बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न

मङ्गलबार, ०२ असोज २०७५, ०८ : ५५
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर (घर) फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

जाँदाजाँदै आमाबाबुका प्रश्न

प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको हो । कसैको घरमा लगिएको छैन । यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ?

अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो । तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन् । त्यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाए । कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ? तर, यो आवाजले अनुसन्धान गर्न कसरी रोक्यो ?

व्यक्ति तोकेर यो अपराधी हुनुपर्छ भनेर दबाब दिइएकाले अनुसन्धान गर्न गाह्रो भएको भनेर प्रधानमन्त्रीले बोल्नुभयो । हामीले त्यसो भनेका होइनौँ । बरु, नक्कली मान्छेलाई उभ्याएर यसको नाममा किटानी जाहेर दिनूस् भन्ने त प्रहरी हो । मैले निर्दोष मान्छेलाई कसरी उजुरी दिन सक्छु भनेको हुँ । तर, उल्टै दबाब हामीले दिएका हौँ भन्ने आरोप प्रधानमन्त्रीले लगाउनुभयो । यो सब उहाँलाई स्पष्ट पार्ने मन थियो । तर, प्रधानमन्त्रीले मलाई सबै थाहा छ भनेर धेरै बोल्न दिनुभएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप