बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमाथि अर्को आरोपः सौरभले आत्महत्या गरेका हैनन्, हत्या भएको हो, प्रमाण प्रहरीलेनै नष्ट गर्यो

सोमबार, ०१ असोज २०७५, १९ : ४९
सोमबार, ०१ असोज २०७५

काठमाडौं– मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा  एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको दाबी गरेको हो । सो परिवारले आफुहरुमाथि अन्याय भएको भन्दै सडक आन्दोलनको घोषणा समेत गरेको छ ।

मृतकका बुबा अर्जुन उप्रेतीले प्रेस विज्ञप्ति वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।

उनले भनिन्,‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखिनै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो, हुनपनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’ 

पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे । 

उनले भने,‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भिर भएर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’

सरकार अपराधीलाई संरक्षण गर्दैछ भनेर उनको आरोप छ । उनले थपे,‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’

उदयनारयण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए ।  मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् ।

उनले भनिन्,‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप