बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समृद्धि हासिल गर्न परिवार नियोजनमा लगानी

सोमबार, ०१ असोज २०७५, १३ : ४३
सोमबार, ०१ असोज २०७५

नेपालमा परिवार नियोजन कार्यक्रम विशेषगरी बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नका लागि सुरुवात गरिएको भए पनि यो प्रजनन स्वास्थ्यको अभिन्न अङ्ग बन्न पुगेको छ र मानिसको गुणस्तरीय जीवनसँग यसको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । नेपालको संविधान २०१५ ले मातृ तथा शिशु मृत्यु घटाई औसत आयु बढाउन परिवार नियोजन सेवालाई नागरिकको आधारभूत आवश्यकताको रूपमा अङ्गीकार गरेको छ । दिगो विकास लक्ष्य २०१५–२०३० ले यौन तथा प्रजनन् स्वास्थ्य सेवा र परिवार नियोजनसम्बन्धी सूचना, शिक्षा र सेवामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । हरेक प्रजनन उमेरका नागरिकको गुणस्तरीय प्रजनन् स्वास्थ्यका लागि परिवार नियोजन सेवाकोे सहज पहुँच र उपलब्धता अपरिहार्य छ र यो आधारभूत आवश्यकता र प्रजनन अधिकारभित्र पर्छ ।  

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट भए गरेका प्रयासहरूको फलस्वरूप कुल प्रजनन दर उल्लेख्य रूपमा घटी प्रतिस्थापन प्रजननको नजिक (२.३) पुगिसकेको छ । त्यस्तै मातृ, नवजात शिशु, शिशु तथा बाल मृत्य दरमा समेत उल्लेखनीय रूपमा कमी आएको तथ्य सार्वजनिक भइसकेको छ । परिवार नियोजनसम्बन्धी व्यवहार परिवर्तन भएको र परिवार नियोजन सेवामा नागरिकको पहुँच तथा उपयोगितामा समेत वृद्धि भइरहेको पाइएको छ । तथापि परिवार नियोजनका आधुनिक साधनको प्रयोग दर विगत १० वर्षदेखि स्थिर (४३ प्रतिशत मात्र) देखिएको छ (स्रोतः नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६) । यसले परिवार नियोजन क्षेत्रमा काम गर्ने व्यक्ति तथा सङ्घ संस्थाहरूलाई थप जिम्मेवारी बोध मात्रै गराएको छैन प्रजनन उमेर समूहका व्यक्तिहरूमा देखिएको परिवार नियोजनका साधन प्रयोगसम्बन्धी व्यवहारको थप अध्ययन गर्न उत्प्ररितसमेत गरेको छ ।

परिवार नियोजनले महिलालाई सही समयमा गर्भाभारण गर्न, उपयुक्त गर्भान्तर र जन्मान्तर कायम राख्न, अनिच्छित गर्भधारण रोक्न र दम्पत्ति वा यौनसाथी बीच आपसी समझदारी विकास गर्न मद्दत पु¥याउँछ । यौन तथा तल्लो पेटको सङ्क्रमण तथा प्रजनन अङ्ग (डिम्बाशय) को क्यान्सरबाट बच्नसमेत परिवार नियोजनका साधनहरूले सहयोग पुर्याउँछन् । एचआईभी तथा यौन रोगको जोखिममा भएका र सङ्क्रमितहरूले परिवार नियोजनका साधनहरूको प्रयोग गरेमा अनिच्छित गर्भ रोक्दछ र आमाबाट बच्चामा एचआईभी तथा यौन सङ्क्रमणसमेत सर्ने संभावना कम हुन्छ । यसले नागरिककोे प्रजनन् चाहना अनुरूप प्रभावकारी परिवार नियोजनका साधन अपनाई प्रजनन स्वास्थ्यलाई व्यवस्थित बनाई गुणस्तरीय जीवन जिउन र  प्रजनन उमेर समूहका व्यक्तिहरूलाई शिक्षा पूरा गरी सशक्त र आर्थिक रूपमा बलियो बनाउन मद्दत गर्दछ । फलस्वरूप प्रजनन उमेर समूहका व्यक्तिहरूको अनुपात अनुसार उत्पादकत्व वृद्धि भई देशको आर्थिक सबलीकरणमा टेवा पुग्छ । 

नेपालका विभिन्न ठाउँहरूमा अझै पनि परिवार नियोजनका साधनहरूको प्रयोगले शरीरलाई कमजोर गर्छ, विभिन्न रोगहरू लाग्दछन, देउता रिसाउँछन्, बाँझोपना आउँछ आदि जस्ता धारणाहरू व्याप्त छन् । स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय परिवार नियोजन सेवाका विभिन्न पक्षहरू जस्तै परामर्श, सङ्क्रमण रोकथाम, नियमित सेवा, उपयुक्त साधन छनौटको मौका, ग्राहक र सेवा प्रदायक बीच छलफल, ग्राहकमैत्री व्यवहार, सेवाको गोपनियता आदि अझै पनि सन्तोषजनक स्थितिमा पुगेको देखिँदैन ।  विशेष गरी किशोर किशोरीहरू, नव विवाहितहरू, उत्तर प्रसूति अवस्थाका महिला र तिनका श्रीमानहरू, घरबाहिर कार्यरत युवायुवतीहरू, सीमान्तकृत र सेवाको पहुँचभन्दा बाहिर रहेका व्यक्तिहरूको ज्ञान र व्यवहारमा परिवर्तन ल्याई लक्षित वर्गसम्म नियमित रूपमा परिवार नियोजन परामर्श र सबै विधिहरूसहित गुणस्तरीय सेवा पुर्याउन चुनौतीहरू कायमै छन् । परिवार नियोजनसम्बन्धी समुदायमा चेतना अभिवृद्धि गरी व्यवहारमा परिवर्तत ल्याउन महिला स्वास्थ्य स्वयं सेविका तथा समुदाय स्तरमा कार्यरत सेवा प्रदायकहरूबाट भए गरेका प्रयासहरू मात्र प्रयाप्त छैनन् । समुदायमा प्रजनन स्वास्थ्य र परिवार नियोजन परामर्श र सेवासम्बन्धी थप कार्य गर्न सोहीअनुसार तालिम प्राप्त जनशक्ति तथा श्रोत साधनहरूको विकेन्द्रीकरण जरुरी छ ।  

देश संघीय संरचनामा गएसँगै परिवार नियोजन सेवा सुदृढीकरणका लागि पालिका तथा वडास्तरसम्म परिवार नियोजनका सम्पूर्ण सेवाहरू उपलब्ध भएको सुनिश्चित हुनुपर्छ । सातवटै प्रदेशमा स्वास्थ्यकर्मीहरूको क्षमता विकासको लागि आवश्यक पूर्वाधार र औजार, उपकरणसहितको क्लिनिकल तालिम केन्द्र हुनु जरुरी छ । हरेक स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय सेवा प्रवाह गर्न उपयुक्त वातावरण तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाका साधन, उपकरण तथा सामग्रीहरूको नियमित आपूर्ति तथा व्यवस्थापन गर्न पालिका तह सक्षम हुनुपर्छ ।  स्वास्थ्य सेवाको दिगोपनाका लागि हरेक पालिका तथा स्वास्थ्य संस्थामा गुणस्तर सुधार प्रणालीको कार्यान्वयन तथा परिवार नियोजन सेवालाई अन्य सेवासँग एकीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न र नियमित अनुगमनका लागि पालिका स्तरीय संयन्त्रको स्थापना यथाशक्य चाँडो गर्नुपर्छ । परिवार नियोजन कार्यक्रमलाई थप सुदृढ र प्रभावकारी बनाउन हरेक स्थानीय तहले निम्न कार्यहरू नियमित रूपमा गर्नु आवश्यक छ :


-     सूचना, शिक्षा, सञ्चार तथा व्यवहार परिवर्तन गतिविधिहरू । 
-    सेवा प्रदायक तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि । 
-    परिवार नियोजनका साधनहरूको आपूर्ति तथा व्यवस्थापन ।
-    स्वास्थ्य संस्थाहरूबाट सुसूचित छनौटसहितको नियमित तथा गुणस्तरीय परिवार नियोजन सेवा प्रदान ।
-    लामो अवधिको अस्थायी÷स्थायी परिवार नियोजन सेवा सबै ठाउँमा विस्तार । 
-    सेवा नभएका स्थानहरूमा परिवार नियोजन सेवा शिविर सञ्चालन ।
-    परिवार नियोजन सेवालाई स्वास्थ्य सेवा तथा अन्य क्षेत्रका कार्यक्रमसँग एकीकरण ।  
-    लक्षित समुदायका लागि परिवार नियोजन सेवाको पहँुच बढाउन गाउँ घर तथा खोप क्लिनिक र स्वास्थ्य एकाइ रहेका स्थानहरूबाट समेत परिवार नियोजन परामर्श, आवश्यक सेवा प्रदान तथा प्रेषण सेवा ।

यसका लागि परिवार नियोजनमा सरकारी, निजी, गैरसरकारी र सामाजिक बजारीकरण क्षेत्रहरूका बीच साझेदारी भई सबै क्षेत्रवाट थप स्रोत तथा साधनहरू जुटाउनु जरुरी छ । अनि मात्र परिवार नियोजन शिक्षा र सेवा सर्व सुलभ भई ‘सानो परिवार, सुखी र समृद्ध परिवार’को दशकौंदेखिको अधुरो नाराले सार्थकता पाउने छ ।  

पाटन नगरपालिका–९, काकस्याली, बैतडी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन भट्ट
मदन भट्ट
लेखकबाट थप