूको ब्याजदरका कारण हाम्रो नाफा घ्टयो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...