शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला भलिबलको आयोजना बाग्लुङमा हुने

सोमबार, ०१ असोज २०७५, १३ : ३६
सोमबार, ०१ असोज २०७५

बागलुङ– बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ ।  नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ । 

भलिबल सङ्घले खेल सामग्री र नगद रु एक लाख जिल्ला सङ्घलाई प्रदान गरेको छ । ‘प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ’, अध्यक्ष श्रीसले भने, ‘खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’ प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ । विजेता टिमले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पनि रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । 
राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । खेल क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप