बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुघा–खोकी, ज्वरोमा घरेलु तरिका प्रभावकारी कि औषधी ?

सोमबार, ०१ असोज २०७५, ०८ : ३२
सोमबार, ०१ असोज २०७५

बीबीसी

चिसो मौसम आउने बित्तिकै मानिसहरु रुघा–खोकीबाट बच्ने तयारी सुरु गरिहाल्छन् । थुप्रै मानिसहरु आफ्ना घरका बच्चा र वृद्ध–वृद्धालाई खोकीबाट बचाउनका लागि पहिले नै विभिन्न तयारी गर्ने गर्छन् ।

यसमा कागती र महजस्ता घरेलु तरिका समावेश हुन्छन् ।

बीबीसीको एक विशेष सिरिज ‘द ट्रुथ अबाउट’ मा डा. क्रिस भ्यान टुलेकेनले रुघा–खोकीका साथै यसलाई निको पार्ने औषधीबारे जानकारी हाँसिल गर्ने कोसिस गरेका छन् ।

वास्तवमा खोकीबाट छुटकारा पाउनका लागि खाइने सिरपले गलाको पछिल्लो भागमा रहेको रिसेप्टरमा एउटा पत्र बनाउँछ जसले घाँटीको खसखस कम गर्दछ । यसै कारण धेरैजसो सिरप गाढा र बाक्लो हुन्छन् ।

डाक्टर भ्यान सानो हुँदा उनकी आमाले खोकी लाग्दा तातो पानी, कागती र मह मिसाइएको घरेलु औषधी दिने गरेको बताउँछन् ।

तर पछि मेडिकलको पढाईपछि त्यस्ता घरेलु औषधीमा कमै विश्वास लाग्ने गरेको पनि बताए ।

यसबारे जानकारी लिन डा. भ्यान ब्रिटेनको ‘हल युनिभर्सिटी’ पुगे ।

त्यहाँ उनको भेट कार्डियोभास्कुलर र मेटाबोलिक रिसर्च सेन्टरमा कार्यरत खोकी विशेषज्ञ एलिन मोरिससँग भयो ।

त्यहाँ मोरिसले डा. भ्यानलाई भोड्का र मरिच खुवाए जसका कारण भ्यानलाई निकै खोकी लाग्यो । त्यसपछि उनलाई कागती र मह मिसाइएको सिरप दिए ।

खोकी रोकिने बित्तिकै डा. भ्यानको मुखबाट निस्कियो, ‘यो त चमत्कार हो ।’

तर के मेडिकल स्टोरमा पाइने ‘कफ सिरप’ मह र कागतीभन्दा प्रभावकारी हुन्छ ?

डा. भ्यानले धेरै प्रयोगमा आउने तीन ‘कफ सिरप’ बारे अध्ययन गरेका छन् जसमा ग्वेफिनेसन, डक्सट्रोमेथार्फेन, स्यूडोफेडरीन समावेश छन् ।

तर यी औषधीको अध्ययनपछि डा. भ्यानले यसको सेवन नगर्न सल्लाह दिएका छन् ।  

यस्तै प्राध्यापक मोरिस भन्छन्, ‘मेरो विचारमा सिसीमा बन्द गरिएका औषधी मह–कागतीभन्दा राम्रो हुने प्रमाण कम भेटिन्छन् । मह–कागतीको अर्को पनि फाइदा छ –त्यसमा कुनै प्रकारको ड्रग पाइँदैन । तपाईंलाई जति मनलाग्छ, त्यति पिउन सक्नुहुन्छ ।’

खोकीसँगै ज्वारो पनि छ भने के गर्ने ?

तर यदि रुघा– खोकीसँगै ज्वरो पनि आएको छ भने धेरैजसोले सुरुमा ज्वरोको औषधी खान्छन् ।

डा. भ्यानका अनुसार ज्वारो कम गर्ने ट्याबलेटमा तीनवटा ड्रग हुन्छन् – प्यारासिटामोल, ब्रुफेन र डिकन्जेस्टेन्ट ।

ब्रुफेन पेन किलर हो भने डिकन्जेस्टेन्ट छातीको भारीपन हटाउन मद्दत गर्ने एउटा औषधी हो ।

यस्तोमा डा. भ्यान भन्छन्, ‘भाइरसले विभिन्न मानिसहरुमा छुट्टाछुट्टै असर पुर्याउने गर्छ । त्यसकारण सबैले एउटा औषधी खानु राम्रो होइन ।’

उदाहरणका लागि यदि तपाईंको छाती गह्रुङ्गो भएको छैन भने तपाईंलाई डिकन्जेस्टेन्टको आवश्यकता छैन ।

तपाईंलाई टाउको मात्र दुखेको छ भने तपाईंले कुनै पेनकिलर मात्र खाँदा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप