शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी राजधानीको निकास दिनुपर्छ : मन्त्री जमकटेल

सोमबार, ०१ असोज २०७५, १९ : ३७
सोमबार, ०१ असोज २०७५

हेटौँडा । प्रदेश नं ३ का प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले बोल्दै ३ नं प्रदेशको अस्थायी राजधानी हेटौँडा रहेकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिअनुसार नै स्थायी राजधानी तोक्ने विषयमा प्रदेश सरकारले उपयुक्त समयमा निर्णय लिने बताएका छन् । 

मन्त्री जमकटेलले केही दिन अघि बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्यहरुले विषय समयमा उठाएको विभिन्न जिज्ञासाको आज उत्तर दिँदै हेटौँडा–काठमाडौँ जोड्ने सुरुङमार्गको यथाशीघ्र निर्माणको लागि प्रदेश सरकारले आवश्यक कानूनी प्रक्रिया शुरु गरी सकिएको जानकारी दिए । 
  

उनले गोरखा र धादिङको सिमानामा निर्माण हुने बुढीगण्डकी विद्युत् आयोजनालाई निश्चित समयमा निर्माण कार्य सम्पन्न गर्न सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सहकार्य गरिरहेकोे उल्लेख गरे ।

मन्त्री जम्कट्टेलले हेटौँडा–काठमाडौँलगायत प्रदेशको अन्य जिल्लामा जोड्ने सडक निर्माण गर्न र विपत् बाढीपहिरो पीडितलाई तत्काल उद्धार गरी पुर्नवासको लागि सरकारले अल्पकालीन योजना तर्जुमा गरी कार्यान्वयन गरिन लागेको ढृढता व्यक्त गरे । 

सोही बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश कार्य सञ्चालन कोष २०७५ सम्बन्धी विधेयक छलफलको लागि प्रस्ताव टेबल गरेका थिए । प्रस्तावको छलफलमा उठेका जिज्ञासालाई मन्त्री ढुङ्गेलले उत्तर दिँदै प्रदेशको १३ जिल्लामा आकस्मिक रुपमा आइपर्ने विपत्को व्यवस्थापन, पुर्नवास, सडकको मर्मतसम्भार साथै राजमार्गहरुमा हुने दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचारको लागि राज्यको कोष आवश्यक भएकाले सो विधेयकलाई सरकारले ल्याएको बताए । 

प्रदेशसभाका सदस्यहरु रीना गुरुङ केशवराज पाण्डे र रीता माझीले प्रदेश सरकारले बाढीपीडित जनतालाई तत्काल बसोबास गर्न, घाइतेको उद्धार र स्थानीय जनतालाई पिउने पानी उपलब्ध गराउन र उपेक्षित वर्गका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउन माग गरे । 

उक्त बैठकमा प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिका संयोजक रामेश्वर फुयाँलले नियमावलीको संशोधन प्रतिवेदन र कृषि, स्वास्थ्य र सामाजिक समितिका अध्यक्ष घनश्याम दाहालले प्रदेश स्वास्थ्यसम्बन्धी विधेयक २०७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असोज २ गते ११ः३० बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप