शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव :  तमसुक जफत, जग्गा फिर्ता

सोमबार, ०१ असोज २०७५, १५ : ३१
सोमबार, ०१ असोज २०७५

गुल्मी–  ‘६ हजार दिएर १० लाखको तमसुक’ शीर्षकमा रातोपाटीले प्युठान वादीकोटका रेकमबहादुर खत्रीको रकमी धन्दाको पर्दाफास गरेसँगै उनी प्रहरीको फन्दामा परेका छन् । 

 उनले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६  पुर्कोटदहका  ७८ वर्षीय वृद्ध ज्ञानबहादुर घर्तीलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक गराई  १० रोपनी जग्गा भदौं ५ गते  जिल्ला मालपोत कार्यालयबाट  दृष्टि पास गराएका थिए ।  

   समाचार प्रकाशित भएलगत्तै  प्रहरीले उनलाई पक्राउ गरेको  हो । उनले घर्तीलाई दिनुपर्ने १० लाख रुपैयाँ  नदिएको स्वीकार गर्दै जग्गा फिर्ता गर्न मञ्जुर भएका छन् । 

शनिबार ईलाका प्रहरी कार्यालय पुर्कोटदहले प्युठान झिम्रिक गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराको सक्रियतामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । 
वडाध्यक्ष महतराले भने–‘ ‘मैले रातोपाटीमा  रेकमबहादुरको कर्तुतको खबर हेरेपछि रेकम बहादुरलाई प्रहरीमा बुझाउन सहयोग गरेको हुँ । ’

    पुर्कोटदह प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक  रविराज थपलियासँग उनले  यसबारे ढाँट्न नछाडे पछि  जिल्ला प्रहरी प्रमुख  दिपक कुमार बस्नेतलाई  भएको रिर्पोटिङ्ग को आधारमा रेकमबहादुर,  उनका मतियार पुर्कोटदहका चिन्ताबहादुर कुँवर र तकमान थापालाई सदरमुकाम तम्घास पठाइएको थियो । 

जिल्ला प्रहरी कार्यालयमा पनि उनले २०६९ सालमा ती बृद्धलाई ३ लाख रुपैयाँ दिएको , २०७१ मा ४ लाख र २०७४ मा डेढ लाख  दिएको जिकिर गरेका थिए । 

सोही क्रममा केही पीडित उनीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडल समक्ष डेलिगेशन गर्न समेत पुगेका थिए । 

पौडेलले  रेकमबहादुरले ठगी धन्दा चलाएको स्पष्ट भएको बताउँदै जग्गा फिर्ता गर्न लगाइने बताए । सोही अनुसार घर्तीको जग्गा सोमबार मालमोतमार्फत रेकमबहादुरले फिर्ता गरेका छन् ।  रेकमबहादुरले  गल्ती भएकाे स्वीकार्दै अाफूले जग्गा फिर्ता गरेकाे बताएका छन् ।


यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले रेकमबहादुरको घरमा रहेका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा लिने र उनबाट लिएको रकम भने ब्याजसहित हिसाव गरेर भुक्तानी गराउन पहल गर्ने बताएका छन् । 
उनले जोजोबाट बढी रकम असुलेका छन् त्यो फिर्ता गर्न लगाइने पनि प्रजिअ पौडेलले बताए । 

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले घटनाबारे छानविन समिति गठन गरेर उनीबाट पीडित सबैलाई न्याय दिलाउने गरी प्रशासन अगाडी बढ्न सुझाव दिए । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप