शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय विज्ञान दिवसको सान्दर्भिकता

सोमबार, ०१ असोज २०७५, १० : ३८
सोमबार, ०१ असोज २०७५

विज्ञान र प्रविधि नै एउटा राष्ट्रको सामाजिक तथा आर्थिक समुन्नतिको मेरूदण्ड, राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक समृद्धिको संवाहक एवम् सामाजिक नवचेतनाका उत्प्रेरक हुन् भन्ने तथ्य विश्वसामु छर्लङ्ग हुनाले नै संयुक्त राष्ट्रसङ्घले विश्वका सदस्य राष्ट्रहरूलाई विज्ञान तथा प्रविधिको समुचित विकास एवम् प्रयोगका निमित्त अनुरोध तथा मार्ग निर्देशन गरेको तथ्य विदित नै छ । नवशताब्दी विज्ञान तथा प्रविधिको शताब्दी हो र विकासोन्मुख राष्ट्रहरू विकास क्रममा पिछडिँदै जानुको मुख्य कारण नै विज्ञान तथा प्रविधिको क्षेत्रमा पिछडिनु हो भन्ने तथ्य आज कसैको सामु लुकेको छैन । विज्ञानको क्षेत्रमा अग्रणी राष्ट्रहरू विकासको उच्चतम सीमामा छन् भने यस क्षेत्रमा पिछडिएका राष्ट्रहरू कहाली लाग्दो गरिबी, रोग, भोक र अशिक्षाबाट अझै पीडित छन् । 

विज्ञानले मानव जीवनमा अकल्पनीय परिवर्तन ल्याएर मानवको ब्रह्माण्डप्रतिको अतृप्त ज्ञानको पिपासालाई संतृप्त गर्ने प्रयास स्वरूप ईश्वरीय रूपमा पुजित ग्रहहरू आज मानव सभ्यताका भ्रमणस्थल हुने क्रममा छन् भने अनन्त ब्रह्माण्डमा अवस्थित आकाशगङ्गा, कृष्ण छिद्र तथा यस्तै अन्य रहस्यमय पिण्डहरूको गूढता क्रमशः अनावृत हुँदै गइरहेको छ । ब्रह्माण्डमा अन्यत्र पनि जीवनको खोजी तथा मानवका लागि “अन्यत्र” पनि वासस्थान योग्य ग्रहहरूको खोजीको क्रममा निरन्तर रूपमा नवीनतम् तारा प्रणाली तथा “बाह्य ग्रहहरू” पत्ता लाग्दै गइरहेका छन् र आगतमा “पृथ्वीवासीको” उपनिवेशको स्थापनाको क्रम अगाडि बढिरहेको छ । चन्द्र विजय पश्चात् मङ्गल ग्रहमा मानवबस्ती स्थापनाका लागि मानव सभ्यता तीव्र रूपमा अगाडि बढिरहेको छ ।

त्यसरी नै अन्तरिक्षमा कृत्रिम भू–उपग्रहहरूको प्रक्षेपणसँगै सञ्चारको क्षेत्रमा अकल्पनीय परिवर्तन आएको छ । सम्पूर्ण विश्व नै एउटा “विश्व ग्राम”मा परिवर्तन हुन पुगेको छ र सम्पूर्ण सूचनाहरू तथा सम्पर्कहरू केवल एउटा बटन थिच्ने दूरीमा मात्र सीमित हुन पुगेका छन् । अन्तरिक्ष विज्ञानको समुचित प्रयोगको प्रतिफल स्वरूप प्राकृतिक विपदाहरूको पूर्वसूचना प्रणाली तथा मौसम भविष्यवाणी, कृषि उपज तथा प्राकृतिक सम्पदाहरूको उचित व्यवस्थापन, जमिनहरूको सरल र सहज वर्गीकरण तथा व्यवस्थापन, हवाई यातायात, रक्षाप्रणाली तथा उद्धार प्रणालीमा सर्वसाधारणको पहुँच विज्ञानको अत्याधुनिक विकासबाट मात्र सम्भव हुन गएको छ । 

परिणाम स्वरूप विज्ञान प्रविधि वर्तमान शताब्दीको मानव जीवनको एक अभिन्न अङ्ग हुन पुगेको छ । विज्ञान तथा प्रविधिको समुचित प्रयोगले विगत मात्र होइन, वर्तमान र सुुदूर भविष्यमा समेत मानव जातिको उत्थान र विकासमा अहम् भूमिका निर्वाह गर्नेछ ।

वर्तमान परिप्रेक्ष्यमा राष्ट्रलाई विकसित र विकासशील राष्ट्रको रूपमा परिभाषित गरिएको छ । यिनीहरूमा प्रमुख फरक अर्थतन्त्र एवम् विज्ञान र प्रविधिको समुचित प्रयोगमा आधारित छ । विश्व बैङ्कको प्रक्षेपण अनुसार ई.संं २०२० मा विश्वमा एसियाका आर्थिक रूपमा विशाल एवम् सशक्त ७ वटा राष्ट्रहरू चाइना, जापान, भारत, थाइल्यान्ड, इन्डोनेसिया, साउथ कोरिया र ताइवान हुने छन् । एक दशक अगाडिसम्म यी राष्ट्रहरू नीतिगत रूपमा कमजोर र अविकसित राष्ट्रको रूपमा परिभाषित थिए । तर यी राष्ट्रहरूले विज्ञान र प्रविधिलाई सशक्त एवम् प्रभावकारी रूपमा उपयोग गरेको प्रतिफल स्वरूप आज यी राष्ट्रहरू विश्वमा नै एउटा हरेक दृष्टिकोणबाट सम्पन्न, शसक्त एवम् प्रभावशाली राष्ट्रहरूको रूपमा प्रतिपादित हुन पुगेका छन् । 

विज्ञान तथा प्रविधिको यी महत्वाहरूलाई हृदङ्गम गर्दै विश्वव्यापि रूपमा विज्ञान तथा प्रविधि दिवस मनाउने गरिन्छ । युनेस्कोले विश्व विज्ञान दिवस मनाउने घोषणा ई.सं. २००१ मा गरेको र ई.सं. २००२ देखि नै विश्वमा नोभेम्बर १० लाई प्रत्येक वर्ष विज्ञान दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको हो । यसका अतिरिक्त विकसित एवम् विकासोन्मुख राष्ट्रहरूले विज्ञानसँग सम्बन्धित विशेष घटना, कार्य, उपलब्धि, वैज्ञानिकहरूकाले जीवनीलाई मध्य नजरमा राख्दै उक्त दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको पाइन्छ । 

नेपाल सरकारको निर्णय अनुसार नेपालमा पनि आश्विन १ गते लाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसका रूपमा मनाउने निर्णय गरिएको छ । नेपालमा प्रथम पटक वि.संं. २०७० आश्विन १ गतेदेखि विज्ञान दिवस मनाउन लागिएको हो । अमृत साइन्स क्याम्पसको स्थापना दिवसलाई विज्ञान दिवसको रूपमा मनाउने गरिएको छ । प्रथम विज्ञान दिवसको नारा “विज्ञान र प्रविधि देशको समृद्धि” रहेको थियो । 

विज्ञान दिवस मनाउनुको उद्देश्यः

मानव जीवनको एक अभिन्न अङ्गको हुन पुगेको विज्ञान प्रविधिको वर्तमान र सुदूर भविष्यमा पर्ने सक्ने प्रभावलाई जनमानसमा व्यापक रूपमा प्रवाह गर्न, मानवको उत्तरोत्तर प्रगतिका लागि विज्ञान तथा प्रविधिसम्बन्धी सम्पूर्ण क्रियाकलापहरू, यस क्षेत्रको विकासका लागि गरिएका प्रयासहरू तथा यस क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई राष्ट्रिय स्तरमा  जनमानसमा प्रवाह गर्न, विज्ञानका नवीनतम् आविष्कार, तिनीहरूले जनमानसमा पार्ने प्रभाव, तिनीहरूको नवीनतम् आयामहरूलाई विस्तृत रूपमा छलफल गर्न, जनमानसमा वैज्ञानिक चेतना तथा वैज्ञानिक दृष्टिकोणको प्रादुर्भाव गर्न, विद्यार्थीहरूमा विज्ञान प्रविधिको क्षेत्रमा कार्यरत रहन प्रेरणा एवम् मार्गदर्शन गर्न तथा राष्ट्रमा विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकासलाई विशेष महत्व दिएर यस क्षेत्रप्रति राष्ट्रको विशेष ध्यानाकर्षण गर्न रहेको छ । 

राष्ट्रिय विज्ञान दिवस मनाउने प्रक्रियाः

प्रत्येक वर्ष आश्विन १ गते विज्ञान दिवसलाई राष्ट्रिय स्तरमा विज्ञानको प्रमुख उत्सवको रूपमा, राष्ट्र व्यापी रूपमा मनाउने गरिएको छ । यस दिवसमा विभिन्न सरकारी गैरसरकारी निकायहरूले विज्ञानलाई लोकप्रिय बनाउने विभिन्न क्रियाकलापहरू जस्तै व्याख्यान, समूहगत छलफल, विज्ञानसम्बन्धी स्लाइड तथा चलचित्र प्रदर्शनी, गोष्ठीहरूको आयोजना, सर्वसाधारणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा प्रयोगशालाहरू सर्वसाधरण तथा विद्यार्थीहरूका लागि खुला गरेर अवलोकन गर्न दिने जस्ता कार्यक्रम रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा स्कुल तथा कलेजका विद्यार्थीहरूले आफूले विज्ञान तथा प्रविधिका क्षेत्रमा गरेका विभिन्न कार्यहरूको प्रदर्शन तथा विज्ञान तथा प्रविधिसँग आबद्ध संस्थाहरूले गरेका अनुसन्धानहरूलाई जनमानसमा प्रवाह गर्ने कार्यहरू हुन गइरहेको छ । साथै इलेक्ट्रोनिक तथा प्रिन्टेड मिडियाहरूबाट विज्ञानसम्बन्धी छलफल, चर्चा परिचर्चा, प्रश्नोत्तर आदि कार्यहरूको सञ्चालन गरिने छ । तसर्थ यो दिवस जनमानमा वैज्ञानिक चेतनाको प्रवाह एवम् परिचालन गर्ने दिवसका रूपमा लिन सकिन्छ । 

राष्ट्रिय विज्ञान दिवसको आवश्यकताः 

यस दिवसको अवसरमा हामीले विज्ञान तथा प्रविधिको क्षेत्रमा भए–गरेका सार्थक ज्ञानलाई जनमानसमा बृहत् रूपमा प्रवाह गर्नुका साथै हाम्रो जस्तो रुढिवादबाट आक्रान्त समाजलाई रुढिवादबाट मुक्त गरेर विज्ञान र प्रविधिको सार्थक प्रयोगलाई अङ्गिकार गर्नमा सहयोग पु¥याउन सकिन्छ । यस दिवसले विज्ञानका विद्यार्थीहरूलाई यस क्षेत्रको अध्ययन अनुसन्धानमा संलग्न रहने अभिप्रेरणा दिनका साथै भने वैज्ञानिकहरूलाई आफूले गरेका अध्ययन अनुसन्धानलाई सम्बन्धित क्षेत्र तथा आमजनतामा बुझाउने अवसर प्राप्त हुन जान्छ ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा “विज्ञान तथा प्रविधि, दिगो विकास र समृद्धि” रहेको छ । 

विगतमा विभिन्न कारणले विज्ञान तथा प्रविधिसँग आबद्ध संस्थाले आशातीत उपलब्धि हासिल गर्न सकेनन् । विज्ञानको क्षेत्रमा अत्यधिक न्यून लगानी, विज्ञानका संस्थाहरूको नेतृत्वमा राजनीतिक परिदृश्यमा परिभ्रमण गर्ने व्यक्तिहरूको मात्र बाहुल्यता जसले गर्दा “उचित व्यक्ति उचित स्थान”को सिद्धान्त लागू हुन नसक्नु, विज्ञान र प्रविधिको संस्थाहरूमा  विज्ञान र प्रविधिको भन्दा प्रशासनिक व्यक्तिहरूको बाहुल्यता हुनु, नीतिगत रूपमा अनुसन्धान तथा विकासको कार्यलाई अग्रगामी बनाउने कार्यको अभाव, नीतिगत सुधारमा कमी, विज्ञान र प्रविधिको विकासका लागि सारगर्भित प्रयासहरूको कमी, अति आवश्यक संस्थागत संरचनाहरूको कमी आदि कारणले गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा सोचेअनुरूप उपलब्धि हासिल हुन सकेन । यी सबै कारणहरूले गर्दा छिमेकी राष्ट्र भारत र चीनले चन्द्र विजय गरिसके पनि हामी ग्यालिलियोको युगमा छौं । 

यस्तो स्थितिमा वर्तमान माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोख्ररेलज्यूले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि अनुसन्धान तथा विकासमा लगानी गर्न आवश्यक रहेको तथ्यलाई औँल्याउनुले निश्चित् रूपमा वैज्ञानिक जगत हर्षित हुन पुगेको छ । 

वर्तमान परिप्रेक्ष्यमा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयसँग जोडिन पुगेर यसको दायरा केही संकुचित हुन पुगे पनि अवसरहरू पनि त्यतिकै सृजित हुन पुगेका छन् । तसर्थ विज्ञान तथा प्रविधिसँग आबद्ध संस्थाहरूलाई संकुचित गर्नुभन्दा पनि यिनीहरूको बृहतीकरण गर्न अति आवश्यक छ । 

साथै हामीले के कुरा बुझ्न आवश्यक छ भने राष्ट्रको उज्ज्वल भविष्य युवा वैज्ञानिकहरूमा निहित छ र नेपाललाई वर्तमानभन्दा भविष्यमा विकसित र सशक्त राष्ट्रका रूपमा रूपान्तरण गर्नका लागि उनीहरूलाई समुचित स्रोत र साधन तथा कार्यरत रहने वातावरण उपलब्ध गराउन अति आवश्यक छ ।

यस राष्ट्रिय दिवसमा हाम्रो आजसम्मको उपलब्धिहरूको आलोचनात्मक मूल्याङ्कन तथा राष्ट्रमा निहित विज्ञान एवम् वैज्ञानिकहरूको अन्तरनिहित क्षमताको पूर्ण मूल्याङ्कन हुनका साथै राष्ट्रमा विज्ञान तथा प्रविधिको विकास तथा निर्दिष्ट मार्ग चित्रणका लागि जोडदार बहस एवम् चर्चा हुनु अपरिहार्य देखिन्छ । 

यो दिवसले निश्चित रूपमा राष्ट्रमा वैज्ञानिक चेतना एवम् संस्कारको प्रादुर्भाव गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ । यसका लागि अधिकतम जनसहभागिता, युवा वैज्ञानिकहरूको  अत्यधिक परिचालन अपरिहार्य हुन जान्छ, जसले गर्दा बढीभन्दा बढी सर्वसाधारणमा विज्ञानको सार्थक ज्ञानप्रति अभिरूचि बढोस् र युवाहरूमा विज्ञान तथा प्रविधिकोे क्षेत्रमा कार्यरत हुने प्रेरणा मिल्न सकोस् । 

यो दिवस यस क्षेत्रमा कार्यरत संस्था तथा वैज्ञानिकहरूले स्वयम्को मूल्याङ्कन गर्ने समय पनि हो । हामीले हाम्रा विगतका मिसनहरूमा प्राप्त सफलता वा असफलता, हाम्रा कार्यान्वयनमा रहेका मिसनहरू तथा भविष्यमा परिचालन गर्ने योजनाहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पुनर्मूल्याङ्कन गर्नु जरूरी छ । हाम्रो जस्तो विकासोन्मूख, अन्धविश्वास तथा भाग्यवादी परम्पराबाट आक्रान्त समाजमा वर्षमा एक वा दुई दिन मनाइने विज्ञान दिवस पर्याप्त देखिँदैन । यसस“ग आबद्ध संस्थाहरूले प्रत्येक दिन, सप्ताह, महिना र वर्षमा विज्ञान तथा प्रविधिकोे विकासका लागि समर्पित रहन आवश्यक छ, अनि मात्र राष्ट्र विकासले मूर्तरूप लिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सनतकुमार शर्मा
डा. सनतकुमार शर्मा
लेखकबाट थप