शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सन्देश लिएर चीन ?

मङ्गलबार, ०२ असोज २०७५, ०९ : ४२
मङ्गलबार, ०२ असोज २०७५

एसके यादव

काठमाडौँ । विदेश भ्रमण पहिले चीन कि भारत ? नेपाली राजनीतिज्ञहरुका लागि यस प्रश्नको एउटै उत्तर हुने गरेको छ, भारत । 

यो परम्परालाई एकआधबाहेक कसैले तोड्न सकेको छैन । 

प्रधानमन्त्रीका रूपमा कसैको भ्रमण होस् वा कुनै नेताका रूपमा । सबैको प्राथमिकतामा पहिला भारत नै परेको देखिन्छ । 

विगतमा जो प्रधानमन्त्रीले पहिला चीनको भ्रमण गरे, त्यसपछि भारतको भ्रमण गर्दा त्यति स्वागत सत्कार नपाएको इतिहास छ । सोचे जस्तो सम्झौताहरू पनि भएनन् । अर्थात् भारतले नेपालका राजनेताहरुले पहिला भारतकै भ्रमण गरोस् भन्ने स्पष्ट सन्देश दिएको छ । 

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो भ्रमण चीनबाट गर्ने तयारी गरेका थिए । तर, भारतले निम्तो नै दिएर पहिला आफ्नो देशको भ्रमण गरायो ।

यता, शनिबार चीन भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि पार्टी अध्यक्षको रूपमा पहिलो भ्रमण चीनको गर्ने तयारी थियो । सुरुमा चीनले अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेको थियो र त्यहाँ जाने तयारी पनि शुरु भइसकेको थियो । 
त्यसैबेला भारतले निम्तो गरेर चीनभन्दा पहिले आफ्नो देशको भ्रमण गरायो ।

भदौ २२ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा रहने प्रचण्डको तयारी थियो तर उनले पछि आफ्नो भ्रमणलाई चार दिनमा सीमित गरे । 

भारतबाट फर्केको ठीक एक हप्तापछि उनी चीन भ्रमणमा गएका हुन् । जबकि उनी असोज १ गते चीनको भ्रमणमा जाने उनको कार्यक्रम थियो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनको बारेमा विशेष कुराकानी गरेर फर्केर चीन गएका प्रचण्ड निकै उत्साहित देखिन्थे । भारतबाट मान सम्मान र आशा भरोसा लिएर फर्केका अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट त्यस्तै अपेक्षा गरेका छन् । 

प्रधानमन्त्री मोदीले वैशाख १४ गते चीनको भ्रमण क्रममा राष्ट्रपति सी जिनपिङसँग गरेको वार्ताको बारेमा प्रचण्डसँग विस्तृत कुरा राखेका थिए । चीन भ्रमणको मिति तय गरेर भारत भ्रमणमा गएका प्रचण्डसँग मोदीले चीनको विषयमा कुरा राख्नु आफै ठूलो कूटनीतिको विषय हो । 

भारतका प्रधानमन्त्री मोदीले अध्यक्ष प्रचण्डलाई भनेका थिए, ‘चार सय वर्ष पहिले चीनसँग भारतको जस्तो सम्बन्ध थियो, त्यस्तो सम्बन्ध अहिले छैन । मैले चार सय वर्षअघि चीन र भारतको जस्तो सम्बन्ध जस्तो थियो त्यस्तै बनाउन चाहेको छु तर कता के–के नमिलेको जस्तो देख्छु ।’

प्रधानमन्त्री मोदीसँग भएको कुरा सुनाउँदै प्रचण्डले भने, ‘मोदी र सीबीचमा एक पटक अर्थतन्त्र र एसियाको सभ्यतालाई फेरि स्थापित गर्नुपर्ने विषयमा छलफल भयो, जुन कुरा उहाँले मलाई रणनीतिक ढङ्गबाट निकै गम्भीरताका साथ सुनाउनुभएको थियो ।’

चीनसँग भारतले गर्न चाहेको आर्थिक साझेदारीको विषयमा पनि प्रचण्डसँग मोदीले खुलेर कुरा राखेका थिए । भदौ २४ गते भारत भ्रमणबाट स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मोदीले चीनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेको जानकारी दिएका थिए ।

कूटनीतिक अर्थ
चीन भ्रमणमा जानुअघि भारत भ्रमणमा रहेका प्रचण्डसँग मोदीले चीनको बारेमा कुरा गर्नु कूटनीतिक अर्थ लुकेको विज्ञहरू बताउँछन् । भारतबाट फर्केपछि प्रचण्ड चीनको भ्रमणमा जानेछन् भन्ने कुरा प्रधानमन्त्री मोदीलाई थाहा थियो । त्यही भएर भारत–चीनको सम्बन्धका बारेमा खुलेर कुरा राखेका थिए ।

चीन भ्रमणमा गएको बेला प्रचण्डले भारतको कुरा गर्दा प्रधानमन्त्री मोदीले भनेको कुरा पनि त्यहाँ गरून् भन्ने नियतका साथ त्यस्तो भनेको हुनुपर्ने केही विश्लेषकहरुको भनाई छ । कतिपयले भने भारतमा आउन लागेको चुनावका कारण प्रधानमन्त्री मोदीले चीनसँग सम्बन्ध सुधार गर्न यस्तो रणनीति चालेको हुन सक्नेतर्क गर्छन् । 

विदेश मामलाका जानकार एवम् प्रतिनिधिसभा सदस्य डा. दीपक भट्ट भन्छन्, ‘चीनसँग भारतको राम्रो सम्बन्ध नभए पनि पछिल्लो समय उतैबाट सुधारको प्रयास भएको देखिन्छ र प्रचण्डसँग पनि चीनका बारेमा कुरा गर्नु त्यही कूटनीति लुकेको हुनुपर्छ ।’

चीन र भारतबीच प्रतिस्पर्धा भए पनि पछिल्लो समय सम्बन्धमा सुधार भएको बताउँदै डा. भट्टले भारतले आफ्नो पोजिसन प्रष्ट पार्न चाहेको टिप्पणी गरे । 

सन् २०१९ मा भारतमा हुने चुनावका कारणले पनि चीन र नेपालसँग सम्बन्ध सुधार गर्ने मुडमा भारत रहेको बताउँदै उनले नेपालसँग सम्बन्ध सुधार गर्ने नियत पनि चुनाव नै रहेको बताउँछन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले चीनबाट भ्रमणको शुरुवात गर्दै भारतको भ्रमणमा गएका थिए । त्यसपछि उनको सम्बन्ध भारतसँग राम्रो हुनसकेन । 
तत्कालीन माओवादीका अध्यक्षको रूपमा २०६९ सालमा चीनको भ्रमण गरेका उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ मा चीनको भ्रमण गरेका थिए ।

पछिल्लो समय भने भारत र चीनसँग सन्तुलन मिलाउन सफल अध्यक्ष प्रचण्ड भारत र चीनबीच राम्रो सम्बन्ध होस् भन्ने चाहेको चीनका पूर्व राजदूत टङ्क कार्की बताउँछन् । 

उनी भन्छन्– ‘भारत–चीनको सम्बन्ध राम्रो भए मात्र नेपालको भलाइ हुने बुझेका प्रचण्डले त्यसको सन्तुलन मिलाउनका लागि यी दुई देशबीचको भ्रमण हुन लागेका हुन् ।’ मोदीले पनि प्रचण्डसँग चीनको कुरा गर्नु भनेको सम्बन्ध सुधार गर्न चाहेको उनको बुझाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप